काठमाडौं, २० पुस। सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ। आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ।
अध्यक्षका लागि नेपाली कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएशनले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र नेकपा एमाले निकट प्रगतिशील कानुन व्यवसायी संघले वरिष्ठ अधिवक्ता महेश थापालाई प्रतिस्पर्धामा उतारेको छ।
त्यसैगरी अध्यक्षका लागि वरिष्ठ अधिवक्ताद्वय मेघराज पोखरेल, महेशकुमार थापासहित धिवक्ता प्रेमसिंह धामीले पनि उम्मेदवारी दिएका छन्।
उपाध्यक्षमा अम्बरबहादुर राउत, भीष्मराज कडरिया र उत्तमबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन भने सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र प्रभाकर श्रेष्ठ प्रतिस्पर्धामा उत्रदैँछन्।
सहसचिवका लागि पुन्देवी महर्जन र श्रुतीकुमारी रेग्मी तथा कोषाध्यक्षका लागि रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल र रामहरि त्रिपाठी उम्मेदवारी दर्ता भएको छ। बाँकी ९ जना सदस्यका लागि १९ जना प्रतिस्पर्धामा छन्।
साथै, ६ सय २६ मतदाता रहेको सर्वोच्च बारमा सत्तारूढ दल कांग्रेस र एमाले निकट कानुन ब्यावसायी बिचमा अलग अलग प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।






















