गमक पोष्ट समाचारदात / सिरहा, २९ भदौ । विद्यालयमा भइरहेको गतिविधिलाई नजिकसँग बुझ्न र समस्या पहिचान गर्न धनगढीमाई नगरपालिकाले ५७ औं बाल दिवसको अवसरमा बालबालिकासँग मेयर कार्यक्रम आयोजना गरेको छ । पहिलोपटक आयोजित उक्त कार्यक्रममा बालवालिकाहरुले उत्साहित हुँदै विद्यालयमा पठन पाठन लगायत शैक्षिक गतिविधिमा भइरहेको कठिनाईहरुको बारेमा आ–आफ्ना बुझाई निर्धक्कसाथ राखेका थिए ।
धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले शैक्षिक गतिविधि गर्न बालबालिकाले अभिव्यक्त गरेका कठिनाईलाई समस्याको रुपमा पहिचान गरी तत्कालै समस्या समाधान गर्न सम्बन्धित पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन दिएको छ ।
विद्यालयमा पठन पाठन लगायत शैक्षिक गतिविधिका समस्या बुझ्न नगरपालिकाले मासिक रुपमा प्रधानाध्यापक एवम् विद्यालय व्यवस्थापन समितिसँग छलफल गर्दै आए पनि विद्यालयको समस्या नजिकसँग बुझ्न बालबालिकासँग मेयर कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
नगरक्षेत्रभित्र रहेका ७ वटा माध्यमिक विद्यालयबाट चार चार जना र ५ वटा निम्न माध्यमिक विद्यालयबाट दुई दुई जना छात्र एवम् छात्राहरुको सहभागी रहेको थियो । विकासको मेरुदण्ड शिक्षा रहेको अनुशरण गर्दै नगरपालिकाले शैक्षिक गतिविधिलाई प्रथम श्रेणीमा राखी आफ्ना गतिविधिहरु संचालन गर्दै आइरहेको बताएको छ ।