काठमाडौं, २६ भदौ। ललितपुरको नख्खु कारागारबाट भागेका सञ्जय साह ‘टकला’लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले काभ्रेबाट पक्राउ गरेको हो। जनकपुरबाट काठमाडौं फर्किंदै गर्दा प्रहरी चेकिङको क्रममा उनी पक्राउ परेका हुन्।

जेनजी प्रदर्शनकारीले नख्खु कारागार घेरेर भदौ २४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई निकालेका थिए। सो क्रममा टकला पनि जेलबाट फरार भएका हुन्।

टकलाई अहिले धुलिखेलमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एक जना अधिकृतले बताए। १२ वर्ष देखी नख्खु कारागारमा रहेका साह पूर्व राज्यमन्त्री हुन्।

अदालतले उनलाई जन्मकैदको सजाय गरेको छ। २०६९ वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जानेगरी भएका बम विष्फोटको घटनामा उनी मुख्य अभियुक्त हुन्।