• सीके लाल

आफ्नो जीवनको सबभन्दा ऊर्जावान, उत्पादनशील र सिर्जनात्मक वर्षहरू नेपालीय मिथिलाको शिक्षा क्षेत्रलाई समर्पण गरेका महेन्द्र मलंगियालाई भारत सरकारले सन् २०२४ को साहित्य अकादेमी पुरस्कार दिने भएको छ । बहुआयामिक सर्जक रहेकाले ‘मलंगिया सर’को नामका अगाडि विशेषक थपेर उनको योगदानलाई बाँध्न मिल्दैन ।

उनी जस्ता व्यक्तिलाई सम्मानित गरेर सम्बन्धित पुरस्कारको गरिमा पनि बढ्छ । सीमापारि बिहारको मधुबनी जिल्लामा जन्मिएका महेन्द्र झाले आफ्नो गाउँको मलंगिया नामलाई उपनामका रूपमा अंगीकार गरेर द्विज थर परित्याग गरेका थिए । तिनताक भारतीय शिक्षकहरूले नेपालमा पढाउनु सामान्य मानिन्थ्यो ।

मलंगिया सर उस बेलाको प्रतिष्ठित कन्टिर झा माध्यमिक विद्यालय, बभनगामामा भूगोलको शिक्षक बन्न आइपुगेका थिए । अहिले त दशगजा पारि सीमा सुरक्षा बल र वारि सशस्त्र प्रहरीले सामान्यजनको आवतजावतलाई समेत निगरानी गर्ने गर्दछ । मलंगिया सर छुट्टीका बेला साइकल चढेर

आफ्नो गाउँ जाँदा हुन् । जन्मस्थल र कर्मथलो बीचका समानता र भिन्नता केलाउँदा हुन् । एउटै सभ्यता र संस्कृति तर भिन्दाभिन्दै राजनीतिक संरचना र व्यवस्था देखेर छक्क पर्दा हुन् । विरह र शोक श्रव्य काव्यको स्रोत भएझैं विस्मय र उत्सुकताले सायद दृश्य काव्य भनिने नाटक लेख्न उत्प्रेरित गर्दछ ।

भूगोलका शिक्षक रहेकाले ब्रह्माण्डका विचित्रताहरू उनका लागि नयाँ थिएन होला । तिनको अभिव्यक्तिको माध्यम चुनौतीपूर्ण रहेको हुन सक्दछ । कविवर माधव घिमिरे शब्दमा अन्तर्निहित संगीतको कुरा गर्ने गर्दथे । दृश्य काव्यका शब्दहरूले भने भाव र नृत्यलाई पनि समेट्छ । मलंगिया सरको मन सन् १९७० को दशकदेखि नै मिथिलाको भावभूमि भनिने जनकपुरमा रम्न थालेको थियो ।

सन् १९७० को दशकदेखि मैथिली साहित्य जनकपुरबाट आफ्नो विशिष्ट पहिचान बनाउँदै थियो । धिरेश्वर झा ‘धीरेन्द्र’ (१९३४–२००४), रेवतीरमण लाल, राजेन्द्र विमल र रामभरोस कापडी भ्रमर जस्ता कतिपय सर्जकहरू क्रियाशील थिए । सीमापारिको शुद्धतावादी एवं सम्भ्रान्तीय मैथिलीको तुलनामा प्राध्यापक धिरेश्वर झाले ‘नेपालीय मैथिली’ नामकरण गरेको भाषा प्रयोगात्मक एवं समावेशी थियो ।

मैथिली भाषाको ‘फूलपात’ पत्रिकामार्फत सम्पादक सुन्दर झा शास्त्री नयाँ हस्ताक्षरहरूको खोजी (खुलासाः प्रकाशनका केही युवा अभियन्ताहरूसँग पंक्तिकार पनि जोडिन पुगेको थियो) गरिरहेका थिए । हुन त शास्त्रीय मैथिलीको मानकीकरणका अध्येता, ज्ञाता र भाषाविद् रामावतार यादव तथा शब्द संकलक एवं अनुसन्धानकर्ता योगेन्द्रप्रसाद यादव परम्परागत ज्ञानवृद्धिमा अद्यापि सक्रिय रहने गरेका छन् । तर बोलीचालीको भाषा—‘जे बाजै छी, से मैथिली’—र अभिव्यक्तिलाई साहित्यकताको पहिचान दिनेमा जनकपुर क्षेत्रका सर्जकहरूको योगदान निःसन्देह महत्त्वपूर्ण छ । सीमापारिको मैथिली अझै पनि शास्त्रीयतामै अल्झिएको छ ।

ज्योतिरीश्वर ठाकुर (सन् १२९०–१३५०) द्वारा सन् १३२० तिर विरचित ‘धूर्त समागम’ सँगै मैथिली नाटक उत्कर्षमा पुगेको भए तापनि सीमापारिका भाषा अभियन्ताहरूको प्रभावले गर्दा १९७० दशकसम्म नेपालीय मिथिला क्षेत्रमा पनि सामान्यतया हिन्दी नाटक नै मञ्चन गर्ने गरिन्थ्यो । परिष्कृत भाषाले सामान्यजनलाई बाँध्न नसक्ने हुँदा मैथिलीका केही नाटकहरू पारखी दर्शकमाझ मात्र मञ्चन हुने गर्दथे । जनकपुरका केही कलाकर्मीहरूको सक्रियतामा स्थापित मिथिला नाट्यकला परिषद् (मिनाप) सुरुदेखि नै बोलीचालीको भाषालाई मञ्चनको माध्यमबाट स्थापित गर्न प्रतिबद्ध थियो ।

मलंगिया सर सल्लाहकारको भूमिकामा मिनापसँग सुरुदेखि नै जोडिएका थिए । त्यस अभियानलाई गति दिन उनले नित नवीन नाटक लेख्न थालेका थिए । पिछडिएको समाज सा–साना उपलब्धिमा रमाउँछ । आफ्ना सर्जकहरूलाई ‘विकसित’ ठहर्‍याइएका समाजका स्थापित नामहरूसँग तुलना गरेर आनन्दित हुन्छ । यस क्रममा मलंगिया सरलाई ‘मैथिली नाटकका शेक्सपियर’ देखि ‘मैथिलीका ब्रेख्त’ सम्म भन्नेहरू देखापरेका छन् ।

उनी भने स्वनामधन्य सर्जक हुन्, उचाइ बढाउन उनलाई ऐतिहासिक व्यक्तित्वहरूको नामरूपी मेजमा उकाल्न जरुरी छैन । उनले मञ्च, पाठ, सडक र रेडियो नाटक लेखनमा सबभन्दा बढी सक्रिय रहेका भए तापनि साहित्य अकादमी पुरस्कार भने उनका शोधमूलक लेखहरूको संकलन ‘प्रबन्ध संग्रह’ का लागि अर्पण गरिएको छ । शिक्षण पेसाबाट निवृत्त भएपछि उनी ‘रचनात्मक अनुसन्धान’ विधिबाट स्थापित ज्ञानलाई परिष्कृत र समृद्ध गर्ने काममा लागेका छन् ।

सन् १३२४ तिर रचना गरिएको मानिने ‘वर्णरत्नकार’ ग्रन्थलाई आधार बनाएर मलंगिया सरले ‘शब्दक जंगल में अर्थक खोज’ शोधग्रन्थको दुई खण्ड प्रकाशित गरिसकेका छन् । शब्दको जंगलमा अर्थको खोजी शोधार्थीहरूको कर्म भए जस्तै शब्दकर्मीहरू भने अर्थहरूको घनाबस्तीमा पदको बोट–बिरुवा पहिल्याएर प्रस्तुत गरिरहेका हुन्छन् । कतिपय पुराना शब्द नयाँ अर्थको पत्रपुष्पका साथ देखा पर्छन् ।

केही नवनिर्मित शब्द (नीआलजिज्म) परिचित जस्ता लाग्दछन् । कुनै देश वा समाजमा खास कालखण्डमा व्याप्त सामान्य सांस्कृतिक, बौद्धिक, नैतिक, आध्यात्मिक एवं राजनीतिक वातावरणलाई समेट्ने मूल्य र मान्यताका लागि जर्मन भाषाको शब्द ‘जाइटगाइस्ट’ अंग्रेजीमा पनि प्रयोग हुन्छ । युगबोध वा युगचेतनाले जाइटगाइस्ट अर्थात् ‘समयको आत्मा’ भावलाई एक हदसम्म समेट्छ । वर्षभरिको प्रतिनिधिमूलक अभिव्यक्तिलाई ‘वर्ष शब्द’ घोषणा गर्ने अंग्रेजीका शब्दकोश संकलकहरूको प्रचलन पनि एक किसिमले ‘वर्ष चेतना’ वा समयबोध नै हो । त्यस्ता शब्दहरूले बित्न लागेको वर्षका विकलतालाई समेटेका हुन्छन्, आउँदो समयका चुनौतीहरूलाई इंगित गरिरहेका हुन्छन् ।

वैश्विक परिवेश

विश्वभाषाको हैसियतमा रहेकाले बोल्ने र लेख्ने अंग्रेजीका कमसेकम पाँच धारहरू छन् । हलिउडको प्रभावले गर्दा दृश्य मिडियामा अमेरिकाली अंग्रेजीको वर्चस्व छ । अस्ट्रेलियाली अंग्रेजी मूलतः त्यस महादेशका बासिन्दाहरूको बोलीचालीको भाषा हो । साझा औपनिवेशिक इतिहासले गर्दा दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश एवं श्रीलंका जस्ता देशहरूको अंग्रेजीमा दफ्तरी शैली (अफिशलिज्) बढी प्रचलनमा छ ।

दक्षिण अफ्रिका र केन्या एकै महादेशभित्र रहेका भए तापनि तिनले प्रयोग गर्ने अंग्रेजी उस्तै छैन । एउटै भाषाका विभिन्न रूपहरूलाई जोड्ने मानक भने बोलीचालीमा बीबीसी प्रसारण संस्था एवं लेखनमा अक्सफोर्ड युनिभर्सिटी प्रेसको प्रकाशनलाई लिने गरिन्छ । कहिल्यै सूर्यास्त नहुने बेलायती साम्राज्यको भाषिक दबदबा अद्यापि कायम छ । अक्सफोर्ड युनिभर्सिटी प्रेसले सन् २०२४ को परिचायक पदका रूपमा छनोट गरेको ‘वर्ष शब्द’ खासमा दुई शब्दहरू जोडिएर बनेको संकेतात्मक अभिव्यक्ति हुन गएको छ—‘ब्रेन रौट’ अर्थात् मस्तिष्क सडन ।

प्रकाशन संस्थाको आकलनमा अन्तर्जाल र त्यसमा पनि खास गरेर (अ)सामाजिक सञ्जालका सामग्रीहरूको अत्यधिक उपभोगले निम्त्याउने मानसिक एवं बौद्धिक स्खलनलाई दर्शाउने ‘ब्रेन रौट’ बारे ‘जेन जेड’ (सन् १९९५ र २०१० बीच जन्मिएको पुस्ता) र ‘जेन अल्फा’ (सन् २०१० पछि जन्मिएको पुस्ता) सचेत छन् । तर यथार्थलाई प्रतिबिम्बित गर्ने अभिव्यक्तिको प्रभावबाट मुक्त हुन भने साह्रै कठिन हुने रहेछ । भारतमा अन्तर्जाल पार्टी एवं (अ)सामाजिक सञ्जालमार्फत फैलाइने फर्जी खबर, भ्रामक सूचना एवं गलत धारणालाई व्यापक तुल्याउने ‘ह्वाट्सएप युनिभर्सिटी ज्ञान’ सम्भवतः मस्तिष्क सडनको सबभन्दा खतरनाक उदाहरण हो ।

स्कटल्यान्डको ग्लासगो सहरबाट प्रकाशित हुने कोलिन्स अंग्रेजी शब्दकोशले ‘ब्रैट’ लाई आफ्नो वर्ष शब्द बनाएको छ । बेसोमती बच्चोका लागि प्रयोग गर्ने गरिएको ‘ब्रैट’ शब्दमा कोलिन्सले नयाँ अर्थ थपेको छ— ‘आत्मविश्वासी, स्वतन्त्र र भोगी मनोवृत्ति’ दर्शाउने व्यक्ति ! खास गरेर उच्च मध्यम वर्गका जेन जेड एवं जेन अल्फा पुस्ताका हकदारी भावनाले (सेन्स अफ एन्टाइटल्मन्ट) ग्रस्त नेपालको वर्चस्वशाली समुदायका बच्चोलाई नेपालीमा पनि ब्रैट नै भने फरक पर्दैन ।

क्याम्ब्रिज शब्दकोशको छनोटमा ‘म्यानिफेस्ट’ अर्थात् जाहिर वा स्वतः स्पष्ट पर्न गएको छ । त्यस परिचित शब्दको नयाँ व्याख्या भने वैज्ञानिकभन्दा पनि नियतिवादी प्रकृतिको छ— ‘आफूले चाहेको कुरा प्राप्त गर्न कल्पना गरियो भने त्यसो हुन सक्ने सम्भावना बढी हुन्छ भन्ने विश्वास’ ! सफलताको चाहनाले काममा लाग्ने उत्प्रेरणा बढ्ने भएकाले त्यस्तो हुन पनि सक्छ, यद्यपि त्यस्ता उदाहरणहरू भेट्टाउन सहज छैन ।

अस्ट्रेलियाको मैक्वेरी शब्दकोशले सामान्यजनको रोजाइ भन्दै ‘एन्सिटिफिकेसन’ भन्ने अन्तर्जालको पारिभाषिक शब्दलाई वर्ष अभिव्यक्तिका रूपमा प्रस्तुत गरेको छ । वर्ष दिनअगाडि मात्र प्रचलनमा आएको एन्सिटिफिकेसन शब्दलाई कर्तव्य स्खलन भन्न पनि मिल्छ होला— ‘खास गरेर नाफाखोर अन्तर्जालका सेवा प्रदायकले उपलब्ध गराउने वस्तु वा सेवामा आउने क्रमिक गिरावट’ । त्यस्तो प्रवृत्ति त नेपालमा नाम चलेका ‘ब्रान्डहरू’मा पनि देखिने गरेको छ, वजनमा सहजै बुझ्न नसकिने केही ग्रामको कमी र मोलमा सामान्य जस्तो लाग्ने वृद्धि एकैसाथ देखिने कुरा स्वच्छ व्यापारको मान्यताबाट च्युत हुनु हो । कर्तव्य स्खलन शासन व्यवस्था जस्तै वस्तु र सेवाको व्यापारमा पनि व्यापक छ ।

सन् २०२४ कै सबभन्दा परिचायक पद भने स्वच्छन्द बजारको हिमायती अंग्रेजी पत्रिका ‘द इकोनोमिस्ट’ ले रोजेको छ— ‘काकिस्टोक्रेसी’ अर्थात् सबभन्दा अनुपयुक्त एवं अक्षम व्यक्तिहरूको शासन व्यवस्था वा अधमतन्त्र । बंगलादेश, भारत एवं संयुक्त राज्य अमेरिकाका निर्वाचन परिणामहरूले अधमतन्त्रको बढ्दो फैलावटलाई देखाइरहेका छन् । अधमतन्त्रको विस्तारले प्रजातान्त्रिक प्रक्रिया, शासन व्यवस्थाका स्थापित प्रारूप एवं चलनचल्तीका निर्वाचन प्रणालीहरूमाथि नै प्रश्न उठाउन सक्दछ ।

अमेरिकाका निवर्तमान तथा भावी राष्ट्रपति डोनाल्ड ट्रम्प वा तेस्रो कार्यकालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका उथलपुथल निम्त्याउने शासन सत्ताभन्दा बरु रुसका भ्लादिमिर पुटिन, हंगेरीका विक्टर ओर्बान, टर्कीका रेसेप तैयप एर्डोगान वा चीनका सी चिनफिङ जस्ता दृढ शासकहरूको स्थायित्व नै बेहतर त होइन भन्ने प्रश्नले प्रजातान्त्रिक प्रणालीको उपयुक्ततालाई शंकाको घेराभित्र पुर्‍याएको छ । नेपालमा त झन् संविधान नै नृजातीय बहुसंख्यकवादको निरंकुशतालाई आधार बनाएर जारी गरिएको हो ।

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिको वामपन्थी राजनीति एवं नृजातीय राष्ट्रवादको संस्कृति प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको प्रतिगामी संस्कार र अनुदारवादी चरित्रसँग मिल्दोजुल्दो छ । चेहरा नागरिक शासनको भए पनि इस्लामाबाद र ढाकामा पर्दा पछाडिका सञ्चालकहरू त्यहाँका स्थायी सत्ताका अवयवहरू रहेका छन् । अधमतन्त्रको विस्तार र स्थायी सत्ताको पकड एकसाथ बढ्दै जाने हो भने प्रजातन्त्र घानमा पिल्सिने डर स्वतः बढ्छ ।

न्युयोर्क टाइम्सका स्तम्भकार पौल क्रुगम्यानले सन् २०१७ को जनवरीमा ‘सबै उचित अनादरका साथ’ भन्दै अमेरिकामा अधमतन्त्रको उदयलाई औंल्याएका थिए । कारण त उनले अरू नै देखाएका छन्, तर अमेरिकी मतदाताहरूको व्यवहारबाट सायद खिन्न भएर उनले ‘मेरो अन्तिम स्तम्भः असन्तुष्टिको उमेरमा आशा खोज्दै’ भन्दै डिसेम्बर ९, २०२४ देखि नियमित स्तम्भ लेखनबाट बिदा लिएका छन् ।

एक्काइसौं शताब्दीको पहिलो २५ वर्ष पुग्न लाग्दा केही वैश्विक अर्थराजनीतिक प्रवाहहरू देखिँदै छन् जसको तत्कालिक प्रभाव उल्लेखनीय नभए पनि दीर्घकालीन असर युगान्तकारी ठहरिन सक्दछ । स्थापित प्राधिकारहरूप्रति सामान्यजनको विश्वास घट्दै छ । समुदायभन्दा व्यक्ति महत्त्वपूर्ण हो भने भावको विस्तारले ऐक्यबद्धता एवं बन्धुत्व खण्डित हुन्छ र मानवीय समानुभूतिको साटो जसरी भए पनि जित्ने प्रतिस्पर्धात्मक पशु मिजाज (एनिमल स्पिरिट) हाबी हुन जानेछ ।

कुनै पनि पश्चिमा प्रकाशनले इंगित नगरेको भए तापनि इजरायलले गाजापट्टीमा गरेको युद्ध अपराधले गर्दा ‘जनसंहार’ (जेनसाइड) समसामयिक विश्वको वर्ष शब्द हुनुपर्ने थियो । एम्नेस्टी इन्टरनेसनलको व्यापक अनुसन्धानको निष्कर्षअनुसार ‘इजरायलले कब्जा गरेको गाजापट्टीमा प्यालेस्टिनीहरू विरुद्ध जनसंहार गरेको छ र जारी राखेको छ ।’ युरोपको सेन्टर फर कन्स्टिट्युसनल एण्ड ह्युमन राइट्स, ह्युमन राइट्स वाच एवं मेद्सैँ साँ फ्रौत्यैर (सरहद मुक्त चिकित्सक) जस्ता प्रतिष्ठित मानवतावादी संस्थाहरूको निर्क्योल पनि मिल्दोजुल्दो छ ।

संसारका अधमतान्त्रिक सत्ताहरूले भने एक्काइसौं शताब्दीको पहिलो चौथाइका सबभन्दा ठूला मानवताविरोधी अपराधहरूमध्ये एकलाई अद्यापि ढाकछोप गरिरहेका छन् । सन् २०२४ को विश्व व्यक्तिको छनोट गर्नुपर्‍यो भने फ्रान्सेली जुझारु महिला एवं आत्मविश्वासी नारीवादका प्रतीक झिजेल पेलिकोको नाम सबभन्दा माथि राखिनुपर्दछ । लगभग एक दशकसम्मको आफ्नै पति एवं तिनका चार दर्जनभन्दा बढी मतियारहरूद्वारा निरन्तर बलात्कारका बावजुद आफ्नो आत्मसम्मानलाई कायम राख्दै पीडकहरूलाई सजाय दिलाउन सफल झिजेल पेलिकोले फ्रान्सेली समाजको सडन र संवहन क्षमतालाई एकसाथ उजागर गरेकी छन् ।

त्यति हुँदाहुँदै उनमा लैंगिक विद्वेष रत्तिभर पनि छैन । उनले बडो विश्वासका साथ घोषणा गरेकी छन्— ‘पुरुष र महिला सद्भाव, आपसी सम्मान र समझदारीमा बाँच्न सक्छन् ।’ जस्तोसुकै अँध्यारोमा एउटा बलिरहेको बत्तीले संसारमा आशाको सञ्चार गर्न सक्छ ।

स्थानिक परावर्तन

नेपाली राजनीतिमा सन् २०२४ लाई विश्वासको संकट गहिरिँदै गएको कालखण्डका रूपमा चित्रित गर्न सकिन्छ । नेपाली कांग्रेसको समर्थनमा पदासीन भएका पुष्पकमल दाहाल मार्चको सुरुताका नै एमालेको काँधमा सवार भएका थिए । जुलाई लाग्नासाथ एमालेका सर्वेसर्वा शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जमिनमा ओराल्दै आफैं नेका सभापति शेरबहादुर देउवाको बुइँ चढेर प्राविधिक तवरले चौथो तर यथार्थमा तेस्रो पटक प्रधानमन्त्री बन्न पुगेका छन् ।

सन् २०१५ पछि नेपालमा स्थापित गिरोहतन्त्रलाई शर्मा ओली, दाहाल र देउवा पालैपालो नेतृत्व गरिरहेका छन् । राजनीतिप्रति सामान्यजनमा विरक्ति उत्पन्न गराउन सबभन्दा ठूलो भूमिका एउटै काया र तीन मुख भएको यसै त्रिमूर्तिलाई दिन सकिन्छ । सन् २०१५ पछि नेपालमा कायम राजनीतिक व्यवस्थालाई ‘आलोपालो तन्त्र’ पनि भन्न मिल्दैन, त्यो किनभने सत्तासीन त्रिमूर्तिको नृजातीय राष्ट्रवादको ‘खसआर्यवादी’ काया एउटै छ । नेका, एमाले र माओवादी दलहरूको मिलेमतोमा चल्ने भागबन्डा शासन सत्तालाई झन्डै एक दशकअगाडि ‘गिरोहतन्त्र’ पनि भनिएको थियो । तिनले एक किसिमको ‘लुटतन्त्र’ चलाएको कुरा त सामान्य चर्चाको विषय बनिसकेको छ ।

अधमतन्त्रको त्रासदीलाई अमेरिकी उदाहरणका साथ इटालीका पत्रकार, निबन्धकार र स्तम्भकार बेप्प सेभरजिनिनीले हालसालै ‘अट्लैन्टिक’ भने पत्रिकामा बडो कडा शब्दमा औंल्याएका छन्—प्रजातन्त्रले रोजेको बाटो यस्तै हो भने सबैभन्दा खराबको अवस्थाका लागि तयारी गरौं । यस प्रकारले निर्वाचित नेतालाई हटाउन असम्भव हुनेछ । असफल भएपछि तिनले उल्टै प्रतिप्रश्न गर्नेछन्— ‘तिमी मबाट के चाहन्छौ ? म के हुँ र को हुँ भनेकै थिएँ, तापनि जोसिएर मलाई मत दिएको होइन ? अब चुप लाग्दै असल भएर बस्दै गर्नु ।’

नेपालमा त्यस्तो प्रवृत्तिको सबभन्दा स्पष्ट उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक अध्यक्ष रवि लामिछानेको चामत्कारिक उत्थान र आकस्मिक पतनमा देखिँदै छ । खसआर्यका नृजातीय मुख्तियार शर्मा ओलीले के कस्ता तत्त्व वा व्यक्तिको सिफारिसमा रवि लामिछानेको टेलिभिजन क्यारियरको सुरुवातमा सघाएका थिए भन्ने कुरा उनले अहिलेसम्म खुलाएका छैनन् । नेपालको नियमन संरचना ध्वस्त छ भन्ने कुरा सबैलाई थाहा छ । तर, रास्वपाले परम्परागत सम्भ्रान्त सँगसँगै नेकाको एउटा उल्लेख्य जमातको समर्थन हासिल गर्न कसरी सफल भएको थियो भन्ने कुरा अद्यापि कसैलाई थाहा छैन ।

बोलीचालीको मैथिलीमा ठग र डकैती मिलेर बनेको एउटा शब्द छ— ‘ठगैती’ । सायद सन् २०२४ का वर्ष व्यक्तिका रूपमा प्रतिनायक (एन्टीहिरो) रवि लामिछाने एवं वर्ष शब्दका लागि ठगैतीको पुनर्प्रयोग उपयुक्त छनोट ठहरिन सक्दछ । सबै सामान्यजनमा निडर जुझारुपन र अजेय जिजीविषा कायम रहोस्, क्रिसमस र नववर्ष सन् २०२५ को ऐक्यबद्ध शुभकामना ।

कान्तिपुरबाट।