काठमाडौं, २७ भदौ। जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई वार्ताका लागि भन्दै शीतलनिवास बोलाएर कुराएको कुरायै राखिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न भन्दै शीतलनिवास बोलाइएका उनी अहिलेसम्म भेटका लागि प्रतीक्षारत छन्। ९ घण्टाको प्रतीक्षामा पनि भेट नपाएको गुनासो उनले गरेका छन्।
सुदनले कुनै कर्मचारी वा मध्यस्थकर्ताहरूसँग कुरा नगर्ने, राष्ट्रपतिसँग सिधै भेट्ने र एकल छलफल पनि अस्वीकार गर्ने अडानमा दृढ रहेको सामाजिक सञ्जालमा लेखेका छन्।
उनले जेनजी टोली र यस आन्दोलनको आवाज सँगै उपस्थित हुनुपर्ने भनेका छन्।
जेनजीका विभिन्न समूहका प्रतिनिधिका रूपमा सुदन गुरुङलाई आज शीतलनिवास बोलाइएको थियो।
जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारेको छ।
कार्कीले पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद् विघटन र आन्दोलनमा भएको दमनको छानबिनलाई मुख्य सर्त बनाएकी छन्।
जेनजीको माग, मर्म र भावनाअनुसारको मार्गचित्रमा काम गर्न नपाउने हो भने आफू प्रधानमन्त्री नबन्ने अडान राखेर गएराति उनी शीतलनिवासबाट निस्किएकी थिइन्।
अब जेनजीसँगै वार्ता गरेर निर्णयमा पुग्न पनि उनले भनेकी छन्।
संसद् विघटन नगर्न पुराना राजनीतिक दल, संघीय संसद्का दुवै सदनका प्रमुखहरूको दबाब छ। आजै मात्र सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिले लिएको अडानको पक्षमा आफूलाई उभ्याएका छन्। र, संविधानभित्रैबाट समाधान खोज्न भनेका छन्।
हालको संविधानमा संसदबाहिरबाट प्रधानमन्त्री चयन गर्ने व्यवस्था छैन। संसद्को बहुमत प्राप्त गर्न सक्ने सांसद वा पहिलो संसद्ीय दलेको नेता मात्र प्रधानमन्त्री बन्ने व्यवस्था संविधानको धारा ७६ मा छ।
(नेपालखवरबाट)