पठनपाठन संसारमै सबैभन्दा महत्त्वपूर्ण कार्य हो । शिक्षाविना संसारमा कोही पनि मानिस ठूलो वा राम्रो मान्छे हुन सकेको छैन । शिक्षकविना औपचारिक शिक्षा सम्भव छैन । शिक्षक वा गुरु जीवनमा धेरै प्रकारका हुन सक्छन् । गुरु भन्नेबित्तिकै एकप्रकारको आकृति परिकल्पना गरिसकेका हुन्छाँै । दत्तात्रयले विभिन्न व्यक्तिलाई गुरु मानेका छन् । उनकाअनुसार गुरू त्यो व्यक्ति जसबाट ज्ञान लिन सकिन्छ । कसैले कुनै प्रकारले कुनै ज्ञान, विवेक, अनुभव प्रदान गर्छ भने त्यो व्यक्ति हाम्रो गुरु हो । चाहे त्यो जुन जात, धर्म, वर्ण, लिङ्ग, पेसा आदिले विविधताभित्र पर्ने व्यक्ति किन नहोस् । वरिपरि विद्यार्थी राखेर उनीहरूलाई तनाव दिँदै पढाइको नाममा व्यापार गर्ने भेषधारीमात्र गुरु भनेर चिनिने हाम्रो समाजमा जात, वर्ण, धर्म, लिङ्ग आदिका कारणले पुरातन गुरुको वर्गीकरण गरिने जमानामा पनि दत्तात्रयले विभिन्न किसिमका व्यक्तिलाई गुरु मानेका छन् । उनले मानेका गुरुले उनलाई दिएको सन्देशका आधारमा उनले त्यस्ता विभिन्न व्यक्तिलाई गुरु मानेका थिए । गुरुको काम शिक्षा दिने हो ।
हामीले क्रियाकलापबाट सीप पहिले सिक्ने र सिद्धान्त प्रतिपादन गरिने तरिका अवलम्बन गर्नका लागि एकीकृत पाठ्यक्रमको अवधारणा अघिसारेका छौँ । अर्थात् पहिले व्यवहार गर्ने गराउने र त्यो व्यवहारका आधारमा त्यसबाट सिकिएको कुरा नै सिद्धान्त बनाउने गरी एकीकृत पाठ्यक्रम लागू गरिएको छ । यसमा केवल आधुनिकताको नाममा पुराना कुरा विस्थापित गराउने परिकल्पना गरिएको छैन । हामीले गुरुको नाममा सर्वसाधारणलाई भ्रममा पारेर अन्योल सिर्जना गरिरहेका त छैनौँ ? कतै शुल्क लिन नपाइने तर पैसा लिन नछोडिने निःशुल्क शिक्षा, उपचार आदि जस्तै त भएको छैन ? त्यसबारे पनि हामीले ध्यान दिनु जरुरी छ जस्तो लाग्छ ।
जीवनमा सिकिएका सबै ज्ञान, सीप र कला एकैप्रकारका व्यक्तित्वले सिकाएका होइनन् । त्यसैले समाजमा सिकाइका विभिन्न प्रारूप रहेका हुन्छन् । तिनीहरूलाई हामीले सहजै ज्ञान र सीपको स्रोतका रूपमा लिनुपर्ने हुन्छ । बारीमा लगेर हलो समाएर जोत्न सिकाउने व्यक्ति मेरो जीवनमा गुरु कहिल्यै हुन सकेनन् । बाँसको चोया काड्न सिकाउने र डोकामा आँखा पार्न सिकाउने व्यक्ति पनि कहिल्यै गुरू बन्न सकेनन् तर हातमा लठ्ठी लिएर टाउकोमा टुटुल्को उठ्नेगरी कुट्ने व्यक्तिलाई मात्र हामीले गुरू मानेर आउने हाम्रो संस्कारले सारा प्राविधिक गुरुहरूको अपमान भइरहेको छ ।
आज इन्टरनेट, कम्प्युटर आदि टेक्निकल पक्षमा ज्ञान, सीप र जानकारी गराउने व्यक्तिलाई जति हामीले सम्मानजनक दृष्टिले हेर्ने गर्छौं त्यत्तिनै जीवनोपयोगी सीप सिकाउने गुरुहरू सम्मानित हुन सके बल्ल न्याय हुने थियो । दत्तात्रयको जमानामा पनि एकाग्र भएर आरन लगाइरहेका लोहारलाई त्यति ठूला ऋषिले गुरु मानेका थिए भने एक्काइसाँै शताब्दीमा दत्तात्रयजस्ता सीप, ज्ञानलाई महत्त्व दिने व्यक्तित्व किन उदाउन सकेनन् ? हामीले महँगा ल्यापटप र कम्प्युटर चालाउने व्यक्तिलाई मात्र प्राविधिक मान्ने हो ? के ती माटाका मटुला बनाउने मानिस गुरु हुन सक्दैनन् ? हामीले हाम्रा ग्रामीण क्षेत्रमा अवस्थित प्राविधिक गुरुहरूको सम्मान गर्न नसकेर उनीहरूप्रति ठूलै अन्याय त गरिरहेका
छैनौँ ? कम्पासले वृत्त बनाएर गुरु हुनेले खुर्पेटोमा बुट्टा हाल्न सक्छन् कि सक्दैनन् भन्ने प्रमुख सवाल हो । खुर्पेटोमा मज्जाका बुट्टा कुँदेर आफ्नो सीपको प्रदर्शन गरेका हाम्रा शिल्पबन्धुले कति वर्ष कुन विश्वविद्यालयको कुन डिग्री कुन ग्रेडमा पास गरेका छन् ? हाम्रो ध्यान त्यस्ता पुराना प्रविधि र सीप जोगाउनेतर्फ पनि आकर्षित होस् भन्ने कामना हो ।
मसिना खरका धर्सालाई जोडेर घरको छानो बनाउने प्रविधिको सीप हाम्रा बाउबाजेसँगै मरेर नजाओस् भन्ने हो । हामीले आधुनिकताका नाममा पुराना राम्रा कुराको ज्ञान र त्यस्ता वस्तु निर्माण तथा प्रयोगको सीपलाई बेवास्ता हुनबाट कसरी जोगाउने भन्नेमात्र हो । बाँसको चोया र वाताले राम्रोसँग कसेर छाएको खरको छानो कैयौँ वर्षसम्म टिक्न सक्छ भने त्यो ज्ञान र सीपलाई इतिहासबाट भविष्यसम्म किन हस्तान्तरण गर्दै नजाने, किन हामीले त्यस्ता महŒवपूर्ण सीपलाई यसै लोप हुन दिने ? यस्ता प्रश्नहरूको उत्तर खोज्ने काम अबका गुरुहरूको हो । हाम्रा सन्ततिले ल्यापटप र मोबाइलमा रमाउनेक्रममा दही मथेर घ्यू निकाल्ने प्रविधि सिक्न विदेश जान नपरोस् भन्ने हो । हुन त हामीले कपास खेती मासेर कपडा उद्योग बन्द गरेर रेडिमेट फेन्सी कपडामा रमाउने संस्कृति विकास गरेका छौँ त होइनौँ ? तर, अझै सम्भावना छन् । पढ्न, लेख्न जान्नेले बारीमा कोदो रोप्नुहुँदैन भन्ने भावना विकास हुन दिनुभएन । घरमा मकैको पीठोबाट रोटी पकाउन नजानेर बजारबाट पाउरोटी किनेर खाने अवस्था नआओस् भन्ने कामना हो ।
जीवनलाई मेसिनरी मोडेलले सञ्चालन गर्नुभएन । मानिसलाई रोबर्टजस्तो बनाउनुभएन । संस्कार र संस्कृतिसहितको प्राविधिक ज्ञान हाम्रो नयाँ पुस्तामा दिन सकियोस् भन्ने हो । मानिसका नाडी छामेर रोग पत्ता लगाउन सक्नेसम्मको धैर्यतालाई केवल मेसिनका अधिनस्थमात्र नभएर व्यावहारिक बनाउन सकियोस् भन्नेमात्र हो । पराल र पोस्करबाट सुकुल, गुन्द्री, चकटी बुन्न नजानेर बजारमा पाइने प्लास्टिकका डोरमेटमात्र प्रयोग गर्नुपर्ने अवस्था नआओस् भन्ने हो । मानव विवेक प्रयोगै नगरी मेसिनले देखाएकै आधारमा मानिसलाई अन्याय नगरियोस् भन्नेमात्र हो । त्यसैले हामीले हाम्रो समाजमा चल्दै आएका परम्परागत सीप र ज्ञानसमेतको जगेर्ना गर्दै युगअनुसारको नवीनतम प्रविधिसमेतमा आफूलाई अब्बल राख्न सक्ने सन्तति तयार होऊन् भन्ने चाहना हो । यसैमा हामीले ध्यान दिन सक्नुपर्छ भन्ने हो ।
समाजमा विद्यमान प्रविधिलाई जगेर्ना गर्दै अत्याधुनिक सीपमा आधारित कम्प्युटर, इन्टरनेटजस्ता नयाँ प्रविधि प्रयोग गरेरमात्र समाजको परिवर्तन र शिक्षाको युगानुकूल परिवर्तनको परिकल्पना गर्न सकिन्छ । अन्यथा हामीले दिने शिक्षा अधुरो रहन्छ । मानव जीवन व्यावहारिक हुनुपर्छ । व्यवहारविनाको ज्ञान र सीपविनाको शिक्षा सर्टिफिकेटका लागि मात्र काम लाग्छ । मानिसले समाजमा केही योगदान गर्न सक्ने बन्नका लागि सामाजिक मूल्य–मान्यतामा आधारित हाम्रा परम्परागत ज्ञान र समय सान्दर्भिक आधुनिक ज्ञान जानेकै हुनुपर्छ । शिक्षकले त हरेक पक्षमा आफूलाई सक्षम बनाएर लैजान पर्छ । आफूलाई समयसापेक्ष बदल्न नसक्ने व्यक्ति शिक्षकमा कार्यरत रहिरहन सक्दैन । उसलाई भूतपूर्वको नामले सम्बोधन गर्न पाउनु नै समाजको भाग्य हुनेछ ।
त्यसैले अहिले गरिरहेको आधुनिक प्रविधिप्रतिको जागरण जति प्रशंसनीय छ, त्यत्तिनै परम्परागत सीप रक्षाको क्षेत्रमा पनि ध्यान पु-याउनुपर्ने जिम्मेवारी छ । हामी सबै मिलेर हाम्रो समाज परिवर्तन गर्ने हो । जससँग जेमा सक्षमता छ, त्यसले त्यो सक्षमतालाई समाजका निम्ति लगानी गर्नुपर्छ । सामाजिक योगदान गरिनुपर्छ । मौलिक ज्ञान र सीपलाई संरक्षण गर्दै आधुनिक प्रविधिमा निपुण बनाएर नेपाली शिक्षकलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउनु राज्यको जिम्मेवारी र कर्तव्य हो । सारमा दत्तात्रयले जस्तै साना, ठूलाबाट सीप र ज्ञान सिक्न सक्ने मानसिकताका गुरु बन्न सकौँ । नजानेको कुरा निर्धक्क सोध्न सकौँ । जानेको कुरा ढुक्क सिकाउन सकौँ । हामी सफल गुरु बन्न र बनाउन सकौँ । हामीले हाम्रो पेसाप्रति गौरव गर्ने वातावरण निर्माण गरौँ । हाम्रा आगामी पुस्ताले हाम्रो पथप्रदर्शनमा उज्यालो पाउन सकून् । गोरखापत्र अनलाईनबाट ।