- गोपाल खनाल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो विदेशी सरकार प्रमुखका रूपमा वासिङ्टनमा स्वागत गरेका छन् । त्यसअघि उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु (३–८ फेब्रुअरी) र जापानी प्रधानमन्त्री सिगेरु इसिवा (६ फेब्रुअरी) लाई ह्वाइटहाउसमा स्वागत गरेका थिए । ट्रम्पको यो आतिथ्यताबाट उनको रणनीतिक प्राथमिकतामात्र होइन, रणनीतिक साझेदारिता पनि देखिन्छ । यद्यपि, भ्रमणमा आमन्त्रणबाटै दिगो रणनीतिक गठबन्धनको आकलन भने गर्न सकिँदैन ।
यसबाहेक राष्ट्रपति भएपछि ट्रम्पले २२ जनवरीमा साउदी अरबका राजकुमार मोहम्मद बिन सल्मान (एमबीएस) लाई फोन गरी व्यापार र लगानी विस्तारबारे परामर्श गरे, जसअनुसार साउदीले चार वर्षका लागि ६ सय बिलियन अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाए । १२ फेब्रुअरीमा ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच ९० मिनेट लामो टेलिफोन वार्ता भयो, जसमा तुरुन्तै रुस–युक्रेन युद्ध अन्त्य गर्नेबारे छलफल भयो । दुवैले एकअर्कालाई भ्रमणको औपचारिक निम्तासमेत दिए । शीतयुद्धकालीन शत्रुता र राष्ट्रिय प्राथमिकतामा विरोधभास भए पनि ट्रम्प र पुटिनको रसायन भने मिलेको देखिन्छ ।
राष्ट्रपति ट्रम्पले निर्वाचनताका प्रतिबद्धताबमोजिम केही महत्त्वपूर्ण निर्णय लिए, जसको कार्यान्वयन सुरु भइसकेको छ । पहिलो, पनामा नहरलाई पुनः नियन्त्रणमा लिने धम्की दिएर त्यहाँ अमेरिकी जहाजलाई शुल्क नलाग्ने बनाए भने त्यसैगरी पनामालाई चिनियाँ पहल बेल्ट एन्ड रोड (बीआरआई) बाट बाहिरिन बाध्य पारे । प्रशान्त र आन्ध्र महासागरलाई छोटो दूरीमा जोड्ने यो नहरलाई चीनले रणनीतिक रूपमा प्रयोग गरेको बुझाइ उनको थियो ।
त्यसैगरी, उनले जारी गरेको कार्यादेशअनुसार नै २५ जनवरीदेखि ‘गल्फ अव मेक्सिको’ लाई ‘गल्फ अफ अमेरिका’ मा रूपान्तरण गरे, जसको प्रतिवाद मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेइनबामले गरेकी छन् । एकपक्षीय रूपमा नाम परिवर्तन गर्ने हो भने उत्तर अमेरिकालाई ‘अमेरिका मेक्सिकाना’ घोषणा गर्ने बताइन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अलग हुने उनका सन्की निर्णयले अमेरिकाको शक्ति क्षिण भएको देखाउँछ । ट्रम्प द्वितीय विश्वयुद्धपछि अमेरिकाले नै निर्माणको पहल लिएका विश्व संस्थालाई भत्काउँदै छन्, जसलाई सट्टामा बेइजिङले संरक्षण गर्दै छ । १ करोड १० लाखको संख्यामा रहेका गैरकानुनी आप्रवासीलाई घर फर्काउने योजनाअनुरूप नेल र हतकडीसहित फर्काइँदै छ । उनले अमेरिकासँग सबैभन्दा ठूलो व्यापारिक कारोबार गर्ने मेक्सिको र क्यानडालाई २५ र चीनलाई १० प्रतिशत कर वृद्धि गरेका छन् । मोदीसँग वार्ता हुनु ठिकअघि ट्रम्पले अमेरिका निर्यातमा जुन देशले जति कर लगाउँछन्, ती देशलाई त्यति नै कर लगाउने घोषणा गरे । अर्थात् जस्तालाई त्यस्तै नीति । त्यसैगरी, प्यालेस्टिनीलाई छिमेकी देशमा सारेर गाजामा आरामदायी हाउजिङ बनाउने घोषणा गरेका छन् । अर्थात् त्यसलाई दक्षिणी फ्रान्समा निर्माण गरेको फ्रेन्च रिभेरियाजस्तै पर्यटकीय सहर ‘मिडल इस्टर्न रिभेरिया’ बनाउने बताएका छन्, जसको पक्षमा इजरायल मात्र छ । अर्थात् ट्रम्प अमेरिकालाई ‘फेरि महान् बनाउने’, ‘अमेरिका पहिला’ र ‘संरक्षणवाद’ को नीतिलाई कार्यान्वयन गर्दै छन् ।
त्यसैगरी, उनले अर्थतन्त्रमा तीन नीति लिएका छन् । संघीय बजेट घाटालाई तीन प्रतिशतमा झार्ने, कुल गार्हस्थ्य उत्पादन तीन प्रतिशतले बढाउने र हरेक दिन तीन मिलियन ब्यारेल तेल उत्पादन गर्ने । उनले ‘ड्रिल, ड्रिल र ड्रिल’ को नीति लिएका छन्, जसअनुसार तेल र ग्यासको आक्रामक उत्खनन र उत्पादन गर्ने ।
घोषणा र कार्यान्वयनमै अघि बढेका यी नीति हेर्दा लाग्छ– ट्रम्प वास्तवमै शक्तिशाली छन् । वा, उनी रक्षात्मक अवस्थामा छन् ? यो विश्व व्यवस्था भत्काउन लागेका हुन् ? बहुपक्षीय युद्ध लड्न उद्यत भएका हुन् ? यो प्रश्नको एउटा कोणलाई हेरौं, जहाँ अमेरिकाले एउटा त्रासदी पालेको छ, जसलाई ट्रम्प समाप्त पार्न चाहन्छन् । ताकि, अमेरिकाले सधैंजस्तै सुरक्षित महसुस गर्न सकोस् ।
त्यो भूगोलको होइन, भूराजनीतिक भुमरीको खतरा । अमेरिका भौगोलिक कोणबाट हेर्दा सम्भवतः विश्वकै एउटा सुरक्षित राष्ट्र हो, जसमाथि वरपरबाट कुनै खतरा छैन । फेरि अमेरिकी भूगोलमाथि आक्रमण भएको पनि छैन, भएको ठाउँमा तुरुन्तै प्रत्याक्रमण पनि भएको छ । त्यसको उदाहरण हो ः पहिलो विश्वयुद्धमा जब जर्मनीले एउटा बेलायती पनडुब्बीमाथि आक्रमण गर्यो र १२८ अमेरिकी नागरिक मारिए, त्यसपछि सन् १९१५ मा बल्ल अमेरिका युद्धमा होमियो । त्यसैगरी, दोस्रो विश्वयुद्धमा जब जापानले पल हार्वरमाथि ७ डिसेम्बर १९४१ मा आक्रमण गर्यो बल्ल अमेरिका युद्धमा प्रवेश गर्यो । यो विश्वयुद्धको बेलाका उदाहरण हुन् । अमेरिकी ट्वीन टावरमा आक्रमण हुँदा अमेरिकाले आतंकवादविरुद्धको युद्ध नै छेड्यो, एबोटाबादमा ओसामा बिन लादेनलाई मार्यो, जबकि पाकिस्तान सरकार त्यसमा सूचित रहेन ।
तर अहिले अवस्था बदलिएको छ ।
पहिलो : अमेरिकी महाशक्ति प्रश्नको घेरामा छ । विश्व बहुध्रुवीय भन्नुको अर्थ बहुशक्तिको निर्माण हो, जसमा भारत, ब्राजिल, दक्षिण अफ्रिका, टर्की, इन्डोनेसिया आदि छन् । चीन महाशक्तिउन्मुख भएकाले अमेरिकाको मुख्य प्रतिस्पर्धी शक्ति भयो । अब ट्रम्पले अमेरिकालाई फेरि महान् बनाउन दुई रणनीति अख्तियार गर्नुपर्छ । पहिलो, चीनलाई जसरी पनि नियन्त्रण गरेर उसको बाह्य विस्तारित प्रभाव रोक्नुपर्छ । त्यसभित्र बीआरआईदेखि चीनले विस्तार गरेको सम्पर्क सञ्जाल भत्काउनुपर्छ । पनामाबाट त्यो आरम्भ भएको छ । दोस्रो हो : अमेरिकालाई सबैखाले त्रासबाट सुरक्षित राख्दै अर्थतन्त्रमा सुधार गर्नुपर्छ । स्वाभाविक रूपमा उनको बाह्य निसानामा चीन पर्ने देखिन्छ । तर चीनलाई बल प्रयोगमार्फत नियन्त्रण गर्न अहिलेकै अवस्थामा अमेरिका एक्लैले सम्भव छैन । पूर्वराष्ट्रपति जो बाइडेनले त्यही भएर चीनलाई पूर्ण निषेधको नीतिभन्दा चिनियाँ खतरा कम गर्ने नीति लिएका थिए ।
त्यसविपरीत ट्रम्पले एसियाली साझेदार भारतलाई चिनियाँ प्रभाव सीमित गर्न प्रयोग गर्नेछन् । जसका संकेत भारतीय प्रधानमन्त्री मोदीलाई दिइएको प्राथमिकतापूर्ण स्वागत, संयुक्त पत्रकार सम्मेलन र भ्रमणका बेला जारी गरिएको संयुक्त वक्तव्यमा सम्मिलित सारवस्तुमा देखिन्छन् । भारतले अमेरिकालाई साथ नदिँदासम्म चीनलाई दबाउने उनको नीति सफल हुन सक्दैन । भारतलाई पनि आफ्नो ‘तटस्थता’ को नीतिलाई तोडेर अमेरिकी शिविरमा प्रवेश गर्दै चीनसँग शत्रुतापूर्ण सम्बन्ध कायम राख्न सहज छैन । त्यसो त भारतले चीनको मूल्यमा अमेरिकासँग दीर्घकालीन रणनीतिक सम्बन्ध राख्ने सम्भावना कम छ । किनकि, मोदी र जयशंकरको नीति भारतीय स्वार्थको संरक्षण गर्ने नीति हो, जसका निम्ति चीनसँगको शत्रुता दिल्लीलाई महँगो पर्न सक्छ । फेरि ट्रम्पले भारतलाई जसरी आफ्ना प्रतिरक्षा सामग्रीको ‘क्लाइन्ट स्टेट’ बनाउन खोजेका छन्, त्यसका निम्ति सैन्य सामग्रीमा रुससँग निर्भरता तोड्नुपर्छ, जुन नयाँदिल्लीले अहिले गर्न सक्दैन । त्यसैले ट्रम्पले चाहेको जस्तो सहयोग मोदी र पुटिनबाट प्राप्त गर्न सक्दैनन् । चिनियाँ शक्तिलाई नियन्त्रण गर्ने रणनीतिक उद्देश्यबाटै निर्देशित भएर उनले पुटिनलाई मित्र ठानेका छन्, जुन स्थायी प्रकृतिको होइन । युक्रेनमाथि यथास्थितिमै शान्ति सम्झौता गर्न दिएको दबाब त्यसैको उदाहरण हो । तर पुटिनले चीनविरुद्ध ट्रम्पलाई साथ दिने सम्भावना छैन किनकि पश्चिमा नेतृत्वको विश्व व्यवस्थालाई विस्थापित गरी नयाँ व्यवस्था स्थापना गर्न चीन, रुस र भारत सहकार्यमा छन् । ब्रिक्स, ग्लोबल साउथ, एससीओ त्यसका उदाहरण हुन् ।
दोस्रो ः बदलिँदो भूराजनीतिक परिवेश । अमेरिकाले जुन भूराजनीतिक लाभ लिइरहेको थियो, त्यो खण्डित हुँदै छ । त्यो हो, चीन र रुसले विस्तार गरिरहेका सामुद्रिक सम्पर्क सञ्जाल । जसले अमेरिकासम्म वा वरपरको पहुँचलाई सहज बनाउँछ । जसप्रति ट्रम्प असुरक्षित महसुस गरिरहेका छन् । त्यही भएर उनी रुसको आड लिएर बेइजिङलाई दबाबमा राख्न खोजिरहेका छन् । तर क्रेमलिन र सिन्हागेटले ह्वाइटहाउसको यो विभाजनकारी नीतिलाई बुझेका छन् । १९७० को दशकमा चीनलाई प्रयोग गरेर अमेरिकाले सोभियतविरुद्ध लडेजस्तो अवस्था अहिले छैन ।
अब ट्रम्पलाई खतरा कहाँबाट छ भन्नेमा फर्कौं । त्यो हो : उत्तरी समुद्री मार्ग (एनएसआर) । रुसको आर्कटिक समुद्री किनारा विकसित हुँदै गरेको रणनीतिक सामुद्रिक करिडर हो, जसले युरोप र एसियाबीचको सामुद्रिक कार्गो दूरीलाई घटाउँछ । यो सामुद्रिक मार्ग स्वेज नहर र मलाक्का स्ट्रेटको वैकल्पिक मार्गका रूपमा समेत स्थापित हुँदै छ । यो मार्ग अन्तर्राष्ट्रिय व्यापारिक मार्गका रूपमा प्रयोगमा आउनेबित्तिकै यसको पूर्ण नियन्त्रण रुसले गर्नेछ ।
यो करिडर रुसको आर्कटिक तटमार्ग हुँदै बेयरिङ जलडमरु (रुस र अलास्काबीचको समुद्री मार्ग) मध्य भएर प्रशान्त महासागरमा प्रवेश गर्छ । र, त्यो हुँदै अमेरिकी बन्दरगाहहरू जस्तै सिएटल, भ्यानकुभर र लस एन्जलससम्म पुग्न सक्छ । रुसको नियन्त्रण हुने र चीनसमेत जोडिने भएकाले दीर्घकलीन रूपमा अमेरिका सुरक्षा चुनौती हुने ठानेर यसलाई असफल पार्न ट्रम्प लागेका छन् । यद्यपि, यो नयाँ सामुद्रिक मार्ग अवरोधरहित भने छैन ।
अमेरिका र क्यानडा आर्कटिक क्षेत्रलाई आफ्नो सुरक्षा र व्यापारिक क्षेत्रमा राख्न चाहन्छन् । रुससँग आर्कटिक बन्दरगाह र आइसब्रेकर्स (हिउँ तोड्ने जहाज छन्) तर उत्तर अमेरिकासँग छैन । अमेरिकी चिन्ता यहाँ के छ भने यो करिडर पूर्णतः रुसको नियन्त्रणमा रहनेछ, जसले अमेरिकी जहाजलाई उच्च शुल्क लगाउन सक्छ भने मार्ग रोक्न पनि सक्छ । त्यसैगरी, चीनले ‘पोलार सिल्क रोड’ अन्तर्गत आर्कटिक व्यापारमा लगानी गरिरहेको छ, जसले उक्त क्षेत्रमा चिनियाँ प्रभाव बढाउन सक्छ । यदि यो रुट पूर्ण सञ्चालनमा आयो भने एसिया र युरोपले अमेरिकी प्रभावमा रहेका व्यापार मार्गहरू स्वेज नहर, मालाका जलडमरुलाई कम प्राथमिकता दिन्छन्, जसले अमेरिकाको रणनीतिक पहुँच घटाउन सक्छ ।
अर्को हो ः चीन र रुसमा भएका लामो दूरीका क्षेप्यास्त्रबाट सिर्जित चिन्ता । अमेरिकाभन्दा रुस र चीनसँग लामो दूरीका गोलाबारी मिसाइल छन् । रुसले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल आरएस–२८ सरमत बनाएको छ, जसले १८ हजार किलोमिटरको क्षेत्रसम्म भ्याउँछ भने चीनसँग १५ हजार किलोमिटरसम्म हान्ने डीएफ– ४१ गोलाबारी छ । अमेरिकासँग भने १३ हजार किलोमिटर हान्नेमात्र क्षेप्यास्त्र एलजीएम–३०–जी छ । कुनै बेला युद्ध भड्कियो भने विश्वको कुनै पनि कुनामा रुसी क्षेप्यास्त्र पुग्न सक्छ । तुलनात्मक रूपमा कम परिधिको क्षेप्यास्त्र भएका कारण अमेरिकालाई रुस र चीनको खतरा छ । त्यसैगरी चीनले छैटौं पुस्ते लडाकु विमान बनाइसकेको छ भने अमेरिका र रुस त्यसको तयारीमा छन् । चीन र अमेरिकाबीच व्यापार, प्रविधि र प्रतिरक्षाजस्ता सामरिक सामर्थ्यमा प्रतिद्वन्द्विता देखिँदै आएको छ तर जसरी चीन र रुसले मिलेर रणनीतिक सामुद्रिक मार्ग विस्तार गरिरहेका छन् र जसरी ती उत्तर अमेरिकी भूगोलसँग पहुँच राख्ने प्रयासमा छन्, त्यसबाट ट्रम्प आतंकित भएका हुन् ।
तर ट्रम्प अप्रत्याशित, अराजक र अनुमानभन्दा बाहिर छन् । त्यसैले उनले आफ्नो कार्यकालमा अमेरिकालाई कता पुर्याउँछन् वा परिवर्तित विश्व व्यवस्थामा उनका मित्र र दुस्मनको सूची कस्तो हुन्छ, अनुमान गर्न सकिँदैन । उनले आरम्भमा लिएका नीतिले निरन्तरता पाउने सम्भावना पनि कम छ किनकि ती व्यवस्था होइन, अव्यवस्थाका प्रमाण हुन् । तर एउटा भने सत्य हो, शक्तिका रूपमा अमेरिका अब प्रतिरक्षात्मक अवस्थामा छ । र, सन्की ट्रम्पले अमेरिका पहिलातिर लैजाने हुन् वा अमेरिका एकान्तिकतातर्फ, त्यो अनिश्चियमा छ । (कान्तिपुरबाट)