सिरहा, ८ माघ। सिरहाको धनगढीमाई नगरपालिका २ भवानीपुरका ४० वर्षिय साबित्री सदाय भुमिहिन सुकुम्वासी हुन्। उनको आफ्नो भनेको सडकको पेटीमा १२ फिट लम्वाई र उस्तै चौडाई भएको घर छ। घर भएको जमिन समेत उनको आफ्नो नाममा छैन। सडक पेटी हो।
त्यहि एउटा माटोको भित्ता र जस्ताले छाएको टहरोमा उनको हुर्केका छोरीहरुसहित ७ जनाको परीवार बस्दछन्। साबित्रीका १७, १५ र १३ वर्षकी छोरीहरु ७ र ५ वर्षका दुई छोरासहित श्रीमान श्रीमतीको पकाउने, खाने, सुत्ने सवै त्यहि घर हो।
त्यहि घरमा अहिले एउटा बाख्रा र दुईवटा पाठापाठी थपीएकी छीन्। त्यहि बाख्रा पनि दलित समाज उत्थान समिति नेपाल, महोत्तरीले सहयोग गरेको हो। संस्थाले हरवा चरवा परीवारलाई २२ दिनको पशु पालन तालिम समेत दिएका थिए।
श्रीमानको एक्लो कमाईले परीवार धान्दै आएका साबित्रीलाई बाख्रा पालनले केही राहत भएपनि परीबार धान्न समस्या भएको बताउँछीन्। ‘बस्ने जमिन समेत आफ्नो छैन, श्रीमानको एक्लो कमाईले परीवार चलाउनै समस्या हुन्छ; सावित्रिले भनिन्, ‘असारमा गिरहतको धान रोप्ने र मंसिरमा काट्ने काम बाहेक गाउँमा कुनै काम हुँदैन, श्रीमानको एक्लो कमाईले परीवार चलाउन मुस्किल छ, यो बाख्रा पालनले थोरै भएपनि राहत भएको छ।’
आर्थिक अभावकै कारण उनका दुई जना छोरीहरुले ५-६ कक्षा पढेर विद्यालय छोडेका छन्। कान्छी छोरी ६ कक्षामा पढीरहेकी छिन्। जेठो छोरा २ कक्षा र कान्छो बाल विकासमा जान थालेका साबित्रीले सुनाईन्।
साबित्रीका श्रीमान शिवकुमार सदा पहिला भारतमा मजदुरी गर्थे। पछिल्लो ६–७ महिनादेखि धनुषाका एक कुखुराको दाना बनाउने उद्योगमा काम गर्छन्।
भवानी पुरकै २७ वर्षिय सरीता कुमारी सदा पनि संस्थाले आयोजना गरेको २२ दिनको बाख्रा पालन सम्वन्धि तालिममा सहभागी भएका थिए। संस्थाले पनि उनलाई दुई वर्ष अघि एक थान बाख्रा सहयोग गरेको थियो। त्यहि बाख्राको ४ थान बोका पाठी विक्रि गरीसकीन्।
सरीताको श्रीमान भने बैदेशिक रोजगारमा छन्। बस्ने थलोसमेत आफ्नो नाममा नभएका सरिताले भने श्रीमानको कमाई र ऋणपान गरेर घरेडी जोडेकी छीन्। सरीताले भने, ‘अहिले श्रीमानको कमाई ऋणपान तिर्नुपर्ने भएकाले बाख्राका पाठा पाठी विक्रिबाट घरखर्च चलाउन सहज भएको छ।’ सारीताको ९ वर्षको एकजना छोरीमात्र छन्।
संस्थाले साबित्री र सरीता जस्तै सिरहा र सप्तरीका ३ सय १० जनालाई कृषि, विद्युत, मोटरसाइकल, मोवाईल मर्मतजस्ता तालिम दिएका छन्। जसमध्येय १ सय २५ जनालाई व्यवसायी विकास तालिम दिएको संस्थाले जनाएको छ।
व्यवसायीक बाख्रा पालनको तालिम लिएका यहाँका दुई जना हरवा चरवाहका परीवालाई एक एक थान माउ बाख्रा सहयोग गरेको छ।
जीविकोपार्जनसँगै हरवा चरवा समूदायको मूख्य समस्या भनेको बास बस्ने थलो र गरिखाने जमिनको खाँचो रहेको बताउँछन्। आफूहरु अहिलेपनि न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यतामा रहेको हरवाह चरवाह मञ्जका केन्द्रीय कोषाध्यक्ष राजवती मण्डलले बताउँछिन्।
उनले हरवा चरवाको मुक्ति घोषणासँगै बस्ने उचित व्यवस्था र गरिखाने जग्गा उपलब्ध गराउनु पर्नेमा जोड दिइन्। स्थानीय पालिकाहरुले हरुवा चरुवाको विषयमा केही नगरेको गुनासो गरीन्।