स्वास्थ्य सामाग्री बुझदै सुरुङ्गा नगरपालिकाको स्वास्थ्य शाखाका आनन्द चौधरी ।

गमक पोष्ट समाचारदाता/ सप्तरी, २५ असार । कोरोना रोग न्युनीकरणका लागि स्वास्थ्य व्यवस्थापन एवम् फ्रन्ट लाइनरलाई सहयोगको निम्ति सप्तरीको सुरुङ्गा र खडक नगरपालिकास्थित आइसोलेसन, स्वास्थ्य संस्थाहरु र सुरक्षा निकायहरुलाई आज स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
कोरोना न्युनीकरणका लागि सुरुङ्गा र खडक नगरपालिकामा रहेको दुई आइसोलेसन, २१ स्वास्थ्य संस्थाहरु र ६ ओटा सुरक्षा निकायहरुलाई नगरपालिकाको स्वास्थ्य शाखा मार्फत स्वास्थ्य सामाग्री वितरण गरिएको हो । सबल नेपालद्वारा सेभ द चिल्ड्रेनको साझेदारीमा उक्त नगरपालिकाहरुमा संचालित समुन्नति कार्यक्रम अन्तर्गत सो सामाग्रीहरु वितरण गरिएको हो ।
सबल नेपालको फिल्ड अधिकृत मासुका चौधरीका अनुसार सुरुङ्गा नपामा रहेको आइसोलेसन र ११ ओटा स्वास्थ्य संस्थाहरुको लागि ९ लाख ६७ हजार १ सय ३० रुपैयाँको अक्सीजन कन्सनट्रेटर १, अक्सीजन सिलिन्डर ८, भिटिएम किट ५ सय, पिपिई सेट ६३, पल्स अक्सीमिटर ११, आइआर थर्मोमिटर ४, आधा लिटरको लिक्विड ह्यान्ड वास ५२ प्याकेट, हात धुने साबुन २१०, गम बुट ४०, ह्यान्ड स्यानिटाइजर ८५ लिटर, निःसन्क्रमण गर्ने झोल १ सय ४५ लिटर, सर्जिकल ग्लोब्स २ हजार २०, फेस सिल्ड १ सय १४, सर्जिकल मास्क १ हजार ४ सय ३२ लगायतका सामाग्री वितरण गरिएको हो ।
त्यस्तै खडक नपामा रहेको आइसोलेसन र १० ओटा स्वास्थ्य संस्थाहरुको लागि ९ लाख ६० हजार २ सय ३१ रुपैयाँको अक्सीजन सिलिन्डर १२, भिटिएम किट ७ सय, पिपिई सेट ६७, पल्स अक्सीमिटर १४, आइआर थर्मोमिटर ४, आधा लिटरको लिक्विड ह्यान्ड वास ५४ प्याकेट, हात धुने साबुन १ सय ९५, गम बुट ३८, ह्यान्ड स्यानिटाइजर ९२ लिटर, निःसन्क्रमण गर्ने झोल १ सय ४० लिटर, सर्जिकल ग्लोब्स १ हजार ९ सय ८५, फेस सिल्ड १ सय ८, सर्जिकल मास्क १ हजार ४ सय लगायतका सामाग्री वितरण गरिएको हो ।
अधिकृत चौधरीका अनुसार सुरुङ्गामा रहेको कडरबोना प्रहरी चौकी, कुशहा सशस्त्र बेस क्याम्प, भेडिया प्रहरी चौकी तथा खडकमा रहेको कल्याणपुर सर्प दंश उपचार केन्द्र, बिसनपुर प्रहरी चौकी र खरचुहिया प्रहरी चौकीलाई १ लाख ५९ हजार ७ सय ६७ रुपैयाँ बराबरको पिपिई सेट, गम बुट, फेस सिल्ड, ह्यान्ड वास, हात धुने साबुन, स्यानिटाइजर, निःसंक्रमण गर्ने झोल, सर्जिकल पञ्जा, सर्जिकल मास्क लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।