सप्तरी, १९ फागुन। सप्तरी प्रहरीले एउटै गोदामबाट २४ क्विन्टलभन्दा बढी गाँजा बरामद भएको छ। राजविराज नगरपालिका ९ मलेठको एक गोदामबाट २४ क्विन्टल १९ किलो गाँजा सोमबार बरामद भएको हो।

रुपनीबाट राजविराज आउँदै गरेको बेला सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सडक छेउमा रहेको गोदाममा दुईवटा ट्रकमा सामान अनलोड भइरहेको देखेपछि शंका लागेर सोधखोज गर्दा गोदामबाट गाँजा बरामद भएको जनाएको छ। स्याउ गोदाममा सामान लोड भइरहेको देख्दा शंका लागेपछि उनी अनुगमनमा गएका थिए।

ताला फूटाएर गोदामभित्र प्रवेश गर्दा ८० बटा बोरामा प्याक गरिएको अवस्थामा उक्त गाँजा बरामद भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए। उनले भने, ‘गोदाममा रहेको लाखौँ रुपैयाँबराबरको तयारी कपडा, सुर्ती, प्लम्बिङको सामानसमेत बरामद भएको छ। यस्तै ट्रकबाट १ सय ४२ कार्टुन स्याउसमेत नियन्त्रणमा लिएका छौं।’
सप्तरी प्रहरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार गोदामबाट एउटा भारतीय नम्बर प्लेटको स्कारपियो र एउटा कार समेत बरामद गरेको छ। बरामद स्कारपियोमा तत्काल भारतीय नम्बर प्लेट लगाइएको भए पनि भित्र दुईवटा नेपाली नम्बरको प्लेट भेटिएको स्कारपियोको भित्री भागमा सिट छैन। यस्तै प्रहरीले गोदाम परिसरमा स्याउ लोड अनलोड गर्दे गरेको दुवै ट्रक पनि नियन्त्रणमा लिएको छ।
प्रहरीले गोदाम कुरेर बसेका बिहार मधुवनीका रामनारायण यादव, को १ ख ५२१५ नम्बरको ट्रकका चालक सप्तरी खडग नगरपालिका १० का देवनारायण पासमान, लोड अनलोडमा संलग्न बिहारको सुपौल जिल्ला निर्मलीका राजाकुमार साह र असलम खानलाई पनि नियन्त्रणमा लिइएको छ।
बरामद सामानको यकिन विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ। गाँजा बरामद भएको गोदाम कसको हो भन्ने पनि नखुलेको प्रहरीको भनाइ छ।




















