गमक पोष्ट समाचारदाता बर्दिवास, १८ साउन । महोत्तरीकी सुजिता ठाकुरको हत्यामा संलग्नरहेको आरोपमा उनकै बुबा कामेश्वर पाण्डेयसहित थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुजिताको हत्यामा बुवा पाण्डेयको संलग्नता देखिएपछि उनीसहित सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीयवासी प्रमोद मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएको हो ।
प्रहरीले आज जिल्ला प्रहरी कार्यालय जलेश्वरमा पत्रकार सम्मेलनगरी बुबा पाण्डेय र देवर रूपेशकै मिलोमतोमा सुजिताको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार इज्जत प्रतिष्ठाको विषय बनाउँदै सुजिताको हत्या भएको पाइएको पाइयो । पटक–पटक बाहिर गइरहने सुजिताको बानीलाई उनीहरूले पचाउन नसकेपछि प्रतिष्ठाको विषय बनाएको एसपी आचार्यले बताए ।
घटनाबारे सुनाउँदै एसपी आचार्यले भने, ‘घरबाट बाहिर गइरहने सुजिताको बानी उनीहरूलाई मन परेको थिएन, यसका साथै आर्थिक लेनदेनको कुरा पनि देखिएको छ ।’
देवर रूपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घटना लुकाउन बार्गेनिङ गरेको पनि खुलेको आचार्यको भनाइ छ । यसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद मण्डलले भने शव लुकाउन मदत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म सात जनालाई पक्राउ गरिसकेको छ ।