- आशिष विश्वकर्मा
सिरहा, १८ कात्तिक। सिरहाको कर्जन्हा नगरपालिकामा दुई दिवसीय निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। एसओएस बालग्राम नामक गैरसकारीसंस्थाको आयोजना, नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरको प्राविधिक सहयोग र कर्जन्हा नगरपालिकाको समन्वयमा दुई दिवसीय वृहत निःशिविर सम्पन्न भएको हो।

वृहत स्वास्थ्य शिविरमा एक हजार ५७२ जनाले उपचार पाएको आयोजकले जनाएको छ। पहिलो दिन कर्जन्हा ४ भुल्केस्थित आधारभुत विद्यालयमा ६७२ र दोस्रो दिन कर्जन्हा ६ बडहरामिर्चैयास्थित आधारभुत विद्यालयमा सम्पन्न शिविरमा ९०० जनाले स्वास्थ्य उपचार प्राप्त गरेको आयोजक संस्था एसओएस बालग्रामका प्रोजेक्ट कोर्डिनेर सरोज देवले जानकारी दिए।
आमाबाबुको मायाँ र संरक्षण गुमाएका तथा जोखिममा रहेका बालबालिकाको हेरचाह, शिक्षा र विकासका लागि कामगर्दै आएको यस संस्थाले मुख्य रुपमा अभिभावकहरुको स्वास्थ्यमा पहुँच वृद्धिगर्ने उदेश्यसहित ‘समुदायमा आधारीत परिवार सवलिकरण’ कार्यक्रम अन्तर्गत शिविरको आयोजना गरिएको जनाएको छ।

उनले भने, ‘हामी यहाँ बालबालिका र उनीहरुका अभिभावको आयवृद्धि, क्षमता विकास लगायतका क्षेत्रमा काम गरिरहेका छौं, काम गर्ने दौरानमा यहाँको जनसमुदायमा स्वास्थ्यमा कमजोर पहुँच देखिएकाले पहुँच वृद्धिकोलागि नोवेल अस्पतालको प्राविधिक सहयोग र नगरपालिकाको समन्वयमा वृहत स्वास्थ्य शिविर आयोजना गरिएको हो।’

शिविरमा जनरल मेडिसिन सेवा, नाक, कान घाटी, मुटु रोग, शल्यक्रिया चिकित्सा, स्त्री रोग, बाल रोग, ल्याव परीक्षण, हाड जोर्नी नशा रोग, दन्त रोग, छाला तथा यौन रोग, रेडियोलोजी (भिडियो एक्स–रे) सेवा, इसीजी, इको मुटुको विशेष जाँच सहितका सोवाहरु प्रवाह गरिएको आयोजकले जानकारी दिए। शिविरमा ९९ प्रकारका औषधीहरु पनि निःशुल्क प्रदान गरिएको आयोजकले जनाए।
शिविमा स्त्री रोग, बाल रोग, छाला, नसा रोग तथा सुगर, प्रेसर जस्ता दिर्घरोगीहरुको बढी देखिएपनि सवैखालका विरामीहरु उपचारका लागि आएको जेनरल फिजीसीयन डा. सन्दिप कुमार साहले बताए। उनले परिक्षण्को क्रममा केही व्यक्तिहरुमा जटील प्रकारका रोग देखिएकाले उहाँहरुलाई थप उपचारको लागि अस्पतालमा आउन भनिएको डा. साहले जानकारी दिए।
शिविरले नगरक्षेत्रका आम जनताले आफ्नो स्वास्थ्य अवस्थाको विषयमा जानकारी प्राप्त गर्ने अवसर मिलेको कर्जन्हा नगरपालिकाका उपप्रमुख लक्ष्मी क्षेष्ठले बताए। ‘गाउँघरमा कतिपय मानिसहरु आर्थिक, सामाजिक र समयअभावलगायतका कारणले रोग पालेर वसिरहेका हुन्छन्, गाउँमै शिविर आएपछि उहाँहरुले राम्रो सुविधा पाउनु भएको छ। नगरवासीकोलागि यो शिविर असाध्य लाभदायक भएको छ,’ उपप्रमुख श्रेष्ठले भनिन्।
वडा नम्वर ४ का वडा अध्यक्ष प्रताप विश्वकर्माको अध्यक्षतामा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा पालिका प्रमुख भोला प्रसाद पोखरेल, उपप्रमुख लक्ष्मी श्रेष्ठ, आयोजकसंस्थाका प्रतिनिधी, अस्प्तालका प्रतिनिधी तथा स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो।






















