गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २७ असार । वीरगञ्जको एक चौकलाई नयाँ नामाकरण गरिएको विषयमा नेपाल खेलकुद महासंघ जिल्ला कमिटी पर्साले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको छ ।
धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको माईस्थान चौकको नाम फेरेर ‘स्काई चौक’ राखेप्रीत खेद प्रकट गर्दै महासंघले जिल्ला प्रशासन कार्यालय र वीरगञ्ज महानागरपालिको ध्यानाकर्षण गराएको हो ।
माइस्थान चौकलाई ‘स्काई सिटि’ नामाकरण गरेको विषयले सामाजिक सञ्जालमा चर्चा पाइरहेकोमा आपत्ती जनाउँदै धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको स्थानलाई आफुखुशी नामाकरण गर्नु इतिहासको मजाक नबनाउन महासंघले सचेत गराएको छ ।
महासंघका अध्यक्ष मनोज साहद्वारा हस्ताक्षरित धानाकर्षण पत्र आइतवार प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे र महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
‘समयसँगै सकारात्मक परिवर्तन आवश्यक छ तर पछिल्लो समय परिवर्तन र विकासको नाममा ऐतिहासिक सहर वीरगन्जको मजाक बनाई यसको महत्वलाई कतै गुमाई त रहेको छैनौ भन्ने शंका उत्पन्न भईरहेको छ ।,’ पत्रमा लेखिएको छ ।

वीरगन्ज सहर भित्रका हरेक टोल, हरेक गल्लीका नामको लामो इतिहास, अनि छुट्टै महत्व भएको हुँदा समाज परिवर्तनको नाममा नयाँ नयाँ नामकरण गरी यस क्षेत्रको इतिहासलाई लत्याउने कोसिस गरेको हुँदा सम्बन्धीत सरोकारवालाको ध्यानाकर्षण गराउन बाध्य भएको खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष मानदेव हजराले बताए ।
सकारात्मक र समाजका कुकृति तथा कुकार्यको विरुद्धमा अभियान चलाउन र समाजलाई सचेत बनाउने किसिमका कामहरु गर्नुपर्नेमा महासंघका केन्द्रिय उपमहासचिब शिबजी गुप्ताले जोड दिए ।
युवाहरुको प्रयास समाजलाई सुन्दर बनाउने भएपनि तर स्थानको महत्व र अस्तित्वलाई नै मेट्ने र इतिहासमाथी नै प्रहार गर्ने कार्यप्रति महासंघका केन्द्रिय सचिब रामकिशोर सिँह ‘पराग’ ल आपत्ती जनाए । उनले भने, ‘बरु के काम गर्ने भनेर अग्रजहरुसँग समन्वय र सल्लाह गर्नुपर्छ । यसरी चर्चा कमाउनका लागि इतिहास र महत्व बोकेको चौकको नामाकरण गर्ने अधिकारी कसैलाई छैन ।’
ध्यानाकर्ष पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी घिमिरे र नगरप्रमुख सरावगीले चौकको नामाकरण गर्ने वीरगञ्ज स्प्रिट क्लबका पदाधिकारीलाई बोलाएर सम्झाई बुझाई आगामी दिनमा यस्तो गतिविधि नगर्ने दृढताका साथ छोडिएको महासंघका सचिवालय सदस्य बिरु भट्टराईले जानकारी दिए ।
ध्यानाकर्षण पत्र बुझाउन महासंघका अर्का केन्द्रिय सचिब बिमल पौडल, केन्द्रिय सदस्य मुकेश पाल लगायतको उपस्थिती रहेको थियो ।