सिरहा, १९ कात्तिक। सिरहामा मोटरसाइकल र ट्रक आपसमा ठोकिदा दुई युवकको ज्यान गएको छ। सिरहा–चोहर्वा सहायक सडकखण्डअन्तर्गत सिराहा नगरपालिका ११, भलुवाहीमा बिहीबार बिहान ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार सिराहा नगरपालिका २२ का २२ वर्षिय अमरेशकुमार यादव र पछाडि बसेका गोलबजार नगरपालिका १० का २० वर्षिय श्रीदेव यादवको मृत्यु भएको हो।

चोहर्वाबाट सिराहातर्फ जाँदै गरेको नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ ५५३ नम्बरको ट्रक र सिराहाबाट चोहर्वातर्फ आउँदै गरेको स. ९ प ७३५० नम्बरको मोटरसाइकल बिहीबार बिहान करिब १० बजेतिर आपसमा ठोक्किँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए।

दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी र स्थानीय  बासिन्दाले गम्भीर घाइते दुवैलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पुर्याइएपछि उपचारको क्रममा चिकित्सकले बिहान करिब साढे १० बजे मृत घोषणा गरेको उनले बताए।

प्रहरीका अनुसार दुर्घटनापछि ट्रकचालक महोत्तरीको मनरासिसवा नगरपालिका ८ का करिब वर्ष ३८ का मुकेशकुमार रायलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।