लहान, १६ माघ। सिराहाको लहानमा युथ इन फेडरल डिस्कोर्स (वाईएफडी) र कारखाना समूहको सहकार्यमा कानुन निर्माणसम्बन्धी कार्यशाला ‘ल मेकिंग १०१’ सम्पन्न भएको छ। कार्यक्रममा कानुन निर्माण, नीति निर्माण र त्यसको कार्यान्वयनबारे प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख प्रशिक्षक वाईएफडीका कार्यकारी सदस्य शौम्या रिसाल र बिख्यात खत्रीले कानुन तथा शिक्षाको सम्बन्ध, शिक्षा क्षेत्रमा कानुनी नीति निर्माणका आवश्यकता र स्थानीय तहमा कानुन कार्यान्वयनका चुनौतीहरूबारे प्रस्तुति दिएका थिए।

कानुन निर्माणमा युवाको सहभागिता बढाउनुपर्ने आवश्यकता, शिक्षा क्षेत्रमा प्रभावकारी कानुनी संरचना निर्माणका लागि नीति निर्माण र एनजीओहरूको भूमिका, स्थानीय सरकारसँगको समन्वयमार्फत कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने विषयमा उनीहरुले प्रशिक्षण दिएका थिए। 

मधेश प्रदेशको क्लस्टर १ अन्तर्गत लहानमा सम्पन्न कार्यक्रमपछि मंगलवार वीरगञ्जमा क्लस्टर २ अन्तर्गत कानुन निर्माणसम्बन्धी अर्को कार्यशाला सम्पन्न भएको छ। 

कार्यक्रमले युवा, नागरिक समाजका प्रतिनिधि र स्थानीय तहका सदस्यहरूलाई एकैथलोमा भेला गराई कानुन निर्माण प्रक्रियामा जिम्मेवारीपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

वाईएफडीले युवाहरूलाई संघीय संरचनाभित्र कानुन निर्माण र जिम्मेवार नागरिसमाजको विकासमा सक्रिय रूपमा संलग्न गराउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको कार्यकारी सदस्य शौम्या रिसालले बताइन्।