• हिक्मत आचार्य 

काठमाडौं, २७ मंसिर। चितवनको एउटा सामान्य परिवार। १६ वर्षीय मिलन शर्मा (नाम परिवर्तन) को दिनचर्या विद्यालय र घरको पसलमा बित्थ्यो। फुर्सदको समय आमाबुबालाई पसलको काममा सघाउँथे। बाँकी समय आफ्नो पढाइमा खर्चिन्थे। एसईईको तयारीमा रहेका मिलनको जीवनमा १६ वर्ष पुगेपछि एउटा नयाँ मोड आयो। यो उनका लागि उत्साहभन्दा बढी अभिशाप बन्यो। 

उमेर पुगेलगत्तै बुबाआमाले नागरिकता बनाइदिए। नागरिकता बनेको खबर घर नजिकैका काका नाता पर्ने एक व्यक्तिले थाहा पाए। तिनै काकाले मिलनलाई “बाबु, अब तेरो बैंक अकाउन्ट खोल्नुपर्छ, अलिअलि खर्च पनि आउँछ” भन्दै फकाउन थाले। कक्षा १० मा पढ्ने किशोरलाई आफ्नै पकेट खर्च जोहो हुने लोभले तान्यो । सधैं आमाबुबासँग सानो रकम माग्नुपर्ने बाध्यता हट्ने र आत्मनिर्भर देखिन पाइने आशामा मिलन काकाको योजनामा सामेल भए।

काकाकै लहलहैमा लागेर मिलनले सुरुमा आफ्नो नाममा मोबाइलको सिमकार्ड निकाले। त्यसपछि एउटा बैंकमा गएर खाता खोले। प्रक्रिया यतिमै रोकिएन, उनले बैंकको एटीएम कार्डका लागि आवेदन दिए, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ पनि एक्टिभ गरे। खाता खोल्दा लाग्ने शुल्कदेखि अन्य सबै खर्च तिनै काकाले ब्यहोरेका थिए। 

सबै काम पूरा भइसकेपछि मिलनले बैंकको चेकबुक, एटीएम कार्ड, मोबाइल बैंकिङको पासवर्ड र त्यो खातासँग जोडिएको सिमकार्ड सबै ती काकालाई सुम्पिए। सर्त अनुसार काकाले मिलनलाई हरेक महिनाको अन्त्यमा १० हजार रुपैयाँ दिन थाले। तीन महिनासम्म मिलन दङ्ग थिए। उनले ३० हजार रुपैयाँ बुझिसकेका थिए। तर, यो खुसी धेरै दिन टिक्न सकेन। 

एक दिन एक्कासि वडा अध्यक्ष उनलाई खोज्दै आइपुगे। बैंक खाताको विषयमा केरकार सुरु भयो। मिलनले डराउँदै सबै वास्तविकता बताए। त्यसपछि खुलेको रहस्यले मिलनको परिवारको होस उड्यो। उनले काकालाई दिएको त्यो बैंक अकाउन्ट सर्वसाधारणलाई अनलाइनमार्फत ठगी गर्न प्रयोग भइरहेको रहेछ। मात्र तीन महिनाको अवधिमा त्यो १६ वर्षीय किशोरको खाताबाट तीन करोड रुपैयाँभन्दा बढीको कारोबार भएको देखियो।

छोराको खाता दुरुपयोग गरी करोडौंको ठगी धन्दा चलिरहँदा उनका आमाबुबा बेखबर थिए। घटनाको गहिराइ बुझेपछि आत्तिँदै उनकी आमाले छोरालाई काठमाडौँको साइबर ब्युरोमा ल्याइपुर्‍याइन्। यो घटनाको बेलिविस्तार लगाउँदै साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले टेकपानासँग भने, “१६ वर्षीय बालकलाई फकाएर त्यो अकाउन्ट करोडौं रकम ठग्न दुरुपयोग भएको रहेछ। यसमा बालक सामान्य पकेट खर्चको लोभमा पर्दा ठुलो अपराधको हिस्सेदार बन्न पुग्यो।”

यो कथा मिलनको मात्र होइन। कैलालीका २२ वर्षीय राकेश योगी (नाम परिवर्तन) को व्यथा पनि उस्तै छ। स्नातक तहमा अध्ययनरत राकेशलाई शेयर बजारको नशा चढ्यो। तर ज्ञान भने शून्य थियो। आईपीओ के हो, शेयर कसरी भर्ने भन्ने सामान्य जानकारी समेत नभएका उनलाई एक नातेदारले सिकाउने बाहनामा ठुलो जालोमा फसाए। “तिम्रो बैंक अकाउन्ट र सिम मलाई देऊ, म तिम्रो नाममा शेयर भरिदिन्छु, लगानी पनि मै गरिदिन्छु,” ती नातेदारको प्रस्ताव राकेशलाई ‘के खोज्छस् कानो, आँखो’ भनेझैं भयो। शेयर बजारबाट राम्रो आम्दानी हुने सपना देखेका राकेश चार महिनापछि प्रहरी चौकीको हिरासतमा पुग्नुपर्छ भन्ने कल्पना समेत गरेका थिएनन्। 

एक दिन प्रहरीको फोन आएपछि आमासँगै चौकी पुगेका राकेशले त्यहाँ जे देखे, त्यसले उनीहरूको सातो गयो। भारतमा मजदुरी गरेर जीविका चलाउने उनको परिवारले जीवनभर देख्न नसक्ने रकम राकेशको खाताबाट कारोबार भएको थियो। चार महिनाको अवधिमा डेढ करोड बढीको कारोबार भएको देखियो । यो रकम अनलाइन ठगीमा परेका सर्वसाधारणबाट आएको थियो। प्रहरी उपरीक्षक अवस्थीले भने, “शेयर कारोबार गर्न सघाइदिन्छु भनेर उनकै नातेदारले अनलाइन ठगी गर्ने गिरोहलाई अकाउन्ट जिम्मा लगाएका रहेछन्। सामान्य मजदुरी गरेर खर्च टार्ने परिवारलाई यो रकम कल्पनाभन्दा बाहिरको हो।”

अनलाइन ठगीको यो जालो कतिसम्म फैलिएको छ भन्ने अर्को उदाहरण सुनसरीकी २४ वर्षीया अनिशा शर्मा (नाम परिवर्तन) को घटनाले पुष्टि गर्छ। ह्वाट्सएपमा अपरिचित नम्बरबाट आएको ‘हाई/हेलो’ विस्तारै मित्रतामा बदलियो। कुराकानी बाक्लिँदै जाँदा ती व्यक्तिले विदेशबाट पैसा पठाउन आफ्नो खातामा ‘लिमिट’ भएको भन्दै अनिशाको सहयोग मागे। “मेरो दाइले तिम्रो खातामा पैसा पठाइदिनुहुन्छ, त्यो रकम तिमीले मैले भनेको अकाउन्टमा पठाइदेऊ,” ती व्यक्तिको आग्रहमा अनिशा राजी भइन् । उनको खातामा पैसा आउँथ्यो र उनी ती व्यक्तिले भनेको अर्को खातामा ट्रान्सफर गरिदिन्थिन्। एक सातामै १० लाख रुपैयाँ बढीको कारोबार भयो। अनिशाले काम र पढाइमा बाधा पुगेको भन्दै यो काम रोक्न खोजिन् । तर उताबाट कमिसनको अफर आयो ‘एक लाखको कारोबारमा दुई हजार रुपैयाँ’। लोभमा फसेकी अनिशाको खाता साढे दुई महिनापछि ब्लक भयो। बैंक पुग्दा थाहा भयो, उनको खाता अनलाइन ठगीमा प्रयोग भएको उजुरी परेपछि रोक्का गरिएको रहेछ। 

विदेशबाट आएको भनिएको रकम वास्तवमा ठगीमा परेका पीडितको थियो। सो अवधिमा ५० लाख बढीको कारोबार भएको देखियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्य भन्छन्, “पहिले सहयोगका रूपमा लिने र नमाने कमिसन अफर गर्ने गरेको देखिन्छ। यो भावनात्मक ब्ल्याकमेलिङ र आर्थिक प्रलोभनको मिश्रण हो।”

यी प्रतिनिधि घटनाले नेपालमा मौलाइरहेको ‘भाडाका बैंक अकाउन्ट’ - जसलाई अङ्ग्रेजीमा म्युल अकाउन्ट (Mule Accounts) वा ‘मनि म्युल’ भनिन्छ- को भयावह तस्बिर देखाउँछन्। तर समस्या यतिमा मात्र सीमित छैन। साइबर ब्युरोको अनुसन्धानमा अझ चकित पार्ने तथ्यहरू फेला परेका छन्। एक अनलाइन ठगीको घटनामा प्रयोग भएको बैंक खाताको विवरण केलाउँदा खातावाला व्यक्तिको नागरिकता नै नक्कली रहेको खुल्यो। नागरिकता नम्बर, फोटो र अन्य विवरण सबै नक्कली थिए। तर बैंकमा खाता भने सक्रिय थियो र लाखौंको कारोबार भइरहेको थियो। “त्यो नागरिकता नम्बर र त्यहाँ भएका विवरणसँग मेल खाने व्यक्ति अस्तित्वमै छैन। तर बैंक अकाउन्ट सक्रिय छ,” प्रहरी उपरीक्षक अवस्थीले भने, “यस्तो बैंक अकाउन्टबाट लाखौंको कारोबार भएको छ र अन्तिममा पीडकसम्म पुग्न ठुलो समस्या भएको छ।” 

यस्ता ‘गोस्ट अकाउन्ट’ ले बैंकिङ प्रणालीको सुरक्षा संयन्त्र माथि नै गम्भीर प्रश्न खडा गरेका छन्।

अनलाइन ठगीको स्वरूप झन्झन् जटिल बन्दै गएको छ। सप्तरीका सञ्जिव शर्मा फेसबुकमा आएको ‘घरमै बसेर दिनको हजारौं कमाउने’ विज्ञापनमा लोभिए। टेलिग्राम ग्रुपमा जोडिएपछि उनलाई विदेशी कम्पनीको प्रतिनिधि भन्दै सम्पर्क गरियो र काम गर्न बैंकको क्यूआर कोड मागियो। उनको खातामा आएको रकम अर्को खातामा पठाएवाफत ५०० रुपैयाँ कमिसन पाइने भनियो।

तीन लाख रुपैयाँ ट्रान्सफर गरिसकेपछि उनको खाता बन्द भयो । पछि खुल्यो, उनको खातामा आएको रकम एफवन सफ्टको बैंक खाता ह्याक गरेर चोरिएको पैसा थियो । १९ पुस २०८१ मा एफवन सफ्ट इन्टरनेसनलले २२ जनालाई प्रतिवादी बनाएर दायर गरेको मुद्दाले यो समस्याको गहिराइलाई अझ प्रष्ट पार्छ । सन् २०२४ को अक्टोबर महिनाको सुरुवाती चार दिनमा एफवन सफ्टको सिटिजन्स बैंकको खाताबाट तीन करोड ३९ लाख ५० हजार रुपैयाँ चोरी भएको थियो। यो रकम सञ्जिव जस्तै २२ जना ‘मनि म्युल’ को खातामा पुगेको थियो। यीमध्ये धेरैले अन्जानमा वा थोरै लोभमा आफ्नो खाता अरूलाई प्रयोग गर्न दिएका थिए।

साइबर ब्युरो र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्याङ्कले अनलाइन ठगीको ग्राफ उकालो लागिरहेको देखाउँछ। ब्युरोका अनुसार आर्थिक वर्ष २०७९/८० मा १८१५ उजुरी परेकोमा २०८०/८१ मा बढेर ४१३३ पुग्यो। आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या ७७२८ पुगेको छ भने चालू आर्थिक वर्षको चार महिनामै २४०० बढी निवेदन दर्ता भइसकेका छन्। 

त्यस्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्याङ्कले पनि अनलाइन माध्यमबाट हुने ठगी दिनानुदिन बढ्दै गएको देखाउँछ। कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा अनलाइन ठगीमा परेको भन्दै १,४५० निवेदन परेका थिए। त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा १,६६७ र आर्थिक वर्ष २०८१/८२ को चैत ३१ सम्म १,३९७ वटा निवेदन दर्ता भएका थिए।

चिठ्ठा परेको बहाना, पार्सल ट्याक्स, सस्तो सामानको अफर, फेसबुक ह्याक, वालेट ओटिपी चोरी, वैदेशिक रोजगारी र उत्तराधिकारी बनाउने जस्ता अनेकौं बहानामा सर्वसाधारण लुटिरहेका छन्। यी सबै अपराधमा एउटा कुरा समान छ, त्यो हो ‘भाडाका बैंक अकाउन्ट’। ठगले सिधै आफ्नो खाता प्रयोग गर्दैनन् । बरु सोझासिदा वा लोभमा परेका व्यक्तिको खाता प्रयोग गरेर रकम ओसारपसार गर्छन्। यो रकमलाई अन्तिममा क्रिप्टोकरेन्सी वा हुन्डीमार्फत विदेश पुर्‍याइन्छ।

यस्तो अवस्थामा नियामक निकाय नेपाल राष्ट्र बैंक र अनुसन्धान गर्ने प्रहरी प्रशासनको भूमिका के त? यसबारे टेकपानासँग कुरा गर्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले यसलाई गम्भीरतापूर्वक लिएको बताए। उनले भने, “मनि म्युलसँगै समग्र ‘डोर्मेन्ट अकाउन्ट’ (निष्क्रिय प्रायः खाता) हरूको सम्बन्धमा चालु आर्थिक वर्षको मौद्रिक नीतिको बुँदा नम्बर १२१ मा अध्ययन गर्ने भनिएको थियो। त्यो कुरालाई पालना गर्न अध्ययन भइरहेको छ।” 

मनी म्युल अकाउन्टले निम्त्याउने जोखिम र त्यसलाई नियन्त्रण गर्ने सन्दर्भमा पौडेलले भने, “यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थाले र हामी (राष्ट्र बैंक)ले नीतिगत व्यवस्थामा कडाइ गरेका छौं। खाता खोल्दा बायोमेट्रिक आईडी वा नेसनल आईडीलाई अनिवार्य गर्ने कुराहरू आएको छ। यसले गर्दा ‘युनिक आईडी’ हुने भयो र सही पहिचान हुन सक्ने भयो।”

प्रवक्ता पौडेलका अनुसार लामो समयदेखि निष्क्रिय रहेका खातालाई केवाईसी अपडेट गराउने र कमजोर कागजातका आधारमा खोलिएका शंकास्पद खाता बन्द गराउने काम भइरहेको छ। उनले भने, “यदि कुनै शंकास्पद, अलिकति युनिक खालको स्ट्रक्चर रहेका वा प्रहरीको सीआईबी लगायतका अनुसन्धान निकायको अनुसन्धानमा संलग्न भएका खातालाई रोक्का गर्ने वा बन्द गर्ने अभ्यास हामीले गरिरहेका छौं।” 

त्यसबाहेक खाता खोल्दा नै ग्राहकले वार्षिक कतिसम्म कारोबार हुन सक्छ भनेर अनुमानित विवरण भर्ने हुँदा त्यसैलाई आधार बनाएर शंकास्पद कारोबार निगरानी हुने गरेको पौडेलले सुनाए। “कसैले मेरो वार्षिक १० लाखको कारोबार हुन्छ भन्यो तर त्यो खातामा १० करोडको कारोबार भयो भने त्यो स्वतः शंकाको घेरामा पर्छ। बैंकले यसमा चासो राख्नुपर्छ,” पौडेलले भने। साथै उनले वित्तीय साक्षरताको अभाव नै मुख्य समस्या रहेको औंल्याउँदै आफ्नो खाता अरूलाई प्रयोग गर्न दिन नहुने चेतना फैलाउनु जरुरी रहेको बताए।

यता साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीको अनुभव भने अलि फरक र व्यवहारिक कठिनाइले भरिएको छ। बैंकको खाता खोल्ने प्रक्रिया मै कमजोरी रहेको उनको अनुभव छ। “रजिस्ट्रेसन प्रक्रिया बैंकमै हुने हो। त्यहाँ भेरिफाई गर्दाको पाटो एउटा भयो। यसलाई प्रविधिमैत्री कसरी बनाउने ? फेक नागरिकता लिएर आएको मान्छे त्यही हो कि होइन भन्ने कुरामा बैंकका कर्मचारी संवेदनशील भइदिनुपर्छ,” अवस्थीले भने। उनले विशेषगरी काठमाडौँ बाहिरका दुर्गम शाखा वा साना शाखामा चिनजानको भरमा वा विश्वासमै खाता खोल्दिने प्रवृत्तिले जोखिम बढाएको बताए। “कतिपय केसमा चिनजानको भरमा वा ‘सोझो मान्छे हो’ भनेर विश्वास गर्दा त्यही गल्ती हुन सक्छ। सजाय पाउने बेला त्यही सोझो मान्छे फस्छ,” उनले भने।

अवस्थीले बैंकिङ प्रणालीमा ‘अलार्म सिस्टम’ को आवश्यकतामा जोड दिए। उनले भने, “खाता खुलिसकेपछि उसको केवाईसीमा ५ लाखको कारोबार हुन्छ भनिएको होला, तर दिनमै २०-३० लाखको कारोबार भइरहेको हुन्छ। त्यो कुरा मोनिटरिङ गर्ने काम हाम्रो बैंकिङ सिस्टममा हुनुपर्‍यो । एउटा ‘अलार्म सिस्टम’ राख्नुपर्‍यो जसले गर्दा अस्वाभाविक गतिविधिलाई तुरुन्तै सम्बोधन गर्न सकियोस्।” उनले बैंकका फ्रन्ट डेस्कमा बस्ने कर्मचारीको भूमिका पनि महत्त्वपूर्ण हुने बताए। “कर्मचारीले ‘तपाईंले यो अरूलाई दिनुभयो भने भोलि कानुन अनुसार फस्न सक्नुहुन्छ’ भनेर स्पष्ट भनिदिने हो भने पनि धेरै मान्छे डराउँछन् र अपराध रोकिन सक्छ,” अवस्थीले भने। उनले एकै व्यक्तिको नाममा छोटो समयमा विभिन्न बैंकमा १८-२० ओटा खाता खोलिएको र ती सबैमा उच्च कारोबार भएको देखिँदा पनि एकीकृत निगरानी प्रणाली नहुँदा ठगी मौलाएको बताए।

यस जटिल समस्याको प्राविधिक समाधान के हुन सक्छ? फिनटेक विज्ञ एवं ‘फिनटेक काठमाडौँ’ का संस्थापक सञ्जिव सुब्बाले यसलाई अहिलेको बैंकिङ क्षेत्रको सबैभन्दा ठुलो ‘टाउको दुखाइ’ को विषय भएको बताए। “यो म्युल अकाउन्टको समस्या एकजनाको मात्र होइन, यो समग्र इन्डस्ट्रीको समस्या हो,” सुब्बाले टेकपानासँग भने, “यसका लागि ट्रयाकिङ गर्ने एउटा सिस्टम आउनुपर्‍यो। यो धेरै महँगो वा जटिल सिस्टम पनि होइन, यसलाई ‘एफआरएम’ (Fraud Risk Management) वा रुल बेस्ड इन्जिन भनिन्छ।”

सुब्बाले म्युल अकाउन्ट सञ्चालन हुने प्रवृत्तिबारे चर्चा गर्दै भने, “ठगले कसैलाई ठगेर ओटीपी लिएपछि पीडितको खाताबाट पैसा निकाल्छ। त्यो पैसा सिधै अपराधीको हातमा पुग्दैन, पहिले एउटा म्युल अकाउन्टमा जान्छ। त्यहाँबाट ५-१० मिनेटभित्रै चार-पाँच ओटा लेयरिङ हुँदै विभिन्न बैंकका खातामा घुम्छ र अन्तिममा क्यास आउट हुन्छ। अपराधीले ट्र्याक गर्न नसकियोस् भनेर यो बाटो अपनाउँछ।” यो तीव्र गतिको कारोबारलाई मानिसले म्यानुअली हेरेर रोक्न सम्भव नहुने उनको भनाइ छ। “यसका लागि हामीलाई ‘म्युल अकाउन्ट ट्र्याकर’ चाहिन्छ जुन एआई वा डेटा एनालिटिक्समा आधारित हुन्छ। यदि मेरो एफआरएम इन्जिन राम्रो छ भने, त्यसले कारोबारको आकार र फ्रिक्वेन्सीको आधारमा रियल टाइममै शंकास्पद खातालाई फ्ल्याग गर्न वा रोक्न सक्छ,” सुब्बाले थपे।

तर, एउटा बैंकले मात्र यो सिस्टम ल्याएर नपुग्ने उनी बताउँछन्। उनका अनुसार यो समस्या समाधानका लागि ‘केन्द्रीकृत प्रणाली’को आवश्यकता छ। “मेरो बैंकबाट पैसा निस्किएर अर्को बैंकमा गएपछि त्यो मेरो अधिकार क्षेत्र भन्दा बाहिर जान्छ। अर्को बैंकको खाता बिना कारण रोक्न कानुनी जटिलता हुन्छ। त्यसैले सबै बैंक र वित्तीय संस्थाको डेटा एकीकृत गरेर हेर्न मिल्ने संयन्त्र चाहिन्छ,” उनले भने। उनले भारतको उदाहरण दिँदै भने, “रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) र एचडीएफसी बैंकले यस्तो म्युल अकाउन्ट ट्र्याकर बनाइसकेका छन्। नेपालमा पनि नेपाल क्लियरिङ हाउस लिमिटेड जस्तो संस्था जससँग प्राविधिक क्षमता र विश्वास दुवै छ, उसले यो जिम्मेवारी लिएर ‘इन्डस्ट्री लेभल’ को फ्रड ट्र्याकिङ इन्जिन बनाउन सक्छ।”

उनले अगाडि थपे, “यदि म्युल अकाउन्ट ट्र्याकर जस्तो सिस्टम बन्यो भने बल्ल हामी वास्तविक फिनटेकको दिशामा अघि बढ्छौं,” उनले भने। उनले सरकारले समिति वा संयन्त्र बनाउनु राम्रो भए पनि अन्ततः प्रविधि बिना यो अपराध रोक्न असम्भव रहेको जिकिर गरे। “ठगिएको पैसा फिर्ता ल्याउनुभन्दा ठगिनै नदिनु वा सिस्टममै रोक्नु राज्य र बैंक दुवैका लागि फाइदाजनक छ,” उनले सुनाए।

(टेकपानाबाट)