गमक पोष्ट समाचारदाता
काठमाडौं, १ फागुन । सरकारले रोजगारीका लागि इजरायल जान चाहने नेपालीको लागि फागुनको दोस्रो साता आवेदन खोल्ने तयारी गरेको छ । अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पूरा भएकोभन्दै यही फागुन दोस्रो सता आवेदन खोल्ने वैदेशिक रोजगार विभागले बताएको हो ।
फागुनको पहिलो हप्ता आवेदनको ढाँचा पूरा गरि दोस्रो हप्ता भित्रमा मन्त्रालय सँग छलफल गरि आवेदन खोल्ने गृहकार्य भईरहेको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । इजरायलले नेपाली कामदार छिटो लैजान चासो दिएकोले विभागले पनि त्यसैअनुसार काम गरिरहेको उनले जनाए ।
रोजगारीको लागि इजरायल जान इच्छुक नेपाली कामदारले आवेदन खुला भएपछि आफैले घरबाटै आवेदन भर्नसक्ने छन् । आवेदन खुलेसंगै पहिलो चरणमा ५ सय नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् ।
इजरायली रोजगारमा निजी क्षेत्रलाई सहभागी नगराएकोले दुई देश बीचको (जिटुजी) बाट नेपाली इजरायल जानेछन् । यसअघि भएको छलफलअनुसार पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने वैदेशिक रोजगार विभागको भनाइ छ ।
वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जिटुजीमार्फत् पठाउने भएकाले कुनै व्यक्ति वा बिचौलियाको प्रलोभनमा नपर्न अनुरोध गरेको छ । विभागले मेनपावर र अरु कुनै विचौलियाले यसमा काम गर्न नपाउने बताएको छ ।