स्थानीय सरकारले पूर्वाधार विकासलाई मात्र ध्यान दिँदा सामाजिक विकास ओझेलमा परेको छ । यसमा पनि प्राथमिकतामै नपर्ने पाटो हो— बौद्धिक अपांगताका सवाल । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७५ ले अपांगतालाई दस वर्गमा छुट्याएको छ, जसमा बौद्धिक अपांगता एक हो ।

ऐनले उमेरको वृद्धिसँगै सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारण उमेर र वातावरणसापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्तिलाई बौद्धिक अपांगता भएका व्यक्तिका रूपमा परिभाषित गरेको छ । त्यस्ता व्यक्तिहरू उमेरसापेक्ष राम्ररी बोल्न, अरूले बोलेको बुझ्न, सुन्न र हिँडडुल गर्न सक्दैनन्; स्मरणशक्ति पनि कमजोर हुन्छ ।indira jal choharwa 333 

राष्ट्रिय जनगणना–२०६८ अनुसार, अपांगता भएका व्यक्तिहरू ५ लाख १३ हजार ३२१ छन्, जसमध्ये १४ हजार ८८८ बौद्धिक अपांगता भएका छन् । समग्र अपांगता भएका व्यक्तिको तुलनामा यिनीहरूको दैनिकी कठिन हुन्छ । खाना खान, दिसापिसाब गर्न पनि सहयोगी चाहिन्छ । सहयोगीहरूले महिनावारीका बेला महिलाहरूको झनै ख्याल राख्नुपर्ने हुन्छ ।

कीर्तिपुर नगरपालिका–७ की लक्ष्मी काफ्लेले अपांगताको सवाल र सरकारले दिने सेवासुविधाबारे निरन्तर पैरवी गर्दै आइरहेकी छन् । उनी बौद्धिक अपांगता भएका व्यक्तिकी अभिभावक हुन् र पालिका तहको अपांग समन्वय समितिकी प्रतिनिधि पनि । अघिल्ला वर्ष नगरपालिकाले ज्येष्ठ नागरिक, महिलासम्बन्धी कार्यक्रमहरूका लागि बजेट छुट्याए पनि अपांगता क्षेत्रलाई भने दिएको थिएन । उनले पालिका बैठकमा यस वर्ष अपांगताका लागि प्रत्येक वडामा कम्तीमा एक लाख रुपैयाँ छुट्याउन माग राखिन् । तर, चार वडाले मात्र बजेट छुट्याए । बौद्धिक अपांगताका सवालहरूमा वडातहका जनप्रतिनिधिहरू नै उत्तरदायी बन्न नसकेको तीतो अनुभव उनले बटुलिन् ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ की ११ वर्षीया बालिका, जो बौद्धिक अपांगता भएकी हुन्, पालिकाबाट परिचयपत्र नपाउँदा छात्रावास सुविधाबाट वञ्चित छिन् । परिचयपत्रका लागि उनका अभिभावक वडाको सिफारिससहित धाउन थालेको चार वर्ष भैसक्यो । तर परिचयपत्रको साटो आश्वासन मात्रै पाइरहेका छन् । जबकि स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, अपांगता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण र सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन स्थानीय सरकारकै कार्यक्षेत्रमा पर्छ ।maunt school 333

राष्ट्रिय योजना आयोगको हालैको ‘बौद्धिक अपांगता भएका व्यक्तिलाई प्रदान गरिएको सेवा प्रवाहको प्रभावकारितासम्बन्धी अध्ययन प्रतिवेदन–२०७७’ मा पनि सम्बद्ध व्यक्तिहरूले सरकारी सेवासुविधा तथा परिचयपत्र पाउने क्रममा बाधा–अड्चन भोग्नुपरेको उल्लेख छ । जीवननिर्वाहमा सहजताका लागि सरकारले दिँदै आएको सामाजिक सुरक्षा (अपांगता) भत्ता परिचयपत्र भए मात्रै पाइन्छ । ‘होम्स् एट अल’ नामक गैरसरकारी संस्थाले सन् २०१८ मा गरेको सर्वेक्षणले अपांगता भएका ८३ प्रतिशत व्यक्तिसँग परिचयपत्र नभएको देखाउँछ । अर्कातर्फ, त्यही सर्वेक्षणअनुसार, ३० देखि ६० प्रतिशतसम्म त्यस्ता व्यक्तिहरूले परिचयपत्र भएर पनि भत्ता पाउन सकिरहेका छैनन् ।

अपांगता परिचयपत्रसमेत दिन नसक्नु स्थानीय सरकारको गैरजिम्मेवारी हो । अपांगता भएका अधिकांश व्यक्तिका परिवारलाई राज्यबाट सेवासुविधा कसरी र कहाँ पाइन्छ भन्ने ज्ञानसम्म छैन । उनीहरूलाई यस्ता सूचना दिन; विभेदरहित बाँच्ने वातावरण बनाइदिन; शिक्षा, स्वास्थ्य, रोजगारी तथा स्वरोजगारीलगायत अपांगता–लक्षित कार्यक्रम र योजना दिन नसक्नु पनि स्थानीय सरकारकै असंवेदनशीलता हो । बौद्धिक अपांगताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतका अनुसार, राज्यको नीति निर्माण तहमा अपांगहरूको सहभागिता नहुनु, सरकार र मातहतका निकायले बौद्धिक अपांगता भएका व्यक्तिका समस्या र आवश्यकता महसुस गर्न नसक्नुले यस्तो बेथिति भैरहेको छ ।

सरकारले पन्ध्रौं योजनामा पूर्ण अशक्त अपांगता, अति अशक्त अपांगता, अटिज्म, डाउनसिन्ड्रोम, बौद्धिक अपांगता भएका व्यक्तिका लागि शिक्षा, स्वास्थ्य सुविधासहितको पुनःस्थापना सेवा उपलब्ध गराउने रणनीति तयार पारेको छ । तर, रणनीति बनेको दुई वर्ष बितिसक्दा पनि लागू भएको छैन । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीको अध्यक्षतामा अपांगता भएका व्यक्तिको अधिकार, सेवासुविधा र संरक्षणसम्बन्धी कामकारबाहीमा समन्वय र रेखदेखका लागि ‘अपांगता राष्ट्रिय निर्देशन समिति’ को व्यवस्था गरिएको छ । राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा ‘यो समिति निकै महत्त्वपूर्ण भए पनि यसको नियमित बैठक नै हुन नसकेको’ उल्लेख छ । स्थानीय जनप्रतिनिधिहरू बौद्धिक अपांगताका सवालमा अनभिज्ञ छन् भने स्थानीय तहको नीति तथा कार्यक्रममा पनि अपांगता क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन । नेपालका समुदायकेन्द्रित कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन हुँदैन भन्ने एउटा उदाहरण हो यो ।

समानताको हकले अपांगता भएका व्यक्तिको संरक्षण, सशक्तीकरण तथा विकासलाई विशेष महत्त्व दिएको छ । प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हक छ । राज्यले बौद्धिक अपांगता भएका व्यक्तिहरूले बोल्न, बुझ्न तथा दबाव सृजना गर्न सक्दैनन् भन्ने सोचेर यसरी बेवास्ता गरिरहन मिल्दैन । उनीहरूको जटिलतालाई झन् संवेदनशील भएर हेर्नुपर्छ । बौद्धिक अपांगता भएका व्यक्ति र उनका परिवारलक्षित रोजगार तथा स्वरोजगारका कार्यक्रम ल्याउनुपर्छ; सहुलियत ऋण, लघुउद्यम तथा बजारीकरण र क्षमता विकास तथा सीपमूलक कार्यक्रमहरूलाई स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम र आवधिक योजनामा प्राथमिकता दिनुपर्छ ।                                          कान्तिपुर अनलाइनबाट ।