गमक पोष्ट समाचारदाता / सप्तरी, ३ भदौ । हिजो आज झुलाउत्सवको रौनक मधेशका गाउँ घरका प्रत्येक मठमन्दिरमा छाएको छ । यस पर्वको अवसरमा सप्तरी सुरुङ्गा नगर पालिका –५ बनिगामामा गतवर्ष झै यस वर्ष पनि भव्य झुला मेलाको समेत आयोजना गरेका छन् । मेलमामा ख्याति प्राप्त नेपाली तथा छिमेकी मुलक भारतबाट कालाकारहरु मगाइएको आयोजनकले जनाएको छ ।
मेलाको लागि सम्मपुर्ण तयारी पुरा भइसकेको मेला कमिटिका सदस्य मिथिलेश चौधरीले जानकारी दिए । मेलामा सुरक्षाकर्मी तथा स्वयम् सेवक समेत परिचालन गरिने अर्का मेला कमिटिका अगुवा दुर्गा प्रसाद चौधरीले जानकारी दिए । मिथिलाको राजधानी जनकपुरमा झुला–उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्त सुरकिशोर दासबाट भएको पनि कथन रहेपनि कुशहामा २०१६ सालदेखि नै झुलाउत्सव मनाउँदै आएको अगुवा तथा समाजसेवी चौधरीले बताए ।
दासको आगमनको समय सन् १७३० मानिन्छ भन्दै चौधरीले भने, ‘मिथिलाञ्चलमा रोपाइँ सकिने बित्तिकै झुलाउत्सवको रौनक सुरु हुन्छ, यस क्रममा प्रत्येक मठमन्दिरमा कजरी र मलारजस्ता गीतको स्वर लहरी सुनिन्छ । यस्ता गीतमा कृष्णको प्रभाव देखिए पनि त्यसलाई रामसँग दाँजेर गाइने गरिएकाले आनन्दको सहज र स्वाभाविक उच्छवासको अनुभूति हुने गरेको छ ।’
सांस्कृतिक परम्पराका रूपमा मिथिलाको मठमन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा झुलाको सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा सीताराम र राधाकृष्णका मूर्ति राखी झुलाउने परम्परा रहेको छ ।
झुलाउत्सवको पहिलो दिनलाई ‘मणिपर्वत’ को झुला भनिन्छ । उक्त दिन मठ मन्दिरबाट डोलामा रामसीताका मूर्ति राखी रङ्गभूमिमा ल्याइएपछि मन्दिरका महन्तद्वारा उत्सवको सुरुवात गरिन्छ । मणिपर्वतका दिन टाढाटाढाबाट श्रद्धालुहरू झुलामा सहभागी हुन आउने गरेका कारण रङ्गभूमिले मेलाको रूप लिन्छ । झुलाउत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको जन विशवास रहेको छ । सन्तहरू खुलाचौर अथवा कुनै रूखको छहारीमा बास बसे पनि आफ्नो झोलामा श्रद्धासाथ ल्याएका शालिग्रामलाई आसनमा राखी झुलाउने गरिन्छ ।
सम्भवतः झुला परम्परा त्यसैबेलादेखि सुरुवात भएको पोराणिक मान्यता रहेको छ । सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने वृन्दावनबाट नै झुलन मेलाको परमपरा आएको डा. अनिल कुमार झा बताउनुहुन्छ । सीताको माइतीमा दाइजोका रूपमा प्राप्त मणि महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो ।