वीरगञ्ज, ४ भदौ ।
जिल्ला प्रहरी कार्यालय पर्साले १६ थान मोबाइल बरामद गरेको ७ दिनपछि सार्वजनिक गरेको छ ।
शनिबार साँझ बसपार्कबाट १६ थान मोबाइलसहित पक्राउ परेका १ जनालाई भने प्रहरीले १ रात हिरासतमा राखेर छोडेको छ ।
यसरी भएको थियो घटना
गएको शनिबार हेटौँडाका २ जना व्यक्तिसीमावर्ती भारतीय बजारबाट मोबाइल खरिद गरेर वीरगञ्ज बसपार्क आइपुग्छन् । साँझ परिसकेकाले वीरगञ्जमै बस्ने योजना बनाएर दुबैले होटल खोज्न सुरु गर्छन् । होटल खोजी गर्ने क्रममै उनीहरु उभिएकै ठाउँमा २ जना प्रहरी आएर साथमा भएको झोला चेक गर्दा मोबाइल फेला पार्छन् ।
त्यसपछि प्रहरीले बार्गेनिङ सुरु गर्छ । तत्काल ३० हजार बुझाए सामान र मान्छे छाडिदिने प्रहरी भन्छन् । सँगै रहेका सुजन लामाले अर्को साथीलाई पैसाको व्यवस्था गर्न भनेपछि ती साथीले ३० हजार रुपैयाँ व्यवस्था गर्छन् । तर प्रहरीले घटना अहिले नमिल्ने भयो भन्दै जिल्ला प्रहरी कार्यालय लिएर जान्छन् ।
जिल्ला प्रहरी कार्यालयमा लामालाई एक रात राखिन्छ । लामाले भित्रैबाट उनीसँगै हेटौँडाबाट आएका साथीलाई अझै २५ हजार र आफूसँग भएको २ थान मोबाइल बुझाउन दवाव दिन्छन् ।
प्रहरीले हिरासतमा राखेका लामाकी श्रीमती सशस्त्र प्रहरी हुन्छिन् । उनैले आफ्नो श्रीमान् लामालाई भोलिपल्ट साँझ छुटाएर लैजान्छिन् । आफू छुटिसकेपछि पनि लामाले सँगै आएका साथीलाई पैसा र मोबाइल प्रहरीमा लगेर बुझाउन भन्दै नबुझाए फसाइदिने भनेर धम्की दिन्छन् ।
तर ती साथीले आफूसँग पैसा नै नभएकाले व्यवस्था गर्न नसक्ने बताउँछन् । पछि मान्छे छुटे पनि मोबाइल भने अझैसम्म प्रहरीले नै नियन्त्रणमा राखेको छ ।
प्रहरी भन्छ, अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालका अनुसार बरामद भएको मोबाइलका विषयमा अनुसन्धान अँझै जारी छ । बरामद भएकामध्ये ५÷६ वटा नयाँ किप्याड मोबाइल रहेको र अन्य पुराना मोबाइल रहेकाले चोरीको हो कि भन्ने आशंका उत्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आएका उजुरी र आइएमइआई नम्बर जाँच गरेपछि मात्रै आवश्यक कुरा खुल्ने खनालको भनाई छ ।