गमक पोष्ट समाचारदाता / बर्दिवास, ३ असार । महोत्तरीमा हतियार सहित आएका समूहले गोली प्रहार गरी लाखौंको धनमाल लुटपाट गरेका छन् । सम्सी गाउँपालिका १ पर्सा बजारमा गएराति करिव १० जनाको समुहमा आएका लुटेराहरुले राजीव ज्वेलर्स (सुनचाँदी पसल) मा गोली पड्काउँदै लुटपाट गरेका हुन् ।
लुटपाटका क्रममा लुटेरा समूहले चलाएको गोलीबाट राजीव ज्वेलर्सका संचालक ५० वर्षिय वीरेन्द्र साहसहित उनको परिवारका सदस्यहरु घाइते भएका छन् । उनको कम्मरमा गोली लागेको महोत्तरी प्रहरीले जनाएको छ । उनको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरान पठाइएको छ ।
त्यस्तै लुटेराहरूले रड प्रहार गरी घाइते साहको श्रीमती ४५ वर्षीय सुशीला देवी साह, २५ वर्षीय छोरा शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साह घाइते रहेको महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जनाएको छ ।
लुटेराहरूले रड प्रहारबाट घाइते भएकाहरुको टाउको, मुख र शरीरको विभिन्न भाग चोटपटक र गहिरो घाउ लागेको छ । घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भईरहेको जनाइएको छ ।
सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्सा बजारदेखि २०० मिटर उत्तर सम्सी गौशाला सडक खण्ड पश्चिममा रहेको साहले घरमै संचालन गरेको सुनचाँदी पसलमा मध्यरातमा लुटेराहरूले गोली प्रहारसँगै लुटपाट समेत गरेका थिए ।
लुटेराहरू घरको पछाडिबाट पर्खाल नाघी घरभित्र प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
प्रारम्भिक जानकारी अनुसार लुटेराहरूले एक सय ७२ तोली चाँदी (काँचो), सुन ५ तोला (काँचो) लुटीएको छ । संचालक साह सहित परिवारजनहरू समेत घाइते अवस्थामा रहेकाले लुटपाटको यकिन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।