गमक पोष्ट समाचारदाता

गुल्मी, ६ असोज ।  गुल्मीमा मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर रेसुङ्गा नगरपालिका ८ खानिगाउँ थुम्का लाइनका तिलक परियारका २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएका हो ।
घरभित्र सुतिरहेको बेला राती माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको मृत्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शवे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।
राति करिब दुई बजे पहिरोले तीन जना पुरिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी एसपी गोपालचन्द्र भट्टराईको कमाण्डमा टोली घटनास्थल पुगेको थियो ।