• इन्द्र अधिकारी

अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेता रेखा थापाको भनाइ अहिले सामाजिक सञ्जालमा व्यापक चर्चामा छ । उनी भन्छिन्– ‘कुनै पनि बच्चा जन्मिनेबित्तिकै ऊ देशको शासक, कार्यकारी बन्ने अधिकारसहित जन्मन्छ, हरेकमा आफू स्वतन्त्र र मालिक बन्ने विधि हो– गणतन्त्र । मैले न भाषा बोलिराछु, म (राप्रपाभन्दा पनि) रेखा थापाका रूपमा बोलिराछु । पार्टीको सिद्धान्त सबैलाई मन पर्छ भन्ने पनि छैन ।’ उनी जुन पार्टीमा छिन्, त्यो दल राजतन्त्रवादी भनेर चिनिन्छ ।

कमल थापा झन्डै १८ वर्ष यसको पार्टी अध्यक्ष थिए । गणतन्त्रमै राजकाजमा रमाएर राजतन्त्र पुनःस्थापनाको मुद्दा छोड्यो भनेर राजेन्द्र लिङ्देनबाट ज्ञानेन्द्र शाहले उनलाई प्रतिस्थापन गराए । र, अरू पुरानामध्येका पशुपतिशमशेर राणा, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी र केशरबहादुर विष्टजस्ता हस्तीसमेत शाहको रोजाइमा नपरेपछि नयाँ परिवेशमा फरक भरिया खोजी भएको बुझ्न कठिन छैन । रेखाको यो भनाइ राजावादीहरूले ज्ञानेन्द्र शाहलाई पुनःस्थापित गर्ने हल्ला र शाहले आफूलाई सहयोग गर्न गरेको अपिलपछि चर्चामा आएको छ, जुन अत्यन्तै समय सान्दर्भिक छ ।

राजतन्त्र भनेको केवल एक थान राजा र रैतीको मात्र होइन, प्रणालीको कुरा हो । राजा हुँदा नागरिकको आफ्नो अभिभावक या शासक छान्ने अधिकार वञ्चित हुन्छ । जुनसुकै गुण या बैगुण भए पनि राजाकै सन्तानले मात्र शासक हुने हो । शक्तिको केन्द्रमा राजा हुँदै गर्दा शक्तिको प्रभाव र वितरण उनकै वरिपरि अर्थात् ‘कोर’ मै घुमिरहन्छ । अलिक पर अर्थात् ‘पेरिफेरि’ सम्म पनि आइपुग्दैन । राजासँग सम्बन्ध, निकटता र विश्वासको तह र नश्लीय वा वर्गीय हैसियतअनुसार हुने, तिनैबाट राजा घेरिने, यस्तो हैसियतका मानिसका समूहहरू बन्ने, राजा रिझाउन आपसमा प्रतिस्पर्धा गर्ने र राजाको शक्तिको उपयोग र दुरुपयोग गर्ने आम चरित्र हो ।

राजसंस्थामा शक्तिको फाइदा सानो कोटरीका भारदारलाई मात्र हुन्छ । जनता सबै अधिकारबाट वञ्चित हुन्छन् । तसर्थ राजाको आसपास रहेर फाइदा लिएका, सबैको अधिकार एकलौटी उपभोग गरेका, हुकुम प्रमांगीबाटै स्थापित सानो समूह गणतन्त्रमा विस्थापित भएपछि त्यो दबदबा, सान, हुंकारको धङधङी बाँकी रहनु र फेरि शाहलाई अघि लाउन खोज्नु अन्यथा होइन ।

सिद्धान्ततः लोकतन्त्र ठीक यसको विपरीत हो । लोकतन्त्रमा हरेक तहका कार्यकारी र व्यवस्थापकीय जिम्मेवार जनप्रतिनिधि हुन्छन् । तिनीहरू नियमित जनमतमा जान्छन् र वैधता प्राप्त गर्छन् । विधि र प्रतिस्पर्धाबाट अवसरहरूको वितरण हुन्छ । विधि र कानुनबाट शासन चल्छ । राज्य र कानुनका नजरमा सबै समान हुन्छन् र यो सबै प्रक्रियाको केन्द्रमा जनता रहन्छन् । विचार र सिद्धान्त मिल्ने मानिस संगठित हुने, आन्तरिक निर्वाचनबाट दलको नेतृत्व छान्ने, दलहरूबीच र मार्फत प्रतिस्पर्धा गर्ने र जिम्मेवारी लिने परिपाटी लोकतन्त्रमा हुन्छ ।

राजसंस्थाको अन्त्य भइसकेकाले त्यता बहसमा जानै परेन तर के राजनीतिक दलहरू राजसंस्थाको चरित्रभन्दा भिन्न र लोकतन्त्रको चरित्र विकास र अनुसरण गर्दै आइरहेका छन् त ? लोकतन्त्रको मुख्य विशेषता पारदर्शिता, जवाफदेहिता र विधिको शासन मुख्य हो । तर देश त्यसरी अघि बढेको छ त ? राजतन्त्र फालेर गणतन्त्र ल्याएका जनताले दलभित्र र त्यसमार्फत अनुभूत गर्न पाएका छन् त ? परिवर्तनकारीहरूले प्रजाबाट जनता हुनुको मान, महत्त्व र मूल्य बुझाएका र अनुभूत गराउन सकेका छन् त ? यी आजका यक्ष प्रश्न हुन् । रेखा थापा पुस्ताले रोजेको र नयाँले खोजेको गणतन्त्र यहाँनेर हो ।

प्रणाली र प्रवृत्तिमा विरोधाभास

प्रणाली स्वचालित हुँदैन, त्यसलाई सञ्चालन गर्ने व्यक्ति वा नेतृत्वले हो । जब नेतृत्व नयाँ प्रणालीलाई राजनीतिक अवसरवाद र उपयोगितावादका रूपमा प्रयोग गर्छन् र परिवर्तनलाई ग्रहण र आत्मसात् गर्दैनन् भने प्रणाली परिवर्तनको तात्विक अर्थ र औचित्य पुष्टि गर्न कठिन हुन्छ ।

राजनीतिक दल लोकतन्त्रका मेरुदण्ड हुन् । तीनै तहमा कार्यकारी (मन्त्रिपरिषद्), व्यवस्थापिका (संसद्) र तिनको नेतृत्व निर्वाचित हुने पनि दलबाटै हो । त्यसैले दल स्वयं कति आन्तरिक लोकतन्त्रको अभ्यास गर्छन् ? दल कति नीति, सिद्धान्त र पद्धतिमा चलेका छन् ? दलभित्र जिम्मेवार नेताहरूले परिवर्तनको परिणामलाई कति अपनत्व लिएर र आत्मसात् गरेर अगाडि बढेका छन् ? दलमा कति पारदर्शी र लोकतान्त्रिक हिसाबले नेतृत्व चयन हुन्छन् ? नेतृत्व कति लोकतान्त्रिक हिसाबले चल्छन् ? उनीहरू कति दूरदर्शी, प्रतिबद्ध, नम्र र नैतिक, अनुशासित र जनपक्षीय छन् ?

भन्नेजस्ता मापदण्डले लोकतन्त्र कति उन्नत छ भन्ने कुराको मापन हुन्छ । तर नेपाली राजनीतिक दल, नेता र कार्यकर्तासमेतलाई ठाडो र तेर्सो दुवै कोणबाट विश्लेषण गर्दा पनि देशमा समाज र राजनीति परिवर्तनको ठूला—ठूला कुरा गर्ने, अरू सबै परिवर्तन भइदिनुपर्ने तर आफू हुन नचाहने देखिन्छ । उनीहरूलाई सुनिदिनु र बुझिदिनुपर्ने तर उनले अरूलाई सुन्नु–बुझ्नु नपर्ने प्रवृत्ति छ ।

तिनलाई सबैलाई मानिदिनुपर्ने तर तिनले अरू कसैलाई नमान्नेजस्ता प्रवृत्ति र अभ्यास नेपाली राजनीतिको साझा चरित्रका रूपमा विकसित भएका छन् । दलहरू धेरैजसो नीति, नियम र सामूहिक निर्णयभन्दा नेतृत्वको निर्देशनबाट चल्छन् । यो अभ्यास केन्द्रीयदेखि स्थानीय नेता/कार्यकर्ताको तहसम्म छ । यस्तो पाखण्डी प्रवृत्ति दल र राजनीतिमा रहँदासम्म कुनै पनि प्रणालीमा जनअपेक्षा र भावनाको सम्बोधन सम्भव छैन ।

साथै, उमेरमा परिपक्वता, दलमा संलग्नताको अवधिका आधारमा ‘बा’ र ‘दाइ’ जस्तो संयुक्त परिवारका पुस्तामा झैं पदानुक्रम र स्तरीकरणअनुसार दलमा शीर्षस्थान वा नेतृत्व मान्ने नेपाली अभ्यास छ । यस्तो संस्कारको अवशेषसमेत पनि यो प्रणालीसम्मत होइन । यो संस्कार र परम्पराले एउटा जीवन्त रहनुपर्ने दलमा औचित्यपूर्ण, तर्कपूर्ण, तथ्यगत र वस्तुनिष्ठ बहसको सट्टा नेतृत्वको आसक्ति, आशय, अभिप्राय, आदेश र आशीर्वादबाट दलको निर्णय र सञ्चालन गर्ने अभ्यासको विकास गर्छ ।

विचार, निष्ठा, योजना, कार्यक्रम, नीति, छवि र आदर्श, निष्ठा, त्याग र योगदान वा समर्पणजस्ता कुरा नेता–कार्यकर्ताका लागि गौण हुँदै जान्छन् । स्वच्छ प्रतिस्पर्धाको वातावरण हुँदैन र नयाँ नेतृत्व निर्माण सम्भव हुँदैन । वरिष्ठ जीवित रहँदासम्म उसको मियोमा दल ‘बा’, ‘दाइ’ हुँदै म्युजिकल चेयरझैं तहगत र रोलक्रमअनुसार गोलचक्करमा घुमिरहन्छ ।

राज्यले वृद्ध भत्ता उपलब्ध गराइसक्दा पनि दल र संगठनभित्र अवसर नपाएका सबै युवा नेता रहिरहने व्यवस्था बन्छ । यस्तो परम्परा, संस्कार र संयन्त्र नयाँ कोही राजनीतिमा आउन वा नेता बन्न अभिप्रेरित हुनेका लागि पनि राजनीतिक, संरचनागत र मनोवैज्ञानिक रूपले नै बाधक देखिन्छ । दलको नेतृत्व आफैं लिनुपर्ने, प्रतिस्पर्धी ढंगले उत्तराधिकारी जन्माउन र हुर्काउन असुरक्षित ठान्ने, बाध्यता आइपरे आफ्नै कब्जाभित्रको, सके र भएसम्म विरासतबाट अगाडि सार्ने, आफ्नै बलबुताले संघर्ष गर्दै अघि बढेका वा क्षमता बनाएका प्रतिस्पर्धीलाई पत्तासाफ गर्ने अभ्यास ‘नेपाली फ्लेभरको’ राजनीतिक संस्कारका रूपमा स्थापित भएको छ । ‘बुरी नजरवाले, तेरा मुह काला’ जस्तो हिन्दी सडक साहित्यको मनोविज्ञान हरेक दलको नेतृत्वमा हाबी छ । नेतृत्वसँगै स्वर्गारोहणको यात्रा तय गर्न पछि पर्दैनन् ।

यो कुरा मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, सूर्यबहादुर थापा, गजेन्द्रनारायण सिंह पार्टी प्रमुखकै मृत्युवरण गरेको इतिहासले भन्छ । अहिलेका पुराना ठूला दलका ओली, देउवा, दाहाल, नेपाल, हुन् वा नयाँका यादव, चौधरी, रावत, लामिछाने अथवा साना दलका बिजुक्छे, केसी, वैद्य, मैनाली, चन्द, सिंह आदि सबै दलका नेता जीवनोपरान्त नेतृत्वमा हत्याउने र टिक्ने चिन्तनमा छन् । सारा शक्ति, समय, सामर्थ्य र सञ्जाल त्यसकै परिचालनमा खर्चिन लागिपरेको प्रस्ट देखिन्छ । यो संस्कृतिले एकातिर देशको आवश्यकताअनुसार राजनीतिज्ञमा राष्ट्रिय नेता वा राजनेता बन्ने ‘एजेन्सी’ जन्मन र ‘ग्राउन्ड’ वातावरण बन्न दिएन ।

सबैले एकअर्कालाई नंग्याए र एक–एक नांगिए गुमेको आस्था र विश्वास फिर्ता ल्याउने अवस्था छैन । कार्यकर्ता तहमा आफूले मिहिनेत गर्ने र नेतृत्व विकास गर्नेभन्दा पनि वर्तमान नेतृत्व रिझाएर अवसर सुनिश्चित गर्ने संस्कार बन्यो । अहिले कांग्रेसमा केही हदसम्म बाहेक अन्य कुनै पनि दलमा नेतृत्वलाई प्रश्न नगर्ने मात्र होइन, घर पुगेर ज्यूहजुरी गर्नेदेखि सञ्जालमा समेत जयजयकार गरेर नेतृत्वनिकट पुग्ने होड चलेको छ । प्रश्न गर्ने जिम्मेवार र जवाफदेही बनाउने र सिर्जनशील पृष्ठपोषण र रायसल्लाह दिने हिम्मत र हैसियत विकास भएन ।

यसले राजनीतिक दलहरूलाई सिर्जनशील र समय सान्दर्भिक बनाउँदैन । कार्यकर्तालाई भुत्ते र भतुवा बनाउँछ । न सरकार प्रभावकारी हुन दिन्छ । परिणाम, आफ्नै दलको सरकारमै भए पनि विधिसम्मत कामकारबाही गर्न, व्यवस्थापन र कार्यान्वयन गर्न नसक्ने, बाहिरबाट सुझाउन र सघाउन नसक्ने तर आन्दोलन र विरोध मात्र गर्न सक्ने विद्यार्थी संगठन र प्रतिपक्षको चरित्र र भूमिकामा सीमित रहने दलहरूको हैसियत बन्यो । त्यसको असर नागरिक र समाजको तहमा मात्र होइन, प्रणाली र व्यवस्थासम्म देखियो ।

राजनीतिक सामाजिकीकरण र परिचालन

राजनीतिलाई, सभ्य, सुसंस्कृत, सारभूत बनाउन र परिवर्तनलाई संस्थागत र सुदृढ गर्दै जानका लागि पुरातन अभ्यास, सोच र संस्कारबाट माथि उठेका परिस्कृत र परिमार्जित जिम्मेवार व्यक्तिको मुख्य आवश्यकता र भूमिका हुन्छ । परिवर्तनका लागि विचार, निष्ठा, आदर्श, संघर्ष र त्यागको राजनीति गरेका अधिकांश पहिलो पुस्ताका राजनीतिज्ञको देहावसान भइसकेको छ । दोस्रो पुस्ताका धेरैजसो नेता वैचारिक रूपले अस्पष्ट, विभक्त, निष्ठाहीन, गन्तव्यविहीन, दिशाहीन, गतिहीन र आचरणका दृष्टिले अति उपयोगी र अवसरवादी देखिन्छन् ।

पछिल्ला र तेस्रो पुस्ता यही दोस्रो पुस्तामा आश्रित, तीबाट प्रशिक्षित, प्रभावित र सामाजिकीकरण भएकाले राजनीतिलाई सेवाभन्दा पेसाका रूपमा अनुसरण गर्दै गरेको अहिलेको अवस्था हो । चौथो वा नवयुवा पुस्ता राजनीतिक सिद्धान्त र संस्कारका दृष्टिले अधिकांशतः गैरराजनीतिक चेतका तर काँचो माटोजस्ता देखिन्छन् । जो सुसंस्कृति र सुविचारित नेतृत्वको संगत, राष्ट्रिय शक्तिको स्रोत र अवसरवादीको चंगुलमा परे अराजक जत्थाका रूपमा परिणत हुन सक्छ ।

अबको राजनीतिको लय र भविष्य यही पुस्तालाई दिने राजनीतिक शिक्षामा भर पर्छ । तर नेताहरूले नै रोजी–खोजी छानेका कार्यकर्ताबाट नेतृत्व चुनिने गरी निर्माण गरेको अहिलेको दलको संरचना, निर्वाचन, सदस्यता वितरण, सहभागिता प्रक्रिया र अभ्यास पाकाहरूको सिन्डिकेटभित्र छ ।

दशकौंदेखि दलहरूमा नयाँ नेतृत्व विकास भएको छैन । देलान् र पाउँला भनेर दोस्रो पुस्ता पालो कुरिरहेको देखिन्छ । आन्दोलनले जन्माएका एकाध व्यक्तिले दलमा नेतृत्व गर्ने अवसर पाउँदैनन् र बाहिरबाट कोही पनि नेताका रूपमा दलमा छिर्न र ठाउँ बनाउन सम्भव छैन । यो जडलाई उथलपुथल गर्न सक्ने वैकल्पिक शक्ति दलभित्र र बाहिर अहिलेसम्म देखिँदैन । देश र दलभित्र विकसित यो घनचक्करले कुनै पनि दलका स्थापित नेतृत्वलाई राजाजस्तै चुनौतीरहित र स्वेच्छाचारी बनाएको छ ।

यस्तो सिन्डिकेटमा कार्यकर्ताहरू एउटा नेताको पुच्छर नसमाती दलमा ठाउँ र अवसर पाउन सम्भावना छैन । त्यसैले गुटहरू मौलाएका छन् । विचार र निष्ठामा विविधताका आधारमा भन्दा पनि जुन गुटमा लाग्दा बढी सुरक्षित र लाभान्वित हुन सकिन्छ, त्यतै लाग्ने वा सर्ने कार्यकर्ताको बाध्यता बनेको छ । तसर्थ, गर्न मिल्ने–नमिल्ने, हुने–नहुने जेसुकै गरे पनि कार्यकर्ताको संरक्षण गर्न सक्ने, रोजगार नभएकालाई ‘पाल्न’ सक्ने गुट नै ठूलो देखिन्छ । साथै, कार्यकर्ताबीच जसले मुखियाको वास्तविक चरित्र बोक्न, विकास र प्रयोग गर्न सक्छ ऊ नै नेताको निकटस्थ कहलिन्छ ।

नेतासँगको सम्बन्धको गहिराइ र तहका आधारमा गुटमा र गुटका तर्फबाट दलमा उसको हैसियत बन्ने र स्थापित हुने अवस्था छ । यही हैसियत उसको दलभित्र भूमिका पाउने, निर्णय निर्माण र कार्यान्वयनमा सहभागी हुने, चुनावमा टिकट पाउने र जित्ने, जितेर कार्यकारी भूमिका सुनिश्चित गर्ने, फेरि नेताको आदेश र आशयअनुसार काम गर्ने र भविष्य थप सुदृढ गर्ने भीषण दुष्चक्र बनेको छ । सट्टामा नेतृत्वप्रति समर्पण र विश्वसनीयता अपेक्षा गरिन्छ, यही कसीबाट उसको जाँच र मूल्यांकन गरी प्रभाव र परिणाम हेरेर थप अवसर तय हुन्छ ।

अतः धेरै नेता/कार्यकर्ता राजनीतिक चेत र नेतृत्व क्षमता विकासमा भन्दा दलभित्रै दलाली र दस्तामा धसिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको छ । जसका प्रतिफल र प्रतिउत्पादक परिणाम दुवैमा गुटनेता पनि जिम्मेवार र जवाफदेही हुन्छ । भ्रष्टाचारमा संलग्न ठानिएका ‘ठूल्ठूला माछा’ विरुद्धका मुद्दामा नेताहरूले सार्वजनिक रूपमै प्रतिरक्षा गर्ने र अख्तियारले समेत छुन नसक्ने, फौजदारी कसुरका अपराधीलाई कारबाही नहुने, तोकिएको सजाय पूरा नभई छुटाउने यसकै परिणाम हो ।

अर्को अर्थमा राजनीति र अपराधबीच अन्योन्याश्रित सम्बन्ध स्थापित र संस्थागत भएको छ । गुट चलाएर नेतृत्वमा पुग्ने र आफू संस्थापन भएपछि मात्र पार्टीमा एकता कायम गर्ने लहडमा दलभित्र आन्तरिक लोकतन्त्र र समाजको बहुलवादमाथि दमन सुरु हुन्छ, तब फेरि राजतन्त्रकै झल्को आउँछ ।

निष्कर्ष

नेताले गरेका राम्रा कामको प्रशंसा, प्रोत्साहन र नराम्रा कामको आलोचना, सुझाव दिने गरी राजनीतिक र नागरिक संस्कारको विकास गर्नुपर्ने हो । तर त्यसको सट्टा अन्धभक्त जन्माउने संस्कृति बसाउनु र त्यसमा युवाहरू नै बढी परिचालित हुनु भावी नेतृत्व विकास, दलको–देशको लोकतान्त्रीकरण, राजनीतिक संस्कार विकास र सुदृढीकरणको बाटो छोडेर अराजकता र अवसानतर्फ यात्रा तय गर्नु हो । नागरिक आफैं सचेत, सजग र सक्रिय नहुँदासम्म राष्ट्र निर्माण हुन सक्दैन, न विकास र समृद्धि वा समुन्नति नै सम्भव हुन्छ । उल्टो, नेता राजा, पदाधिकारी भारदार र अन्य सबै प्रजा बनेर विधिको शासनको सट्टा नेताराज स्थापित हुने लयमा देश हिँडिरहेको भनेर चौतर्फी विरोध र आक्रोश बढ्दो छ ।

पुरातन शक्ति यही धमिलो पानीको फाइदा लिन सकिन्छ कि भनेर देशभित्र र बाहिर हारगुहार गरेको देखिन्छ । यहाँ बुझ्नुपर्ने चुरो कुरो के हो भने, त्यस्तो जनआक्रोश दलका नेता राजाजस्ता बन्ने क्षमता राखेनन् भनेर नभई ती पनि राजाजस्तै सर्वत्र हाबी भए र गणतन्त्रलाई पंगु बनाए भनेर हो । तसर्थ, राजनीतिलाई प्रणालीसम्मत र गतिशील बनाउन अब वरिष्ठ नेतागण अभिभावक बनेर दलभित्रै पनि नबिटुलिएका, नडामिएका र नयाँ चुनौतीको सामना गर्न सक्नेलाई नेतृत्व हस्तान्तरण र स्थानान्तरण गर्दै जानुपर्ने भन्ने दबाब तीव्र हुँदै छ ।

धेरै कुरा निर्धारण, निर्माण र निर्दिष्ट गर्ने राजनीतिले हो । यो व्यवस्था र उल्लिखित अवस्था, दुवैको सूत्रधार राजनीतिक दल भएकाले त्यसभित्रै गणतन्त्र स्थापना र विकास गर्न जरुरी छ । लोकतन्त्र र गणतन्त्र संस्थागत गर्ने ठालु राजनीतिक संस्कार र विरासतको राजनीतिको जरो उखेल्नुपर्छ । यो प्रक्रियाको सुरुवात र पहल पनि दलहरूबाट गर्नुपर्ने देखिन्छ । तब न नयाँ जन्मने हरेक नागरिकको कार्यकारी बन्ने अधिकार र सम्भावना समान र सुरक्षित हुन्छ।

(कान्तिुरबाट।)