गमक पोष्ट समाचारदाता / सिरहा, १९ भदौ । सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ७५ लाख भन्दा बढी मूल्यको औषधी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले शनिवार विहान लहान–ठाडी सडक अन्तर्गत लहान नपा १९ कटहाचौकबाट लु. १ स ८००७ नम्वरको अट्टो सहित ७५ लाख ५६ हजार ८ सय मूल्य बराभरको भन्सार छलेको औषधी बरामद गरेको हो ।
गस्तीमा रहेको प्रहरीलाई देखेर अट्टो चालक भागेपछि खानतलासी गर्ने क्रममा रेकल–के २–७  (RECAL-K2-7) नामक औषधी १५ कार्टुन, वेथोकल (OETHOCAL) ट्याव्लेट १० कार्टुन र क्यारेकल (CARECAL)  नामक ट्याव्लेट ५ कार्टुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।
अट्टो सहित बरामद सवै औषधी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय ठाडी पठाइएको जनाएको छ ।
शनिवार भएकाले औषधी र गाडी कसको हो भन्ने पत्ता लागिसकेको छैन । बरामद औषध कसले कहाँ लग्न लागेको भन्ने विषयमा अनुसन्धान भईरहेको जनाएको छ ।