गमक पोष्ट समाचारदाता / सप्तरी, २९ भदौ । आफ्नै भाउजु हत्या गरेको कसुरमा देवर सहित दुईजनालाई जन्मकैदको फैसला सुनाएको छ । राजविराज नपा १५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या कसुरमा जिल्ला अदालत सप्तरीले ३५ वर्षीय देवर मुर्जा भनिने पञ्चदेव साह र उनकी श्रीमती ३१ वर्षीया प्रमीलादेवी साहलाई जन्मकैदको सजाय सुनाएको हो ।
हत्या आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका प्रमीलाका भाई डाक्नेश्वरी नपा ७ ब्रह्मपुर घर भई मोरङ्को विराटनगर उमनपा–११ जनपथ टोल बस्ने ३६ वर्षीय सत्यनारायण साहलाई अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका साह दम्पतिलाई जन्मकैद सजायको फैसला सुनाएको हो ।
पुर्पक्षका लागि थुनामा रहेका राजविराज नपा १५ मुसहर्नियाका २४ वर्षीय धर्मेन्द्र साह र ३५ वर्षीय थापा भनिने जिवछनारायण साहले सफाई पाएका छन् ।
हालसम्म फेला नपरेका १६ वर्षीय एक बालक, मृतककी ५५ वर्षीया सासू सोमनीदेवी भनिने शोमादेवी साह, सोही ठाउँका ३५ वर्षीय जयनारायण साह, ५० वर्षीय ताराचन्द्र साह, ६४ वर्षीय गोपी साह, नन्दी मण्डल र मधेपुराका ६३ वर्षीय चलितर साहको हकमा मुद्दा मुल्तबीमा राखिएको अदालतले जनाएको छ ।
मृतक बेचनीदेवीको शव ०७५ जेठ ३१ गते घरको शौचालयको सेफ्टी ट्याङ्कीमा फेला परेको थियो । गाउँमा दुर्गन्ध फैलिएको खबर स्थानीयवासीले गराएपछि पुगेको प्रहरीको टोलीले शव असार १ गते उत्खनन् गरी निकालेको थियो ।