गमक पोष्ट समाचारदाता / वीरगञ्ज, ३१ असार । विवाह गर्ने र जागिर लगाईदिने प्रलोभनमा पारेर १५ वर्षीय किशोरीलाई पटक पटक जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बहुदरामाई नगरपालिका २ पिपरा टोलका २५ वर्षीय धर्मराज साहलाई सखुवाप्रसौनी गाउँपालिकका ४ का किशोरीलाई असार १४ गते घर नजीकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार साहले किशोरी सुत्ने कोठामा प्रवेशगरी ललाई फकाई बाँसघारीसम्म पुर्याएर करणी गरेको जनाएको छ । उनले किशोरीलाई आफुससँगै राखेर पटकक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
उजुरी पछि खोजी गर्ने क्रममा उनलाई बुधवार प्रहरीले गाउँबाटै पक्राउ गरेको हो । खनालका अनुसार पक्राउ परेका साह विरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।