- आस्था नेपाली
केही दिनअघि सम्पन्न महिला हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियानको सन्देश थियो– ‘समाजमा भइरहेको हिंसा अब डिजिटल स्पेसमा पनि फैलियो, त्यस्तो डिजिटल हिंसाको अन्त्य गर्न सबैले पहल गरौं ।’ अभियानअन्तर्गत नेपालमा पनि थुप्रै र्याली, गोष्ठी र छलफल कार्यक्रम भए । तर डिजिटल स्पेसमै भने यसबारे त्यति धेरै बहस भएन ।

डिजिटल स्पेसमा हुने हिंसा यसरी बृहत् छ कि निगरानी गर्ने हाम्रा निकायहरू पर्याप्त छैनन्, कानुन पर्याप्त छैन । र, समाजले पनि डिजिटल पूर्वाधारलाई सही उपयोग गर्न सकिरहेको छैन । त्यसकारण डिजिटल हिंसा अन्त्यको बहस १६ दिने अभियानमा मात्रै होइन, डिजिटल स्पेसमै निरन्तर हुनु आवश्यक छ ।
इन्टरनेट सूचना र ज्ञानको महामार्ग नै बनेको छ । हामी पृथ्वीको एउटा कुनामा बसेर अर्को कुनामा रहेका आफन्तसँग सजिलै सञ्चार गरिरहेका छौं । खबर आदानप्रदान मात्रै होइन, नवीन प्रविधि र आविष्कार, भाषा, कला, संस्कृति, परम्परागत ज्ञान र सीपको पनि सञ्चार भइरहेको छ, इन्टरनेटको माध्यमबाट । यसर्थ इन्टरनेट मानव सभ्यताका लागि सहयोगी अवस्य बनेको छ । तर अवस्था यस्तो पनि छ कि यही महामार्गबाट विभेद, हिंसा र हानिकारक ज्ञानको पनि सञ्चार भइरहेको छ ।
यो डिजिटल युग हो अर्थात् यहाँ हरेक कुराको डिजिटल स्वरूप बनिसकेको छ । आज कुनै न कुनै डिजिटल प्लाटफर्ममा मानिसका व्यक्तिगत र गोप्य विवरणहरू उपलब्ध छन् । र, डिजिटल स्पेसमा भेटिने जो पनि जुनसुकै बेला डिजिटल हिंसाको सिकार बन्न सक्ने जोखिममा छन् । त्यसमाथि महिला र किशोरीहरूका लागि भौतिक समाजभन्दा पनि धेरै असुरक्षित बनेको छ डिजिटल स्पेस ।
विश्वभर आधाभन्दा धेरै महिला, किशोरी, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सीमान्तकृत समुदायका महिलाहरूले डिजिटल हिंसा, साइबर क्राइम, अनलाइन बुलिङ जस्ता समस्या भोगिरहेका छन् । जसले लैंगिक असमानतालाई थप बलियो र विस्तार गर्न मद्दत गरेको छ ।
आजको डिजिटल पुस्ता भेट्दा मन परेको मान्छेसँग परिचय गर्न हात बढाउँदैनन्, बरु सामाजिक सञ्जालमा सर्च गरेर सबै कुरा पत्तो लगाउँछ र सञ्जालमै सम्बन्ध बनाउन कस्सिन्छन् । इन्टरनेट यिनका लागि गाँस र बाससरह अत्यावश्यक वस्तु बनेको छ । घर–टोलमा पारिवारिक घुलमिल, आफन्त वा समाजभन्दा यिनीहरूको रुचि अनेकन डिजिटल प्लाटफर्म र अनलाइन गेमिङतिर हुन्छ । यिनका लागि पढाइ, मनोरञ्जन वा सामाजिक सम्बन्ध जे भने पनि त्यो अनलाइनमै मात्र सम्भव छ । वास्तवमा डिजिटल पुस्ताको संसार नै अनलाइन हो । र, अनलाइनमा रमाउँदा–रमाउँदै आफू कतिबेला हिंसामा परें वा कतिबेला हिंसा गरें भनेर थाहै नपाउनेहरू पनि छन् ।
खासगरी सामाजिक सञ्जालमार्फत यस्तो हिंसा सहज बनेको पाइन्छ । सञ्जालमा पिछा गर्ने, कुराकानी गर्ने, तस्बिरहरू आदानप्रदान गर्ने, भिडिओ कल गर्ने र प्रेम सम्बन्ध बनाउने, तर जब सम्बन्ध निरन्तर नहुने अवस्था हुन्छ, त्यसपछि त्यही पहिलेका तस्बिर र गोप्य जानकारीहरू सार्वजनिक गरिदिने, आर्थिक रूपमा ठगी गर्ने, डिपफेक र भ्रामक सामग्रीहरू बनाई दुःख दिने जस्ता कार्य गरेको पाइन्छ । यस्ता कार्यले धेरै महिला र किशोरीहरूको जीवन बर्बाद भएको छ ।
यसबाहेक सार्वजनिक जीवन बाँच्ने कलाकार, पत्रकार, राजनीतिज्ञ र कन्टेन क्रियटर महिलाले फरक–फरक किसिमका हिंसा भोगिरहेका छन् । घृणास्पद अभिव्यक्ति, गालीगलौज, धम्की, महिलाको शरीर र अंगहरूलाई लिएर अनैतिक टिप्पणी, अश्लील कमेन्ट, जातीय विभेदजन्य गाली जस्ता कार्यहरू अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि सामान्य लाग्न थालिसकेका छन् ।
विश्वभर कुल जनसंख्याको ७५ प्रतिशतभन्दा धेरै मानिस इन्टरनेट प्रयोग गर्छन् । नेपालमा एक व्यक्तिले एकभन्दा धेरै इन्टरनेट सेवा प्रदायकबाट सुविधा लिइरहेको छ । जसकारण यसको तथ्यांक यकिन गर्न कठिन छ । यद्यपि राष्ट्रिय जनगणना २०७८ अनुसार ७३ प्रतिशत नेपाली स्मार्टफोन प्रयोगकर्ता छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या डेढ करोडभन्दा धेरै भइसकेको आकलन छ । यो संख्या दिनानुदिन बढ्दो छ ।
यूएन वुमनको प्रतिवेदनअनुसार सन् २०२५ मा संसारभर ५६ प्रतिशत महिला तथा किशोरीहरूले अनलाइन हिंसा भोगिरहेका छन् भने यस्तो हिंसा दलित, मधेशी, अपांगता भएका र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका महिलाको हकमा झनै भयानक छ ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार अहिले महिला तथा बालबालिकाहरूसँग सम्बन्धित डिजिटल हिंसाका प्रायजसो घटनाहरू चरित्र हत्या, ब्ल्याकमेलिङ, एक्सटोर्सन, रिभेन्ज पोर्न, ठगी जस्ता छन् । ब्युरोमा आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमै यस्ता गम्भीर प्रकृतिका डिजिटल हिंसाका २ हजार ९ सय उजुरीहरू परेका छन् । अघिल्लो वर्ष करिब ८ हजार उजुरी परेका थिए । जबकि यस्तो हिंसामा पर्नेहरूमध्ये १९ देखि २५ वर्ष उमेर समूहका किशोरी र महिलाहरूको संख्या उच्च छ ।
प्रहरीमा पुगेका यी घटनाहरू गम्भीर प्रकृतिका मात्रै हुन् । जबकि सामाजिक सञ्जालमा कसैको तस्बिरमा अश्लील टिप्पणी गर्ने, कसैमाथि जात, धर्म, समुदाय, शरीरको अंग वा रङलाई लिएर विभेदजन्य कमेन्ट गर्ने, त्यस्तो कमेन्टलाई लाइक गर्ने र गलत मनसाय भएका व्यक्तिहरूलाई प्रोत्साहन दिने जस्ता हिंसामा त उजुरी नै पर्दैन । न त कसैले उजुरी गरेर त्यस्ता घटनामा दोषीलाई कारबाहीको दायरामै ल्याउन सकिने अवस्था छ । किनकि यस्तो कार्य गर्नेहरूको संख्या सञ्जालमा यति ठूलो छ कि मानौं समाजमा भन्दा पहिल्यैदेखि सञ्जालमा पितृसत्ताले जग हालेको हो ।
त्यसो त डिजिटल पुस्ता प्रविधिमा अब्बल छ । तर समाजमा यहीं अर्को पुस्ता छ– जसले राम्रो पासवर्ड राख्न जान्दैन, डेटा सेक्युरिटी र व्यक्तिगत सुरक्षाका लागि आफ्नै फोनका सेटिङहरू पनि मिलाउन जान्दैन । र, त्यसैको फाइदा उठाएर आपराधिक कार्य गर्नेहरूको संख्या थपिँदो छ ।
अहिले राज्यका हरेक निकायले सार्वजनिक सेवालाई डिजिटाइजेसन गरिरहेका छन् । हामी २१ औं शताब्दीको प्रविधियुक्त डिजिटल समाज निर्माण गर्न चाहन्छौं । तर त्यो डिजिटल समाज भौतिक समाजभन्दा पनि पछौटे भयो भने त्यस्तो डिजिटल समाजको के अर्थ ? त्यसकारण डिजिटल स्पेसमा व्याप्त हिंसा, विभेद र परम्परागत हानिकारक सोचको अन्त्य हुनैपर्छ ।
सरकारले डिजिटल स्पेसमा यस्ता हिंसा निराकरण गर्न आवश्यक नीति र कानुनहरू तय गर्नुपर्दछ । डिजिटल हिंसाको अन्त्यका लागि डिजिटल पुस्ता सचेत र जागरुक हुनुपर्छ । हरेक इन्टरनेट प्रयोगकर्ताले ‘म डिजिटल हिंसा गर्दिनँ, सहदिनँ र कसैलाई यस्तो हिंसाका लागि सहयोग पुर्याउँदिनँ’ भनेर कबुल गर्न आवश्यक छ ।
प्रविधि आफैंमा विकास होइन, यो साधक मात्रै हो । यसलाई सही ढंगले उपयोग गरेको अवस्थामा मात्रै यसले समाजलाई समुन्नतितर्फ डोर्याउँछ । इन्टरनेट त्यही साधक हो । यसको उपयोग समाजलाई समुन्नतिको बाटोतर्फ अघि बढाउनका लागि हुनुपर्छ ।
अधिकारविहीन वर्गलाई अधिकार दिलाउन, कमजोर वर्गको सशक्तीकरण र अन्यायमा परेकाहरूलाई न्याय प्राप्त गर्न आवाज उठाउने माध्यम बन्नुपर्छ । त्यसकारण केवल प्राविधिक प्रगतिले मात्र न्यायपूर्ण समाजको ग्यारेन्टी गर्न सक्दैन । प्रविधिमा अब्बल हुनुमात्र ज्ञान होइन, सामाजिक र नैतिक शिक्षाको ज्ञान पनि त्यत्तिकै आवश्यक छ ।
(कान्तिपुरबाट)





















