गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २९ असार । वीरगञ्जको अस्तव्यस्त ट्राफिकलाई व्यवस्थित बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सक्रियता देखाएको छ । वीरगञ्जको घण्टाघर र माइस्थान क्षेत्रमा अहिले ट्राफिक भोलेन्टियरहरु परिचालन गरी ट्राफिक सम्बन्धी सचेतना जगाउने र नागरिकलाई सचेत बनाउने अभियानको थालनी गरिएको छ ।
वीरगञ्जका विभिन्न क्लबहरुमा आवद्ध भोलेन्टियर गर्न इच्छुक युवाहरुलाई उक्त अभियानमा सामेल गराइएको जिल्ला ट्राफीक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्कीले जानकारी दिए । कार्कीका अनुसार हण्ड्रेड ग्रुप, इम्प्रुभिंग वीरगञ्ज, स्प्रिट क्लब, समृद्ध नेपाल, वारियर ग्रुप, स्वतन्त्र समाज लगायतका क्लबमा आवद्ध पदाधिकारी र व्यक्तिहरुले ट्राफिक प्रहरीलाई सघाइरहेका छन् । कार्कीले भने, ‘यहाँका नागरिकलाई ट्राफिक नियमको बारेमा थाहा छैन, जेब्रा क्रस भनेको पनि बुझ्दैनन्, हामी ट्राफिकका आधारभुत शिक्षा दिईरहेका छौं । ’
यसर्थ अन्य ठाउँमा जाँदा ट्राफिक प्रहरीबाट दण्डित हुनुका साथै सवारी दुर्घटनाबाट सचेत बनाउने उद्देश्यले यो अभयान थालनी गरेका हौँ ।’ जेब्रा क्रसबाट मात्रै बाटो काट्न लगाउने, सवारी चलाउँदा ट्राफिक नियमको पालना गर्नुपर्ने लगायतका सचेतनामुलक कुराहरु उनीहरुले सिकाईरहेका छन् । पछिल्ला दिनहरुमा मोटरसाइकल दुर्घटना बढ्दो क्रममा रहेको अवस्थालाई मध्यनजर गर्दै यो अभियान थालिएको प्रहरी निरीक्षक कार्कीले बताए ।
यसअघि वीरगञ्जमा जहाँबाट मन लाग्यो त्यँहीबाट बाटो काट्ने प्रवृति हावी थियो । कहीँकतै अँझै पनि छ । तर अहिले ट्राफिक प्रहरीको सक्रियता र कडाई हुँदा केही हदसम्म व्यवस्थित भएको नागरिक समाजका अगुवा प्राध्यापक डा. दिपक शाक्य बताउँछन् । उनी भन्छन्, ‘ट्राफिक प्रहरी कार्यालय पर्साको सक्रियता र स्थानीय क्लबका भाइबहीनीहरुको प्रयास अत्यन्तै प्रशंसनीय छ ।’