- जेएन दहाल
प्लास्टिकको एउटा सानो हाते झोला बोकी मैले समुद्रपारिको यात्रा गरेको तेह्र वर्ष पूरा भइसकेको छ । त्यसो त तेह्र वर्षको अवधिमा तेह्र सयौं अनुभव आफैंले पनि अमेरिकी भूमिमा बटुलिसकेको छु । ती अनुभूति रोचक, आकर्षक, नौला र अचम्भित छन्, सम्झँदा अनुहारमा मुस्कान छाउँछ ।
२० वर्षे युवकको उदाउँदै गरेको पातलो दाह्री, दुई–चारपल्ट खौरिएको जुँगासहित चिल्ला गाला थिए । दुब्लो मान्छे– पाँच फिट ६ इन्च उचाइको म उभिएको छु– हातको त्यो प्लास्टिकको सेतो रङको २२ ह १८ इन्चको झोला बोकेर, जसमा लेखिएको थियो– आईओएम । झोलाको बीचभागमा नीलो रङले लोगो प्रिन्टेड थियो । लोगोको माथि र तल अंग्रेजी अक्षरमा छापिएको छ– आईओएम अर्थात् इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन । यस्ता झोला बोक्ने मान्छे प्रायः शरणार्थी हुन्छन्, नेपाल छाड्ने बेला हाम्रो पनि त्यही परिचय थियो– शरणार्थी । अर्थात् म सक्कली भुटानी शरणार्थी !
आई ओ एमको प्रोसेसमा पहिले ‘फोटो र इन्टरभ्यु’ भएको थियो । त्यसपछि दमक अफिसमा ‘डी एच एस’ र ‘मेडिकल’ पालैपालो भयो । अमेरिकी भूमिमा के गर्नु हुन्छ ? के हुँदैन ? भन्ने विषयमा ओरेन्टेसन नामक प्रशिक्षण लिएपछि मात्रै हाम्रो फ्लाइटको मिति तोकिएको थियो । आई ओ एमको प्रक्रिया अनुरूप हाम्रो प्रि–मेडिकल अर्थात् उडानको अघिल्लो दिन स्वास्थ्य जाँच थियो । त्यो समय शिविर छाड्नुअघि शरणार्थीहरूले यी पाँच चरण पार गरेपछि मात्रै झापा या मोरङको आफ्नो शरणार्थी शिविरबाट आईओएमको झोला बोकी उड्न मिल्ने प्रबन्ध मिल्थ्यो । हो, मैले अर्थात् हामीहरूले यिनै प्रक्रिया पार गरी अमेरिकी भूमि टेक्न पाएका हौं ।
लामो, सेतो रङको बसले तेस्रो देश पुनर्वास हुन चाहनेहरूलाई शिविरमै आएर दमक अफिस लैजान्थ्यो, बेलुका फेरि शिविर फर्काई ल्याउँथ्यो । प्रत्येकपल्ट कसको पुनर्वास प्रक्रिया कहाँ पुग्यो भन्ने आफ्नो परिवारको एनपी नम्बरसहित शिविर नजिकैको रुखमा टाँसिन्थ्यो । चारपल्ट बसमा ओहोरदोहोर गरेपछि प्रि–मेडिकल, अर्थात् पाँचौं चरणको प्रक्रिया दमकको आईओएम अफिसमा सकियो, अनि मात्रै हामी उड्न पाउने भयौं । सम्झना ताजै छ प्रि–मेडिकल सकेको भोलिपल्टै झापाबाट फ्लाइट थियो, गोलधाप शिविर छाड्ने बेला बसमा उठाएका हाम्रा ठूला, लाम्चा आकारका दुई वटा सामानका झोला थिए, जसमा लेखिएको थियो एनपी नम्बर– डबल वान एटजिरो फायब नाएन ।
झरीले स्वागत गरेको जुन महिनाको ५ तारिख आईओएमको बस माथि हुटतिर हुर्याएका ती दुई झोलामा हिजो जस्तो शरणार्थीलाई दिने प्रतिव्यक्ति ५ केजी ६०० ग्राम चामल, ५०० ग्राम दाल र ५० ग्राम नुन थिएन । त्यहाँ त पिताजीले आफ्नै मजदुरीले किनेको एउटा भारतीय कम्पनीको प्रेसर कुकर, केही थान कपडा, जुत्ता, चप्पल र एउटा नयाँ हलुङेको कहराई थियो । त्यसबाहेक उहाँका केही धार्मिक पुस्तक, शालिग्राम, पञ्च पात्रा र तिलक श्रीजस्ता चन्दन थिए । सरल भाषामा म यसो भन्न सक्छु– बीस केजीसम्म लैजान मिल्ने झोलाको वजन पन्ध्र केजी पनि पुगेको थिएन । झरीले रुझाएको त्यस दिन अन्योलमै बसको सिटमा बसेका हामीहरूले आफन्तहरूलाई हात हल्लाएका थियौं ।
आईओएमको सेतो बसले पहिले झापाको चन्द्रगढी एयरपोर्ट लैजान्छ । त्यसपछि नै म यती एयरलाइन्सको सानो प्लेन चढ्दाको पहिलो सुखद् अनुभूत गर्छु । त्यहाँ केही नौलो र केही अनौठो अनुभूति पनि हुन्छ, नजिकबाट प्लेन राम्ररी नदेखेका हामी शरणार्थीहरू अहिले प्लेनकै सिटमा ढलिमली गरिरहेका छौं ।
त्यस घडी भाग्यमा राम्रै लेखेकै रहेछ भन्ने मलाई लाग्छ । तर, भाग्यमानीका र दीनदुःखका छुट्टै कथा छन्– आईओ एमको झोला कसैले त्यसै बोक्ने अवसर कहाँ पाउँछ र ? भुटानबाट लखेटिएर शरणार्थी शिविरमा डेढ दशकमाथिको बसाइमा हामीले कति महिना भोक हडताल गर्यौं ? कतिपल्ट मेची पुलसम्म पिस मार्च गर्यौं ? तर, स्वदेश फिर्तीको सपना कहिल्यै सार्थक हुन सकेन । प्रत्येकपल्ट भारतले बाटो नदिने, भुटानले स्वसम्मान आफ्ना नागरिक नलिने । शरणार्थी नेतृत्व पक्षको आपसी मतभेद जस्ता विविध राजनीतिक कारणले परिणाम शून्य निस्कियो र निस्किरह्यो ।
त्यसपछि नै हो, मजस्तै एक लाख जति भुटानीले शरणार्थीका रूपमा तेस्रो देश पुनर्वासको यो आईओ एमको झोला भिरेको । त्यो समय हाम्रा लागि आई ओ एमको झोला भिर्नु बाध्यता थियो । तेस्रो ढोका रोज्नु एक विवशता थियो । डब्लू एफ पी अर्थात् वर्ल्ड फुड प्रोग्राम, यूएन एच सी आर, लुथ्रन जस्ता संस्थाले अन्न र कपडा दिएको थियो, जसकारण हामी झापा र मोरङका शिविरहरूमा लाज छोपी उभिन सकेका थियौं ।
शिविरका आ–आफ्ना छाप्राबाट हाम्रा अभिभावकले अभावका ती दिनमा कति संघर्ष गरे, हिसाब छैन । उनीहरू केही धान रोप्न, मल बोक्न, चियाको पत्ती टिप्न, केही बालुवा छान्न, इँटा बोक्न, धान काट्न, बोर्डिङमा पढाउन लगायत सीप अनुसारका काम गर्थे । परिचय लुकाएर, स्थानीय मजदुरभन्दा न्यूनतम ज्यालामा उनीहरूले गरेको अभिभावकीय दायित्वको म यिनै शब्दहरूबाट सम्झना र सलाम गर्छु ।
कता कता बादलमा हल्लिँदै गर्दा, यति एयरलाइन्सकी एयर होस्टेजले दिएको ललीपप बिलाएको केही बेरमा काठमाडौं ओर्लिन्छौं । आँखा त्यहाँका प्लेनतिर वरपर घुमाउँदै गर्दा त्रिभुवन एयरपोर्टभित्रै फेरि उस्तै आईओएमको सेतो गाडी हामीहरूलाई उठाउन आउँछ ।
काठमाडौं बाँसबारीमा तीन दिन होस्टेलको बसाइ मलाई सुखद् लाग्छ । बिहान दिएको खाना खानु, अन्य शिविरकासँग परिचित हुनु, दिउँसो घाम ताप्नु फेरि बेलुकी लाइन लागेर स्टिलको खन्डे थालमा खाना थापी खानु यही दैनिकी चल्छ ।बाँसबारी बसाइको अन्तिम दिन फेरि आईओएमको सेतो बसमा चढ्छौं । त्यही समय दिइएको हो– आईओएम लेखिएको यो सानो हाते झोला ।
अमेरिका उड्ने उक्त यात्रा सन् २०१० जुन आठ तारिखको हो । त्यो समय आईओएमका कर्मचारीले उक्त झोला आफू पनि नखोल्नु र कोही अन्जानलाई पनि नदिनु भनेका थिए । त्यही नियम पालन गर्दै बोकेको थिएँ मैले त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टको टर्मिनलमा बसिरहँदा पनि उक्त झोला । मेरो हातमा आफ्ना तीन वटा बोर्डिङ पास छन् । तिनमा अंग्र्रेजीमा लेखिएको छ, काठमान्डु टु दिल्ली, दिल्ली टु ब्रसेल्स (बेल्जियम) र ब्रसेल्स टु न्युयोर्क ।
टर्मिनलबाट बिस्तारै जेट एयरवेज ठूलो पखेटा भएको इन्डियन प्लेन चढ्छौं । प्लेन लामो, चौडा र यती एयरलाइन्सको भन्दा फरक थियो । प्लेनमा मैले आफैं लम्किएर माथिको होल्डरमा आईओएमको झोला जतनसाथ राखें । झमक्क साँझ परेको समय प्लेन उड्यो । ठूलो प्लेन उड्दा धेरै हल्लिँदो रहेनछ । पाँच मिनेट जति धावन मार्गमा कुद्यो र सरक्क उठेर उड्यो । आकाशमा उडिरहेको समय गोलधापको १०ह१६ फिटको गिलाइँटा र बाँसले निर्मित छाप्रो मेरो आँखामा छाउँछ । तर, प्लेनको सिसामा त्यो देखिँदैन ।
अमेरिका, अस्ट्रेलिया, युरोपका देशमा उड्नुअघि शिविरको अठार वर्षको कष्टकर र जोखिमपूर्ण जीवनको हिसाब फाल्टै छ । त्यहाँ बस्दा आगलागीको जोखिम, वर्षा हुँदा खोला बाढीको डुबान र हुरीले छाप्रो लडाउने जस्ता अभावका कति दिन व्यतित गरियो हिसाब छैन । आज फर्केर शिविरलाई हेर्दा ती संघर्षपूर्ण र कठिन दिन कसरी झुल्कन्थे र हामी कसरी बिदा गर्थ्यौं मलाई सम्झँदा अचम्म लाग्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टबाट हिँडेदेखि जेट एयरवेजमा भण्डारी, बानियाँ, घले र दाहाल यस यात्रामा सँगै छौं । प्रत्येकको आफ्ना अघि टीभी स्क्रिन छ, प्लेनमै दिएको सल ओढी बसेको छु म । काठमाडौंबाट उडेको तीस मिनेटपछि खाना दिइयो । एल्मुनियमको सानो ट्रेमा खाना, सब्जी, गुलियो गुलाब जमुन, क्रिमर, भुक्के प्लास्टिकको स्पोन थिए । आहा, स्क्रिनको मुभी हेर्न रोकेर याद गरें नौलो यात्राको खानाका स्वाद पनि नयाँ लाग्थे ।
प्लेनको ढोका गेटमा जोडिनासाथ झोला झिक्न लम्किन्छन् यात्रुहरू । म पनि तान्छु मेरो त्यो हाते झोला । झोला लिएर जहाजको गेटबाट निस्कने बित्तिकै अघिल्तिर लेखिएको थियो, इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्ट । एयरपोर्टको टर्मिनल नजिक सिसाबाट बाहिरका दृश्यमा नेपाल एयरलाइन्स, जेट एयर र ब्रिटिस एयरलाइन्स जस्ता ठूला हवाई जहाज देखिन्थे ।
त्यसरी नै दिल्लीबाट जेट एयरवेजमा बिहानको दुई बजे हामी उड्यौं । प्लेन फेरियो, तर इन्डियन खाना उस्तै र टीभी हेर्ने स्क्रिन उस्तै छ । एयरपोर्टका कर्मचारी यतायता भन्दै गेटबाट निस्कँदै गर्दा निर्देशन गर्छन् । ब्रुसेल्सको एयरपोर्टमा सेकुरेटीको गेट पार गरी भित्र पस्यौं । त्यहाँ जुत्ता, मोजा, पेटी खोल्नुपर्ने रहेछ । आमा र बहिनीले लगाएका चुरा पोते भए ती पनि खोल्नुपर्यो ।
तीन घण्टाको पर्खाइपछि ब्रुसेल्सदेखि अमेरिकासम्म अर्को प्लेन चढ्यौं । ठूलो प्लेनमा उस्तै अनुभूति हुँदो रहेछ– कतै सेतो बादल देखिने, कतै समुद्रको पानी नजिकैबाट उडी रहेका छौं भन्ने लाग्ने अनुभूति हुँदै थियो । उत्रनुअघि तातो बाफ उडिरहेको कपडा ल्याएर एयर होस्टेजले दिए । त्यो के कामका लागि हो हामीलाई थाहा थिएन । नजिकका यात्रीहरूले आ–आफ्नो अनुहार पुछे, मैले पनि त्यही सिको गरें ।
हामी न्युयोर्क अमेरिका उत्रन्छौं । पालैपालो घले, भण्डारी, दाहाल र बानियाँ परिवारले एयरपोर्ट अफ इन्ट्रीका कर्मचारीलाई त्यो आईओएमको हाते झोला दियौं । आफू पनि नखोल्नु र कोही अन्जानलाई पनि नदिनु भनिएको झोला ती गोरा कर्मचारीले खोतली हेरे । आवश्यक कागजपत्र झिकी स्क्यान गरे ।
बालक, वृद्ध, युवक, युवती एक एकगरी पालैपालो फोटो खिचे । सिसाको स्केलमा दसै औंलाको औंठाछाप पनि लिए । उनले आईओएमको झोला खोल्दा मात्र थाहा लाग्यो, त्यहाँ परिवारको विवरण, ट्राभल्स डकुमेन्ट, छातीको एक्स–रे र स्वास्थ्य जाँचका अन्य केही कागजपत्र रहेछन् ।
न्युयोर्कका इमिग्रेसन अफिसरले हाम्रो कानुनी कागजपत्रमा स्टेम्प लगाई ट्राभल्स डोकुमेन्ट अर्थात् आई–९४ फिर्ता दिए । त्यसमा मैले ध्यानपूर्वक हेरें– हाम्रो फोटो, नाम, जन्ममिति र भुटान देशको नागरिक भन्ने लेखिएको थियो । ट्राभल्स डोकुमेन्टको अवधि एक सालको र पोर्ट अफ इन्ट्री न्युयोर्क जुन ९ तारिख सन् २०१० छाप लगाइएको थियो ।
नेपालदेखि बोकेर अमेरिकासम्म ल्याएको आईओएमको झोला नै हाम्रो पासपोर्ट थियो । अन्य यात्रीहरू भन्दा भिन्न यो झोला शरणार्थीहरूको एक बिम्ब हो । अहिले सम्झँदा अचम्म पनि लाग्छ, एक शिविरबाट दोस्रो शिविरसम्म नपुगेका केही पैतालाहरू जहाजमा उडेर अमेरिका पुगे, केही पैतालाहरू क्यानडा पुगे र केही पैतालाहरू नर्वे, डेनमार्क र अस्ट्रेलियातिर संघर्ष गर्दै छन् ।
कान्तिपुरबाट।