श्री माइस्थान बाल विद्या मन्दिर इन्दुलाखे आधारभुत विद्यालयको कक्षा ८ मा पठनपाठन हुँदै ।
गमक पोष्ट समाचारदाता वीरगञ्ज, ३१ साउन । कोभिड १९ को जोखिमका वावजुत वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरु आज आइतवारदेखि भौतिक उपस्थितीमै सञ्चालनमा आएका छन् । वीरगञ्ज महानगरपालिकामा साउन २७ गते बसेको सरोकारवालाको बैठकले साउन ३१ गते आइतवारदेखि भौतीक उपस्थितीमै विद्यालय सञ्चालन गर्ने निर्णय गरे बमोजिम तत्कालका लागि कक्षा ८ देखि १२ कक्षासम्मको पठनपाठन शुरु गरिएको हो ।
नयाँ भेरियन्टसहितको संक्रमण फैलिएपछि बैशाख १६ गतेदेखि पर्सा जिल्लामा जारी निषेधाज्ञाका कारण लामो समयसम्म पठनपाठन प्रभावित भएको थियो । पछिल्लो समयमा संक्रमण दर घट्दै गएपछि बजार खुला हुँदा शैक्षिक संस्था पनि खोल्नुपर्ने माँग उठ्दै आएको थियो ।
वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णका अनुसार सोही मागलाई मध्यनजर गर्दै अभिभावकको स्वीकृतिमा विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा, २०७७ अनुसार जनस्वास्थ्य मापदण्डको पालना गर्दै कक्षा ८ देखि १२ सम्मको पठनपाठन भौतिक उपस्थितिमा शुरु गरिएको हो ।
विद्यालय बन्द भएपनि केही सामुदायीक र संस्थागत विद्यालयहरुले अनलाईनमार्फत पठनपाठन गर्दै आएका थिए ।
विद्यालय खुलेको पहिलो दिन वर्षाका कारण उल्लेख्य विद्यार्थीको उपस्थिती नरहेपनि ३५ प्रतिशत विद्यार्थीहरुको सहभागिता रहेको वीरगञ्जको गहवास्थित श्री माइस्थान बाल विद्या मन्दिर इन्दुलाखे आधारभुत विद्यालयका प्रधानाध्यापक चन्देश चौहानले जानकारी दिए । चौहानका अनुसार सेनेटाइजर गरेर अनिवार्य रुपमा मास्क लगाई सामाजिक दुरीको पालना गरेर कक्षा सञ्चालन गरिएको छ ।
त्यसैगरी, वीरगञ्जस्थित त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माद्यामिक विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मीले पनि वर्षाकै कारण विद्यार्थीको उपस्थिती न्युन रहेको बताए । सम्पुर्ण स्वास्थ्य मापदण्डको पालना गरिएपनि विद्यार्थीहरुको स्वभावलाई रोक्न नसकिने प्रधानाध्यापक कुर्मीको भनाई छ । कुर्मी भन्छन्, ‘हामीले सबै स्वास्थ्य मापदण्डको पालना गर्न भनेपनि विद्यार्थीहरुले नै अटेरी गरीरहेका हुन्छन् । साथी भेट्ने बित्तिकै हात मिलाउने बानी अनि सँगै बस्ने जस्ता क्रियाकलापहरुलाई त हामीले चाहेर पनि रोक्न सक्दैनौ ।’
त्रिजुद्ध स्कुलमा विहानको कक्षामा २५ प्रतिशत र दिउँसो १२ देखि १५ प्रतिशत विद्यार्थीहरुको मात्रै उपस्थिती रहेको प्रधानाध्यापक कुर्मीले बताए । आइतवार बिहान परेको वर्षाका कारण उपस्थिती कम भएपनि सोमवारदेखि भने उपस्थिती संख्या बढ्ने विश्वास गरिएको छ ।
प्याब्सन पर्साका अध्यक्ष डा. हरीशंकर प्रसाद साहले महानगरपालिकाको निर्णय बमोजिम अभिभावकको स्वीकृतिमा सिनियर कक्षा मात्रै सुचारु गरिएको जानकारी दिए ।