सिरहा नगरपालिका–१३ का स्थित एक सार्वजनिक कार्यक्रममा चैत २३ मा पूर्वमन्त्री एवं सांसद श्रेष्ठसँग रातो घेरामा वडाध्यक्ष साह
विनाय आजाद
सिरहा, १० बैशाख। आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा सिरहा नगरपालिका-१३ का वडाध्यक्ष सचिन भन्ने सर्भेन्द्र साहसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको महिना दिन बित्न लाग्यो। तर प्रहरीले पक्राउ गरेको छैन।
उच्च अदालत, राजविराजको परमादेश अनुसार आपराधिक उपद्रब, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा उनीहरूविरुद्ध चैत १३ मा जिल्ला प्रहरी कार्यालय, सिरहामा मुद्दा दर्ता भएको थियो। तर, मुद्दा दर्ता भएको झन्डै एक महिना भए पनि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छैन।
अदालतले चैत १७ गते नै वडाध्यक्ष साहसहित दुखी महतो, पञ्चलाल महतो, सोगारथ महतो, अमन महतो, रामदिनेश यादव, सतिश यादव, जीवछ महतो, सोभित महतो, खुशीलाल महतो, पाण्डब महतो, प्रकाश महतोविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले भने घटनाको अनुसन्धान भइरहेको र आवश्यकता बमोजिम कदम चालिने बताए। ‘म आउनुअघि नै यो मुद्दा दर्ता भएको हो, प्रहरीले गर्नपर्ने काम गरिरहेको छ, अनुसन्धान हुँदैछ,’ शर्माले कान्तिपुरसित भने, ‘हामीले आवश्यकता बमोजिम कदम चालिहाल्छौं ।’
सिरहा नगरपालिका-१३, फुलबरियाका ६६ वर्षीय रामसेवक भण्डारीले २०८० पुष २२ मा आफ्नो जग्गामा बार लगाउन खोज्दा उनीहरूले आफूसहित घरका सदस्यलाई दुर्व्यवहार गर्दै घरमा आगो लगाइदिएको, घरमा भएका सुनचाँदीसहितका सामान लुटपाट गरी ५० लाख रुपैयाँको क्षति पुर्याएको भन्दै उच्च अदालत राजविराजमा रिट निवेदन दिएका थिए।
त्यसअघि घटनालगत्तै उनी जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराउन गएका थिए। तर, पटकपटक गुहार्दा पनि प्रहरीले जाहेरी दर्ता नगरिदिएपछि उनी २०८१ असार २१ मा परमादेशका लागि रिट निवेदन लिएर उच्च पुगेका थिए । यो विवाद हुनुअघि पनि आफ्नो निजी जग्गामा बार लगाउन खोज्दा वडाध्यक्ष साहले पूर्वाग्रह राखेर अवरोध गरेको र त्यसपछि अदालतबाट आदेश ल्याएरै गर्दा पनि उनले हुल ल्याएर आफ्नो परिवारमाथि आक्रमण, घरमा आगजनी र लुटपाट गरेको भण्डारी सुनाउँछन् ।
तर, राजनीतिक संरक्षणका कारण उनीहरूलाई अहिलेसम्म केही हुन नसकेको तथा पक्राउ पुर्जी जारी भए पनि प्रहरीले उनीहरूलाई पक्राउ गर्न आनाकानी गर्दै आएको भण्डारीको गुनासो छ।
‘उनीहरूलाई ठूला नेताको संरक्षण छ, त्यसैले प्रहरीले आनाकानी गर्दै आएको छ,’ उनले प्रश्न गरे, ‘हामी त सामान्य मान्छे हौं, न्यायका लागि अब कसलाई गुहारौं?’
कतिसम्म भने आफूमाथि पक्राउ पुर्जी जारी भए पनि वडाध्यक्ष साह पूर्वकानून मन्त्रीसमेत रहेका प्रतिनिधिसभा सांसद एवं एमाले नेता लिलानाथ श्रेष्ठ जिल्लामा हुँदा उनीसँगै सार्वजनिक कार्यक्रमहरूमा देखिने गरेका छन् । श्रेष्ठ नहुँदा पनि उनी खुलेआम छन्। तर प्रहरीले भने उनलाई पक्राउ गर्न चासो दिएको छैन।
प्रहरी स्रोतका अनुसार, वडाध्यक्षसहित यो मुद्दामा पक्राउ पुर्जी जारी भएकाहरूलाई पक्राउ नगर्नका लागि उनै सांसद श्रेष्ठ र सिरहाका मेयर नवीन कुमार यादवले दबाब दिँदै आएका छन् । ‘सांसद र मेयरज्यूले पक्राउ गरे राम्रो हुन्न भन्दै आउनुभएको छ,’ एक प्रहरीले भने, ‘उहाँहरूले कानूनी कुरामा सहयोग गर्नुको साटो उल्टै पक्राउ गरे ठीक हुन्न भनेर धम्काउँदा स्वभाविक रूप गाह्रो भइहाल्छ ।’
यस विषयमा पूर्वमन्त्री एवं सांसद श्रेष्ठलाई ‘फौजदारी मुद्दाका प्रतिवादीलाई कानूनमन्त्री भइसकेको मान्छेले संरक्षण गर्न मिल्छ ?’ भन्ने प्रश्न गर्दा उनले आफूसँग कुरा गर्ने समय नरहेको प्रतिक्रिया दिए । ‘कतिपय मुद्दा चल्ने र कतिपय नचल्ने खालका पनि हुन्छन्, कुनै कार्यक्रममा कोही मान्छे मसँगै देखिनु मेरो गलती होइन,’ उनले भने, ‘यस्तो विषयमा कुरा गर्ने समय मसँग छैन ।’
सिरहाका मेयर यादवले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । वडाध्यक्ष साहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।
(कान्तिपुरबाट।)