काठमाडौं, १४ चैत। जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा गिरफ्तारी परेका तत्कालीन प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा भर्ना गरिएको छ। शनिवार बिहानै भक्तपुरको गुन्डुस्थित निवासबाट पक्राउ परेका ओलीलाई चिकित्सकको निगरानीमै राख्नुपर्ने भनेपछि उनलाई अस्पतालमा राखिएको हो।

सुरुमा जिल्ला प्रहरी परिसर काठमाडौं पुर्‍याइएको ओलीलाई त्यसलगतै स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल लगिएको थियो। चिकित्सको निगरानीमै राख्नुपर्ने भन्दै ओलीलाई त्यहीँ भर्ना गरिएको हो। 

‘‘डाक्टरले उहाँलाई हाम्रै निगरानीमा राख्नुपर्छ भनेकाले अस्पतालमै भर्ना गरिएको हो’, काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले वानकारी दिए।

त्यही अभियोगमा शनिबारै बिहान भक्तपुरको कटुन्जेस्थित घरबाट पक्राउ परेका तत्कालीन गृहमन्त्री रमेश लेखकलाई भने महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ। 

तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् कांग्रेस नेता लेखकलाई प्रहरीले २ नम्बर गणमा लगेको हो।