सप्तरी, ३ चैत।पछिल्ला केही दिनदेखि निरन्तर स्वास्थ्यसंस्थाहरुको अनुगमन अभियान चलाई रहेका मधेशका मुख्य मन्त्री सतिश कुमार सिंहले आज आफ्नै गृह जिल्ला सप्तरीका स्वास्थ्यसंस्थाहरुको अनुगमन गरेका छन्। स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिरहेको पाइएपछि सप्तरी सदरमुकाम राजविराजस्थित प्रसूति तथा स्त्रीरोग क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न निर्देशन दिइएको छ।
मुख्यमन्त्री सिंहले राजविराजमा आइतबार गरेका स्वास्थ्य संस्था अनुगमनक्रममा एकथरी अनुमति र अर्कोथरी सञ्चालनमा रहेको प्रसूति तथा स्त्रीरोग क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरलाई बन्द गर्न निर्देशन दिएका हुन्।
प्रसूति तथा स्त्रीरोग क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरले स्थानीय तहबाट क्लिनिक सञ्चालन अनुमति लिए पनि शैय्या राखी इमेजिङ तथा शल्यक्रियासहितको सुविधा उपलब्ध गराउँदैआएको छ। यस्तो सुविधासहितको स्वास्थ्य सेवा सञ्चालन गर्न पोलिक्लिनिकका रूपमा प्रदेश सरकारबाट सेवा सञ्चालन अनुमतिपत्र लिने प्रावधान छ।
यस्तै राजविराजमा सञ्चालन हुँदैआएको भारती इमेजिङ सेन्टरलाई बन्द गर्न निर्देशन दिइएको छ। सेन्टरसँग सेवा सञ्चालन गर्ने अनुमतिपत्र नरहेकाले मुख्यमन्त्री सि
सिंहले बन्द गर्न निर्देशन दिएको प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले बताए।
यसैगरी, स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमतिपत्र प्राप्त गरेका तर मापदण्ड पुरा नगरेका अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र मापदण्ड पुरा गर्न निर्देशन दिइएको छ। सेवा सञ्चालन अनुमति प्राप्त गरेको ५० शय्याको युनिक सिटी अस्पताललाई दुई महिनाभित्र नवीकरण गराउन भनिएको छ।
यसैगरी दुई सय शय्याको छिन्नमस्ता अस्पतालको अवस्था सन्तोषजनक पाइए पनि सरसफाइ व्यवस्थापनमा थप जोडबल गर्न मुख्यमन्त्री सिँहले निर्देशन दिएका छन्।
मुख्यमन्त्री सिँहले गजेन्द्रनारायण सिँह अस्पतालसमेतको अनुगमन गरेका छन्। अनुगमनक्रममा अस्पतालको सेवाको गुणस्तर बढाउन तथा उचित जनशक्ति व्यवस्थापनमा ध्यान दिन मुख्यमन्त्री सिँहले अस्पताल प्रशासनको ध्यानाकृष्ट गराएका छन्।
संघ सरकार मातहत सञ्चालित गजेन्द्रनारायण सिँह अस्पतालमा आकस्मिक कक्षमा मेडिकल अफिसर नरहेका, बिदा स्वीकृतिबिना केही जनशक्ति कार्यस्थलमा नभेटिएका र ल्याबको आम्दानीमा ५० प्रतिशतभन्दा बढी कमी आएको जस्ता समस्या देखिएका छन्।
मुख्यमन्त्री सिंहले सो अस्पतालमा जनशक्ति व्यवस्थापन, सेवा थप र उपकरण उपलब्धता आदिका विषयमा संघीय स्वास्थ्य मन्त्रीसँग समेत कुरा गर्ने बताए।