लहान, १० पुस। अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन्।
लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा उनले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको बताए। उनले भने, ‘सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ, कसैको अफवाह र हल्लामा परेर भ्रममा नपर्न म आम नागरिकलाई आग्रह गर्छु।’
उनले वर्तमान सरकार जेनजी आन्दोलनपछि बनेको उल्लेख गर्दै यसको प्रमुख दायित्व निर्वाचन सम्पन्न गराउनु रहेको बताए। निर्वाचनपछि देशको अर्थतन्त्र पनि क्रमशः लयमा फर्किने विश्वास व्यक्त गरे।
उनले देशको अर्थतन्त्रलाई सवल बनाउन विधिको शासन, प्रणालीगत सुधार र आचरणमा परिवर्तन आवश्यक रहेको पनि उल्लेख खरे। परिर्वतनलाई संस्थागत गर्न जेनजी आन्दोलनमा उठेको माँग सम्बोधन गर्न आगामी निर्वाचनमा परिवर्तनकामी शक्तिको नेतृत्वमा सरकार गठन हुनुपर्ने धारणा राखे।
कार्यक्रममा अस्पतालको ४७ वर्षदेखि रोकिएको जग्गा दर्ता प्रक्रिया हालै सम्पन्न भएको उल्लेख गर्दै उनले जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै एक करोड २४ लाख रुपैयाँ लाभकर मिनाहा गरी दाता मुरारका र शारडा परिवारको चाहना पूरा गरेको बताए।
दाता परिवारका तर्फबाट मुरारीलाल मुरारका र पवनकुमार शारडाले वर्तमान सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गरेको पहलबाट ४७ वर्षमा हुन नसकेको कार्य भएकोमा सरकारलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जङगीलाल राय, प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, राजकुमार गुप्ता, सिरहा जिल्ला समन्व समिति प्रमुख दिनेशकुमार महतो, लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरी, दाता परिवारका प्रतिनिधि, उद्योगी–व्यापारी तथा अस्पताल व्यवस्थापनका पदाधिकारीको उपस्थिति थियो।
कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष राम नारायण मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो।






















