गमक पोष्ट समाचारदाता / सप्तरी, २० भदौ । सप्तरीको बलान बिहुल गाउँपालिका ४ बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु भएको छ । बेल्हीस्थित मैदानमा शुरु भएको मेलाको एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य मो. समिम, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईत, वडानम्बर ४ का वडा अध्यक्ष मो. हन्सु मियाँ र स्थानीय सुनिल कुमार झाले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
मेला समितिका अध्यक्ष मो. इजहारुलको अध्यक्षतामा आयोजित मेला उद्घाट कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य मो. समिमले दाहा मेला धार्मिक आस्थालाई जागृत गर्नुको साथै यसले कला र संस्कृतिको जगेर्नामा महत्वपुर्ण योगदान पुग्ने बताए ।
उनले बर्षेनी बलान नदीको बाढीले बेल्ही लगायन आसपासको क्षेत्रमा ब्यापक धनजनको क्षति पु¥याउँदै आएपनि नियन्त्रणको प्रयास नभएको प्रति दुख व्यक्त गर्दै नदी नियन्त्रणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भदौ २१ गतेसम्म चल्ने मेलमा नेपालको टिकुलिया, छर्रापट्टी, गौरा र लालपट्टी तथा भारतको मझौरा, मुरारपट्टी, बगहा र कमलपुर गरी ८ गाउँका २ सय भन्दाबढी कलाकारहरुले लाठ्ठी, भाला, फर्सा लगायतका घरलु हतियारसहितको कला प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
धर्मको जागरुकतासँगै खेलाडीहरुको बलोबल कढाउने र मनोरञ्जन गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेलामा प्रस्तुत हुने प्रतियोगितामा प्रथम सहभागीलाई ५ तोला चाँदीको सिक्का र १० हजार नगद, दोश्रो हुनेलाई ३ तोला चाँदीको सिक्का र ८ हजार नगद तथा तेश्रो हुनेलाई २ तोला चाँदीको सिक्का र नगद ५ हजार पुस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष मो. इजहारुलले जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट ढोल बजाउने कालाकारलाई पनि १ तोला चाँदीको सिक्का प्रदान गरिने जनाएको छ ।
मेलामा दर्शकहरुलाई थप मनोरञ्जनात्मक बनाउन साँझको समयमा पौराणिक लोकनाच र सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिने आयोजकको भनाई छ ।