सिरहा, २३ असोज । जिल्लामा बढ्दो कोरोना संक्रमणको जोखिमाका बेला स्वास्थय उपचारमा कार्यरत स्वास्थकर्मिहरुलाई सहयोग पुग्ने गरी जिल्लाको १७ वटै स्थानीय तहलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रदान गरिएको छ । स्वास्थ्य कार्यालय सिरहाको समन्वय, स्टान्डर्ड चार्टड बैंकको सहयोग र एक्सन एड तथा दलित जन कल्याण युवा क्लब लहानको सहकार्यमा उक्त उपकरण वितरण गरिएको हो ।
उपकरण हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले हामी नेपाल्हरुको चाड पर्व आउन लागेको हुनाले कोरोना संक्रमणबाट बच्न विशेष प्रकारको सर्तकता अपनाउनुपर्ने बताए । उनले यो पटकको दशैं, तिहार, छठ लगाएतका पर्वहरुमा मेला, वलीपूजा जस्ता नगर्न अनुरोध गरे । उनलेभने, ‘यो पटक आ–आफ्नै घरमा क्षमा पुजा गरेर दशैंं तथा अन्य पर्व मनाऔं, स्थानीय प्रशासनले पनि त्यही अनुसारको सुरक्षा योजना बनाएर अघि बढ्ने तयारीमा छ ।’
कोरोना संक्रमणको दर हेर्ने हो भने सिरहा जिल्ला देशकै दोस्रो स्थानमा रहेको उनले उल्लेख गरे । उनले जिल्लाबासीलाई संक्रमणबाट जोगिन सजग रह्नुपर्ने सुझाए । जिल्लाको १५ वटा स्थानीय तहमा ५÷५ बेड क्षमताको आइसोलेसन अस्पताल सञ्चालनको बजेट आइसकेको हुँदा अबिलम्ब त्यो संचालन गर्न स्थानीय तहहरुसँग उनले आग्रह गर्दै भने, ‘क्याम्पस र विद्यालयमा संचालित क्वाइरेनटाइन सञ्चालन गर्न अन्य ठाउँ खोज्नुपर्ने हुन्छ ।’ सबै तहलाई पीपीई प्राप्त हुनु खुशीको कुरा भएको भन्दै दातृ निकायलाई उनले धन्यवाद दिए ।
पीपीई हस्तान्तरण कार्यक्रममा एक्सन एड विराटनगर स्रोत केन्द्रका शिव नारायण चौधरीले अग्रमोर्चामा खटने स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण वितरण गर्ने अवसर दिएकोमा सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका थिए । पुन ःप्रयोगमा ल्याउन सक्ने पिपिई, चस्मा, ग्लोब्स, एन ९५ माक्स र ह्याण्ड सेनिटाईजर लगायतका सामग्रीको सेट बनाई जिल्लाको १७ वटै तहका स्वास्थ्य शाखा र कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न काम गर्ने कर्मचारीलाई लक्षित गरेर व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको दलित जन कल्याण युवा क्लब लहानका अध्यक्ष उमेश बिसुन्केले बताए ।
जिल्ला स्वास्थ्य शाखाले उपलब्ध गराएको कर्मचारी संख्या अनुसार व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको दलित जन कल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद बिसुन्केले जनाए । बितरित उपकरणले कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न काम गर्ने कर्मचारीलाई धेरै सहयोग पुग्ने उनले दाबी गरेका छन् ।
कार्यक्रमको अध्यक्षता गर्दैस्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले पीपीईको प्रयोग पछि सफाई गरेर फेरी प्रयोगमा ल्याउने तरिका, संक्रमण जोखिम न्यूनीकरण र कोरोना संक्रमण न्यून गर्न स्थानीय तह तथा कर्मचारीको भूमिका विषयमा अनुशिक्षण प्रस्तुतीकरण समेत गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सिरहाका सभापति राजदेव यादव, लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।