गमक पोष्ट समाचारदाता

सप्तरी, २१ असोज । कोरोना संक्रमणको मौका छोपी सप्तरी, सिरहा लगायतका जिल्लामा काठ तस्करी मौलाउँदै गएको छ ।
यसैक्रममा काठ तस्करहरुलाई नियन्त्रणमा लिन वन गस्तीमा खटिएको डिभिजन वन कार्यालय सप्तरीको टोलीमाथि सप्तरीमा आक्रमण भएको छ । तस्करहरुको समुहले वन कर्मचारी सबार सबारी साधनमा ढुङ्गामुढा गरी क्षति पु¥याएका छन् ।
सप्तरी र उदयपुरको सिमानामा पर्ने गिद्धे सामुदायिक वन क्षेत्रमा काठ तस्करी भईरहेको गोप्य सुचनाको आधारमा खटिएको सहायक वन अधिकृत मनोज कर्ण नेतृत्वको टोली वन पुगेको थियो । टोलीलाई देखेपछि अध्यारोको मौका छोपी तस्करहरु भागेको थिए ।
तस्करहरुले काटेर छाडेका काठहरु गाडीमा लोड गरी फर्किने क्रममा दमौती जंगलक्षेत्रमा लुकेर बसेका तस्करहरुले टोलीमाथि आक्रमण गरेको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाले जानकारी दिए । तस्करहरुले गरेको ढुङ्गामुढाबाट सहायक वन अधिकृत कर्ण सबार रहेको बा.१ झ ७६२० नम्बरको गाडीमा क्षति पुगेको छ । तर गाडीमा सबार टोलीका सदस्यहरु सकुशल रहेको प्रमुख झाको भनाई छ । ढुङ्गामुढा गर्ने तस्करहको पहिचान तथा खोजी कार्य भईरहेको जनाएको छ । टोलीले सो वन क्षेत्रबाट तस्करहरुले कटान गरी लैजान तयार पारिएको करिब २३ क्युबिफिट २८ थान काठ बरामद् भएको प्रमुख झाको कथन छ ।
बिगत केही दिनयता डिभिजन वन कार्यालयले सक्रियता बढाएपछि काठ तस्करीमा संलग्न १ महिलासहित ४ जना पक्राउ परेका छन् । जिल्लाको दौलतपुर, बिरेन्द्र बजार लगायतका वनक्षेत्रबाट ती तस्करहरुलाई पक्राउ गरि कार्वाही अघि बढाएको प्रमुख झाको भनाई छ । यस्तै सिरहाका वन क्षेत्रबाट समेत व्यापक रुपमा काठ दाउराको तस्करी भईरहेको स्थानीयहरुको गुनासो छ ।