सिरहा, २० माघ।  गोलबजार नगरपालिका १० स्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट अवैधरुपमा माटो तथा ग्राभेल उत्खननगरी विक्रि गरेको विषयमा स्थानीयको दवाव पछि वन कार्यालयले अनुसन्धान सुरु गरेको छ। वन क्षेत्रबाट अवैधरुपमा माटो उत्खनन्को विषयमा स्थानीयले कार्वाहीगर्न दवाव दिएपछि डिभिजन वन कार्यालय, लहान सिरहाले अनुसन्धान थालेको हो। 


स्थानीयले वन उपभोक्ता समितिका अध्यक्ष देव कुमार तामाङ्गकै संलग्नतामा गोलबजार नगरपालिका ७ चोहर्वा बजारदेखि वडा नम्बर १० धरमपुर घुर्मीघाटसम्म बाटो निर्माण कार्यागरिरहेका कम्पनीलाई बन फडानी गरेर माटो तथा ग्राभेल विक्रि गर्दै आएकोले कार्वाहीको माँग गर्दै वडा कार्यालय निवदेन दिएका छन्। 

रातको समयमा वनभित्रै स्काभेटर लगेर सखुवाको रुख ढाल्दै ग्राभेल उत्खनन् गरी टिप्फरमा ओसार्ने गरिएको स्थानीयको भनाई छ। यो विषयमा नियमक निकाय सबैलाई जानकारी छ। तर कसैले चुइँक्क बोल्दैनन्। वन उपभोक्ता समूहका अध्यक्ष देवकुमार तामाङ त झन् आफ्नै रोहवरमा चुरे उत्खनन् गराउँन तल्लीन छन्। उत्खननको क्रममा ढलेको सालको रुख पनि टिप्फरमा लोडगरी स्थानीय काष्ठ उद्योगहरूमा बिक्री हुने गरेको छ। यो विषयमा वनको कर्मचारीलाई जानकारी गराउँदा समेत रूखको विषयमा केही बोल्दैनन्।

स्थानीयले अध्यक्ष तामाङ्गले गैर कानुनी रुपमा वन मासेर ग्राभेल विक्रिगरेकाले कानुनी कर्वाहीको माँग गरेको छ। सोही आधारमा वडाले पनि वन कार्यालयसहितका निकायलाई पत्राचार गरेको छ। 

स्थानिय भिमवहादुर थापासहित २६ जनाले कार्वाहीको माँगसहित उजुरी गरेका छन्। 

डिभिजन वन कार्यालय लहान सिरहाका डिभिजनल प्रमुख शैलेन्द्रकुमार मिश्राले आफूहरुले जानकारी पाउनासाथ अनुसन्धान सुरु गरेको बताए। उनले अनुसन्धान प्रकृया अगाडी बढाई सकेकाले अनुसन्धानको क्रममा दोषी देखिएका सवैलाई कार्वाहीको दायरामा ल्याउने बताए। उनले भने, ‘उत्खनन प्रकृयामा वन उपभोक्ता समितिका अध्यक्ष देव कुमार तामाङ्गको बदवासी देखियो, हामीले अनुसन्धान सुरु गरिसकेका छौं, दोषी देखिने सवै कार्वाहीको दायरामा आउँछ।’

उत्खनन्मा वन कर्मचारी, स्थानीय जनप्रतिनिधी तथा प्रहरी प्रशासनको मिलेमत्तो रहेको स्थानीयको आरोप छ।  

पछिल्लो समय सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा राष्ट्रिय वन, सामुदायिक वन, खोला तथा निजी आवादी जग्गाहरूबाट अवैधरुपमा ग्राभेल उत्खनन् गरी सडक निमार्ण हुने क्रम बढ्दो छ। ठेकेदार कम्पनीहरूले स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधि, वनका कर्मचारी, सामुदायिक वनका अध्यक्ष समेतलाई आर्थिक प्रभावमा पारी सडक निमार्णका लागि आवश्यक सामाग्रीहरु माटो, ग्राभेल, र बालुवाहरू नियमविपरित चुरे क्षेत्रबाट उत्खनन् गरिरहेका छन्।