काठमाडौं, ३ चैत। काठमाडौँको नागार्जुन नगरपालिका ८ भिमढुङ्गाबाट ठूलो परिमाणमा नगद तथा अभौतिक मुद्रासहित दुईजना पक्राउ परेका छन्। हुन्डी र अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका ८ भिमढुङ्गाका २८ वर्षिय सागर गिरी र सोही उमेरका प्रमोद प्रसाद धिताल रहेका छन्।

उनीहरूको साथबाट एक करोड सोह्र लाख रुपैयाँ नगद लगायत विभिन्न सामानहरू बरामद भएको प्रहरीले जनाएको छ।

‍प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक ३ थान, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँ बराबरको चेक ३ थान, विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न बैंकको एटीएम कार्ड ४ थान, नागरिकता १ थान, चार पाङ्ग्रे सावरी साधन २ र दुई पाङ्ग्रे सवारी साधन १ थान बरामद गरेको छ।

यस्तै, प्रहरीले सवारी दर्ता किताब ३ थान, विभिन्न कम्पनीको मोबाइल फोन  ६थान, एनसेल र एनटीसीको सिम कार्ड ३१ वटा, कम्प्युटर सेट १ र बाइनान्स खातामा रहेको रकम सात हजार १७५ रुपैयाँ ३४ पैसा अमेरिकी डलर पनि प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।