कसैकहाँ पाहुना हुन जान नपाइने र आफूकहाँ पनि कसैलाई बोलाउन नहुने समय हो यो । छरछिमेकीले गुहार माग्दा पनि मुहार लुकाउनपर्ने अवस्था आयो । चाहेर पनि गुहार दिन जान सकिँदैन । जिउँदाको जन्त र मर्दाको मलामी जान पनि नहुने भयो । मृतक सङ्क्रमित भए, परिवारका सदस्य र अरू आफन्तजनले जम्मा भएर, अन्तिम श्रद्धाञ्जली दिएर, पालैपालो काँधमा बोकेर, घाटमा लगेर, प्रचलित परम्पराअनुसार अन्तिम संस्कार गर्दैनन् । नेपाली सेनाका तोकिएका जवानले, तोकिएकै ठाउँमा लगेर, अन्तिम सलामी दिएर, शवको अन्तेष्टि गरेर फर्कन्छन् । पाहुना हुन, गुहार दिन, मलाम र जन्त जाँदा के हुन्छ र हुन्न भन्न नसकिने भयो । यस्तो समय आयो । सोच्न र बुझ्न प-यो, चिन्ता लिन र चित्त दुखाउन भएन कसैले पनि । समयले जस्तो अवस्था भोगाउँछ, सुरक्षाका सबै उपाय अपनाएर उस्तै सतर्कता अपनाउने त हो नि । अरूसहित आफ्नै जीवन रक्षाका लागि पनि हो यो ।
जीवन छ र पो सबै छ । तन, मन, धन र जोवन पनि छ । जीवनै नरहे सबै सकिन्छ । परम्परागत संस्कार र संस्कृति पनि सबैको जीवन सहज, सुलभ, सम्य, भव्य र सुसंस्कृत बनाउनका लागि निर्मित हुन् । असहज बनाउन, अप्ठ्यारो पार्न, आफ्नै जीवन र अरूलाई पनि अकालमा मार्न बनाइएका हैनन् । विवाह, व्रतबन्ध, पूजापाठ र जन्मदिन, छैँटी, पास्नी, जात्रा र विभिन्न उत्सव आदिका भोज, तेह्रौँ दिनको पुण्यतिथिका अवसरमा गरिने ब्रह्मभोज एवम् पितृप्रसाद ग्रहण कार्यक्रमका सहभागीबाट धेरै सङ्क्रमण बढेका समाचार सार्वजनिक भएकै छन् । यति धेरै क्षतिका खबर सुन्दा र सरकारले निषेधाज्ञा जारी गर्दा पनि कसैले टेर्दैनन्, जम्मा हुन्छन्, जान्छन् र खान्छन् भने आफैँ बेहोर्छन् भन्नुपर्ने अवस्था नआउनुपथ्र्यो तर आयो । अराजक र अटेरको जिम्मा लिन कसैले पनि सक्दैन भन्नुपर्ने भयो । आफैँ सुरक्षित हुन नचाहेर जाने । भीडभाडमा गएर रमाएर खाने । सङ्क्रमित पनि हुने । अनि अस्पतालले उपचार नगरेर, औषधि नपाएर, खोप नलगाएर, अक्सिजन नभएर, अल्पायुमा दिवङ्गत भए, परलोकतिर गए भन्दै अरूलाई दोष किन दिने ? त्यस्तो जमातलाई उपाय के छ जोगाउन सकिने ? सुविधासम्पन्न र विकसित देशको त बेहाल छ भने ... !
कसैको पनि नाम, थर, घर र ठर–ठेगाना सोध्दै र खोज्दै आउँदैन कोरोना । आफँैले कता छ भनेर खोज्दै नहिँडे, जारी निषेधाज्ञाको पूर्ण रूपमा परिपालना गरे, सङ्क्रमित भइँदैन र सास्ती पनि पाइँदैन । परिस्थिति र बाध्यताले, अञ्जानमा, भूलवश सङ्क्रमित हुनु अपराध होइन । संस्कार, संस्कृति, धर्म, परम्परा थाम्ने नाममा भीड जम्मा पारेर सङ्क्रमण बढाउनु कुनै पनि हिसाबले क्षम्य हुन सक्दैन । जानाजान अक्षम्य अपराध नगरियोस् र समयानुसार चलियोस् । जुन समयमा हाम्रा पूर्वजबाट नयाँ संस्कारको शुभारम्भ गरियो, त्यो बेला जायज, समसामयिक, क्रान्तिकारी, लोकप्रिय र सर्वमान्य रह्यो होला । अहिलेको अवस्थामा त्यही नाजायज बन्यो । खतरनाक र सङ्क्रमण बढाउने कारक बन्न पुग्यो । जतिबेलासम्म कोरोना भाइरसको महामारी रहन्छ, त्यतिबेलासम्म पूजापाठ, उत्सव–महोत्सव, जात्रा, भोजभतेर, प्रसाद वितरण र ग्रहण नगर्दा केही बिग्रन्न । देवीदेउता, भगवान्, पितृ–मातृ, पुर्खा आदि कोही पनि रिसाउन्नन् । डराउन पर्दैन । जात जान्न । समाजले पनि किन गरिनस् भन्दैन । मनले मान्दैन भने आफैँ मनाउने हो । अरूलाई र आफैँलाई अप्ठ्यारोमा पार्ने होइन । आस्था र प्रथाका नाममा कसैको जीवनलाई धरापमा पारेर अकालमा मर्ने र मार्ने पनि होइन । धार्मिक धामका पण्डा । मठमन्दिरका मठाधीश र पुजारी । गाउँघरमा कर्मकाण्ड गराउने पण्डित । यज्ञ र महायज्ञ लगाउँदै, सप्ताह र पुराण वाचन गर्दै, प्रवचन दिँदै, ज्ञान छर्दै हिँड्ने ज्ञानी, ध्यानी, सन्त र महन्तको जमात पनि सङ्क्रमणबाट मुक्त हुन सकेको छैन । महाकुम्भबाट फर्केर आएकाहरू पनि अछुतो रहेनन् । योगी आदित्यनाथको पुकार गोरखनाथ बाबाले पनि सुनेनछन् । अयोध्या, काशी, गयाजी, हरिद्वार, जगन्नाथ, रामेश्वरम, द्वारका, बद्री र केदार जताततै कोरोनाको कहर छ । रोग, भोक र शोकको समय हो यो । सहज समयमा, सुख र शान्तिका बेला अपनाइने धर्म, संस्कार र संस्कृति, दुःख र पीडामा काम नलाग्ने रहेछन्, भएछन् । परोपकार गरेर पुण्य कमाउने संस्कारको सुरुवात गर्न प¥यो । विवाह, व्रतबन्ध, जन्मोत्सव, छैँटी, न्वारान, पास्नी, श्राद्धादि कर्ममा लाग्ने खर्चले कसैको जीवन जोगाउन सकिन्छ भने दान गर्नपर्छ । जीवनदानभन्दा ठूलो अरू कुनै धर्म, संस्कार र संस्कृति हुँदैन । परोपकार गरे पुण्य मिल्छ र परपीडन पाप हो– व्यासले पनि भनेकै छन् ।
मृतकका परिवारले अन्तिम संस्कार एवम् तेह्रौँ दिनको पुण्यतिथि, मासिका र वर्षी गर्दा लाग्ने खर्चले त धेरैको उद्धार र उपकार गर्न सकिन्छ, उनै पितृका नाममा । वर्षमा दुईपटक गरिने श्राद्धमा लाग्ने खर्चले मात्रै पनि दर्जनौँको भोक टार्न सकिन्छ, उनै पितृ तार्न र पूर्वजका आत्मालाई खुसी पार्न । व्रतबन्ध, विवाह, जन्मदिन, न्वारन, पास्नी र अन्य यस्तै उत्सवलगायतका कर्मकाण्ड र आस्था अनुसारका यज्ञ, अनुष्ठान र जात्रामा भोजभतेर लगाउने खर्चले कतिपय विपन्नको विपत हर्न सकिन्छ । यस्ता अनेक परम्परागत कर्मकाण्डी संस्कारलाई परोपकारतिर सोझ्याउने समय हो यो । पुगीसरी आएका, सम्पन्न भान्जाभान्जी, ज्वार्इं र भिनाजु, दिदी, बहिनी, छोरी र पण्डितलाई दानदक्षिणा दिएर पाप कटाउने समय हैन यो । रोग, भोक, शोकको दुःख र पीडामा पिल्सिएका अशक्त र असहाय सहयोगमा जे सकिन्छ त्यही दान गरेर पुण्य कमाउने बेला हो यो ।
चर्चित मन्दिर, मस्जिद, गुम्बा, विहार र चर्चको दैनिक, मासिक र वार्षिक आम्दानीको सदुपयोग गर्ने हो भने अहिलेको महामारीले पु¥याएको क्षतिको परिपूर्ति हुन सक्ने आँकलन गर्न थालेका छन् कतिपय सुधारकले । तिरुपती बालाजी, बाबाधाम, पद्मनाभन मन्दिर, शिरडी साईराम, रामेश्वरम, द्वारका, जगन्नाथ, विश्वनाथ, हरिद्वार, वैष्णोदेवी आदि मन्दिरको आयस्रोत अकल्पनीय रहेछ, सामाजिक सञ्जालमा सार्वजनिक गरिएको रकम सही भएमा । इसाई र इस्लामका धार्मिक मिसनले अधिकांश ठाउँमा असहाय र अशक्तलाई प्रभावित पारेर, मन पगालेर, धर्म परिवर्तन गराउने काम गर्छन् । बुद्धिष्टले पनि शान्ति र अहिंसा, दया र करुणा जगाएर मन परिवर्तन गराउँछन् । दान र अनुदान त बटुल्छन् सबैले ।
तर, उतिसाह्रो द्रव्यपैशाचिक प्रवृत्ति प्रदर्शन गर्दैनन् । आपत र विपत टार्न दिल खोलेर दान गर्छन् । जीवन जोगाउने उपाय खोज्न कुनै कसर बाँकी राख्दैनन् । आस्थावान जनको जीवन रक्षा गर्न सकेमा आज रित्तिएको भण्डार भोलि भरिन्छ भन्ने थाहा छ उनीहरूलाई । तर हाम्रो धर्म, परम्परा, संस्कार र संस्कृतिका पुजारी विकृतिका संवाहक बने । राजनीतिक दल, नेता र नेतृत्व, व्यवस्था र अवस्थाप्रति मान्छेमा जति तीव्र वितृष्णा फैलिएको छ, उत्तिकै घृणा गर्न थालिएको छ, हाम्रा परम्परागत कर्मकाण्डी संस्कार र संस्कृतिलाई पनि । परम्परागत चाडपर्वमा पनि गर्व गर्न छाडिएको छ । हिंसा र तुजुकको ताण्डव नृत्यको दुष्परिणाम हो यो ।
पशुपतिनाथ, पाथिभारा, जानकी मन्दिर, भीमेश्वर महादेव, मुक्तिनाथ, स्वर्गद्वारी, देवघाट, लुम्बिनी, स्वाश्वत धाम, शैलेश्वरी आदि जे–जति पवित्र तीर्थस्थल छन्, त्यहाँको पवित्रताको रक्षाका लागि पनि केही न केही उद्धार र उपकारको काम हुनैपर्छ । गरेको देखिनुपर्छ । मूल भट्ट, पुजारी, सन्त, महन्त र पण्डित सम्मानित हुनेछन् तब बल्ल । आस्थाप्रतिको बढ्दो अनास्था रोक्नकै लागि पनि केही न केही गरिनु वाञ्छनीय छ । जनतालाई मात्रै दोष नथोपरियोस् । खेतबारी बाँझै राखेर पारिबाट खाद्यान्न र तरकारी ल्याए । धर्म, परम्परा, संस्कार र संस्कृति बिटुल्याए । विधर्मीको राज चल्न थाल्यो । कलियुगले छोयो, विकृति र विसङ्गति मौलायो भनेरमात्र सुख पाइन्न । उत्पादनसम्बन्धसँग नगाँसिएको, श्रमको सम्मान नगर्ने, सेवाबाट टाढिएर धनार्जन गर्ने पेसा बनेको परजीवी राजनीति, धर्म, संस्कार र संस्कृति अब धान्न सकिन्न । गोरखापत्र अनलाईनबाट ।