गमक पोष्ट समाचारदाता / वीरगञ्ज, ३ साउन । पछिल्ले तीन वर्षको तुलनामा आलै वितेको आर्थिक वर्ष आपराधीक घटनामा वृद्धि भएको पर्सा प्रहरीले जनाएको छ । पछिल्लो तीन आवको तुलनामा आर्थिक वर्ष ०७७÷७८ मा यहाँ १ हजार १ सय ७३ वटा अपराधका घटना भएको प्रहरीले तथ्याङ्क सार्वजनिक गरेको हो ।
पछिल्लो ३ आर्थीक वर्षको तथ्यांकलाई नियाल्दा गत आर्थीक वर्षमा अपराधिक घटना बृद्धि भएको पाइएको छ । आर्थीक वर्ष ०७५÷७६ मा ९ सय ४४ वटा विभिन्न अपराधिक घटना भएका थिए । त्यस्तै आर्थीक वर्ष ०७६÷७७ मा २ सय २९ वटा घटना बृद्धि भएर १ हजार ८१ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ ।
गत आर्थीक वर्ष ०७७÷७८ मा ९२ वटा घटना बढी दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थीक वर्षमा दर्ता भएका अपराधिक घटनामा संलग्न २० महिला र ९ सय ५६ पुरुष गरी ९ सय ७६ जना नेपाली पक्राउ परेका छन् भने १ महिला र ७३ जना पुरुष गरी ७४ जना विदेशी नागरिक पक्राउ परेका छन् । ४० जना महिला र ६ सय ९४ जना पुरुष नेपाली र १३ जना विदेशी गरी ७ सय ४७ जना अँझै फरार रहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
खनालका अनुसार सबैभन्दा बढी सार्वजनिक शान्तिविरुद्धको कसुरमा २ सय ४६ वटा उजुरी दर्ता भएका छन् । जुन अघिल्लो आर्थीक वर्षभन्दा १९ ले कम हो । यस्तै लागुऔषध सम्बन्धी १ सय ३३, झुण्डिएर आत्महत्या गर्ने १ सय २, बैंकिंग कसुर सम्बन्धी ७२ वटा उजुरी दर्ता भएका छन् ।
पछिल्ला ३ आर्थीक वर्षको विवरणअनुसार गत आर्थीक वर्षमा अपराधिक घटना बढ्नुको पछाडी घटना नै बृद्धि हो या प्रहरीको सक्रियता बढेको हो भन्नेमा भने आशंका व्यक्त गरिएको छ ।
विगतका वर्षहरुमा घटना भएपनि प्रहरीको सक्रियता नहुने अर्थात प्रहरीसम्म दर्ता नहुने भएका कारण कम देखिएको हुन सक्ने एकथरीको विश्लेषण छ भने अर्काेथरीले प्रहरीको निष्क्रीयताका कारण अपराधिक घटना बृद्धि भएको टिप्पणी गरेका छन् ।
तर यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पाण्डेले भने कोरोना भाइरसको महामारीका कारण कामकाज ठप्प हुँदा घरमै बेरोजगार भएर बस्दा मस्तिष्कमा नकारात्मक कुराहरु खेलेर अपराधिक घटना बढेको हुन सक्ने धारणा राखे ।
प्रमुख प्रहरी उपरीक्षक पाण्डेले फुर्सदिलो समयको सृजनात्मक काममा सदुपयोग गर्नुको साटो अपराधिक गतिविधिमा संलग्न भएको हुन सक्ने बताए । चुनौतीपुर्ण अवस्थामा पनि प्रहरीको सक्रियतामा भने कुनै कसुर बाँकी नराखेको पाण्डेले दावी गरे ।