मणिलाल विश्वकर्मा

लहान, २१ पुस। लेनदेनको मुद्दामा करिब २१ महिनादेखि खाडी मुलुक कतारको जेलमा रहेका सिरहाको औरही गाउँपालिका ५ औरहीका करिब ३६ वर्षीय मो।अफरोज मियाँ जेलमुक्त भएका छन्। उनको जन्मथलो गाउँ औरहीका सञ्चारकर्मीसमेत रहेका स्थानीय अगुवा युवा सन्तोष यादवको पहलमा गत कात्तिकको अन्तिम सातादेखि अफरोज उद्धार अभियान संचालन गरी साढे आठ हजार कतारी रियाल बराबरको रकम पठाइएपछि स्थानीय कानुन अनुसारको प्रकृया पूरा गरी करिब दुई महिनापछि गत शनिबार मियाँ जेलमुक्त भएका हुन्। 

लेनदेन मुद्दामा ०८१ वैसाखदेखि कतारको जेलमा रहेका उनको उद्धारका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीको निर्देशनमा तृतीय उपाध्यक्ष जहागीर आलम र श्रमिक संयोजक सन्तोष पौडेलको कतारी कानुन अनुसारको प्रकृया पूरा गर्न विशेष भूमिका रहेको यादवले बताए। विदेशी भूमिमा स्थानीय कानुन अन्तर्गत जेल परेका नेपाली युवकलाई छुटाउन आफ्नो दायित्व पूरा गर्नु भएका आलम र पौडेल तथा परिषद्प्रति सिंगो औरहीबासी कृतज्ञ छौं’ उनले भने। उनका अनुसार उद्धार अभियानमा औरहीका सहृदयीहरु र देश विदेशमा रहेकाहरुले पाँच दिनको अवधिमा एक सयदेखि १० हजार रुपैयाँसम्म आर्थिक सहयोग गरेका थिए।

कतारी कानुन अनुसार जेलमुक्त गराउन कतारी साढे आठ हजार रियाल बुझाउनु पर्ने भएपछि मंसिरको दोस्रो साता अभियानमार्फत संकलन भएकोमध्ये तीन लाख ७८ हजार रुपैयाँ पठाइएको उनले बताए। ‘अभियानमा उठेको रकम कतार पाइएपछि बाँकी करिब २३ हजार रुपैयाँ जति छ’ उनले भने ‘त्यो रकम जेलमुक्त भएका अफरोजको कागजात तयारीमा जरुरी भए पठाउँछौं अन्यथा परिवालाई बुझाउँछौं।’  

तृतीय उपाध्यक्ष आलमका अनुसार जेल मुक्त भएपनि अफरोजको केही काजात तयारी गर्नुपर्ने भएकाले आफूहरु त्यसमै लागिरहेको जानकारी दिंदै उनले कागजात तयार भए लगत्तै छिट्टै नेपाल फर्काउन पहल भइरहेको बताए। 

कतारमा साझेदारीमा मोटर ग्यारेज संचालन गरिरहेका अफरोज २०७९ मा भएको स्थानीय तहको निर्वाचनको केही महिनाअघि जन्थलो फर्किएको आमा समिदा खातुनले सुनाईन्। ‘वर्तमान गाउँपालिका अध्यक्ष शिवजी यादवको निर्वाचन प्रचार प्रसारमा हिंडेका बेला मोटरसाइकल दुर्घटनामा गाउँका एक व्यक्तिको निधन भएपछि छोरालाई सवारी ज्यान मुद्दा लाग्यो’ उनले भनिन् ‘त्यही मुद्दामा करिब १५ लाख रुपैयाँ ऋणकर्जा भयो’ उनले भनिन् ‘त्यति रकम खर्च गरेपछि मुद्दा किनारा लागे लगत्तै छोरा कतार गएको हो।’