मणिलाल विश्वकर्मा

लहान, १९ मंसिर। सिरहाको लहान नगरपालिका १२ पडरिया थारुटोलस्थित श्री माविको चारकोठे दुईतले नवनिर्मित भवनको उद्घाटन भएपछि दैनिक पठनपाठन सहज भएको छ।

लहानका नगर प्रमुख महेशप्रसाद चौधरीले शुक्रबार आयोजित समारोहबीच रिबन काटेर भवनको उद्घाटन गर्दै विद्यार्थीहरुका लागि सुरक्षित वातावरणमा पढ्न पाउने अधिकारका लागि नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए।

पूर्वपश्चिम लोकमार्ग खण्डमा पर्ने लहानको नमूना विद्यालयको रुपमा विकास गर्ने गरी संघीय सरकारसँगको साझेदारीमा भवन निर्माण गरिएको उनले बताए। उनका अनुसार गरिब र विपन्न परिवारका विद्यार्थी पढ्ने ११ वटा सामुदायिक विद्यालयमा गत आर्थिक वर्ष २०८१/०८२ देखि स्टेशनरी वितरण भइरहेको छ। ‘चालु आर्थिक वर्षदेखि नगरका ५९ वटै विद्यालयमा पढ्ने हरेक विद्यार्थीलाई स्टेशनरी सामान दिँदैछौं,’ उनले भने।

लहान १२ का वडाध्यक्ष बद्रीनारायाण चौधरीले नगरपालिकाको निरन्तरको सहयोगले विद्यालय भौतिक पूर्वाधार, शैक्षिक गतिविधि र पढाइमा अब्बल बन्दै गएको बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेदीलाल चौधरीले नगरको सहयोगमा विद्यालयले अंग्रेजी तथा नेपाली माध्यममा पढाई शुरु गरेपछि आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाइरहेका अभिभावकहरु पनि छोराछोरीको भनाइका लागि यहाँ आउन थालेको बताए।

विद्यालयका प्रधानाध्यापक मनोजकुमार यादवका अनुसार संघीय सरकार र नगरपालिकाको साझेदारीमा ५५ लाख ९६ हजार सात सय ६५ रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो। काठमाडौंस्थित रोशन राजु कन्सट्रक्सन कन्सल्टेन्सी एण्ड सप्लायर्सले गत फागुनदेखि निर्माण थालेको भवन करिब १० महिनाको अवधिमा सम्पन्न भएको नगरपालिकाका इञ्जिनियर धिरेन्द्रकुमार राउतले जानकारी दिए।