- नन्दकिशोर चौधरी
क्रिकेट खेलको विकासकालागि चलिरहेको नेपाल प्रिमियर लीग (एनपिएल)को चर्चा र प्रभाव चरमोत्कर्ष अवस्थामा छ। खेलमा भौगोलिक आधारमा विभिन्न क्षेत्रका टोलीहरुले प्रतिस्पर्धा गरिरहेका छन् जसले खेललाई रोमाञ्चक बनाइरहेको छ। एनपिएलको माध्यमबाट नेपालको राष्ट्रिय टिमका खेलाडीहरुले एक्सपोजर पाइरहेका छन् भने विदेशी खेलाडीहरुको खेल कौशलको माध्यमबाट अर्थपूर्ण सिकाई पनिभइरहेको छ। नवप्रवेशी खेलाडीहरुको लागि एनपिएल प्रतिभा प्रदर्शन गर्ने उपयुक्त मञ्च साबित भइरहेको छ।
कोशी प्रदेशबाट बिराटनगर किङ्गस्, मधेश प्रदेशबाट जनकपुर बोल्ट्स, बाग्मती प्रदेशबाट काठमाडौं गुर्खाज र चितवन राइनोज, गण्डकीबाट पोखरा एभेन्जर्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, कर्णालीबाट कर्णाली याकस् र सुदुरपश्चिम प्रदेशबाट सुदुरपश्चिम रोयल्सले सहभागीता जनाएको छ। समर्थकहरुले आ–आफ्ना टोलीको प्रचारप्रसारसहित प्रभावका लागि सामाजिक सञ्जाल ताएका छन्। एनपिएलले यसपालीको चिसो मौसमलाई न्यानो बनाएको छ। एनपिएलको यस संस्करणको एक महत्वपूर्ण तस्वीरको रुपमा टोलीहरुमा नेपालका खेलाडीहरुको समावेशी सहभागितालाई लिएको पाइन्छ।
टोलीका खेलाडीहरुमा समावेशीता हुँदाहुँदै नवजवान युवा समर्थकहरुको होडबाजीले टोलीका समर्थकहरु बीचमा सामुदायिक रुपले केही फाटो देखिनपुगेको छ। सामाजिक सञ्जाललाई नियाल्ने हो भने जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्सका नवजवान समर्थकहरु बीच गालीगलौज हुने गरेको देखिएको छ। लीग चरणको खेलमा सुदुरपश्चिम संग जनकपुर पराजीत भए पछि सुदुरपश्चिमका एक समर्थकले जनकपुरका समर्थकलाई “हातहालेको” भिडियो भाइरल हुनपुगेको थियो। प्रत्युत्तरमा जनकपुरका समर्थकहरुसहित अन्यले तीव्यक्तिलाई इङ्गित गर्दै “डडेल्धुरामा मात्रै भेडा हुन्छन् भनेको त पूरै सुदुरपश्चिम नै भेडा रहेछन्” भन्नपुगेका थिए। त्यसपछि सुदुरपश्चिमका समर्थकहरुले पनि जनकपुरका समर्थकहरुलाई “मधेशी”भन्दै टोलीलाई “मधेशी टोली”भन्नपुगेका थिए। लीग चरणको त्यस खेलमा जनकपुरले जवाफी ब्याटिङ गर्दै सबै विकेटगुमाएर मात्र ५१ रन बनाउन सकेकोमा व्यङग्यगर्दै सुदुरपश्चिमका केही समर्थकहरुले सामाजिक सञ्जालमा लेखेका थिए– “यिनीहरुलाई मधेशी र आदिवासी कोटाबाट फेरी ब्याटिङ गर्न लगाउनु पथ्र्यो।”
दुबै टिमको केही नवजवान समर्थकहरुको सनकका कारण केहीदिनदेखि यस विषयले सानोतिनो बहसकै रुप लिइरहेको छ। आफ्ना समर्थकलाई कुटेको र सामाजिक सञ्जालमा मधेशीभनी लेखिएका सन्देशहरुबाट जनकपुरका समर्थकहरुले “जनकपुर बोल्ट्स बिरुद्ध बाँकी सबै सातै टिमका समर्थकहरु आफुहरु बिरुद्ध लागेको” निश्कर्ष निकाल्न पुगेका थिए। सद्भाव बिग्रिन नदिनका निम्ति मध्यस्थता गर्दै सामाजिक सञ्जालका केही प्रयोगकर्ताहरुले सकारात्मक भूमिका खेलेको देखिएको थियो÷छ। त्यस अघि जनकपुरले लीग चरणमा लगातार चार खेल जितेको र जनकपुरका समर्थकहरुले र्यापर मनियाँको र्यापमा“आन लेबे पङ्गा, आन?” भन्दै बनाएको भिडियोहरुले अन्य टोलीका समर्थकहरु “चिढिएका” देखिन्थ्यो।
उक्त दृश्यले ठूलो फाटो नल्याएपनि एउटा स्पष्ट सन्देश चाँही दिएको छ– राजनीतिक रुपले द्वन्द्वकालमा बढी मात्रामा सिर्जित मधेशी र पहाडी “फिलिङ्ग” मेटीइसकेको छैन। यो मेटिइनका लागि समाजका व्यक्तिहरुले समता र समानता अनुभव गर्नुपर्यो, र त्यो मेटाउने अभिभारा राज्यको काँधमानै पर्न जान्छ। शासनसत्ताले यो कुरालाई गम्भीर रुपमा लिएर विभिन्न माध्यमहरुबाट सामाजिक सद्भाव कायम राखीराख्न अग्रसरता लिनुपर्ने देखिन्छ। एनपिएल आयोजक नेपाल क्रिकेट संघले पनि यो विषयलाई गम्भीर रुपमा लिएर अगाडी बढनुपर्ने देखिन्छ। होइन भने, एनपिएल संगै जनकपुर बोल्ट्स मधेशी टोलीहो भन्ने मान्यता स्थापित हुनजानेछ।
जनकपुर बोल्ट्समधेशी टोलीहो त?
जनकपुर बोल्ट्सलाई के आधारमा मधेशी टोली भनिएको हो त्यो बुझ्न कठिन छ। मधेश प्रदेशमा पर्ने भएर जनकपुरलाई मधेशी टोली भन्नुभयो भने तपाइँको आँखामा“पूर्वाग्रह”नामको “मोतियाबिन्दु” रोग लागेको हुन सक्छ। त्यसको जाँच गराउनु होला। किनकी बिराटनगर, चितवन र लुम्बिनी निख्खर तराई÷मधेश भेगका टोलीहुन्। सुदुरपश्चिम समेत तराईमा फैलिएको छ। त्यसो भए जनकपुर मात्रै कसरी मधेशी टोलीभए?
एक चोटी जनकपुर टिममा सहभागी खेलाडीहरुको तथ्याङ्क हेरौं। प्राप्त श्रोत अनुसार जनकपुर टिममा जम्मा १९ जना खेलाडीहरु छन्। जहाँ ६ जना तराई–मधेशका छन्, अनिल कुमार साह, आशिफ शेख, किशोर महतो, मयन यादव, अरनिको यादव र रुपेश कुमार सिंह। जुन कूल टिम सहभागी संख्याको ३१.५८ प्रतिशतहो। टिममा देश बाहिरका पनि ६ जना खेलाडी छन्, जेम्स निशम, लाहिरु मिलान्था, हर्ष ठाकेर, मोहम्मद मोहसिन, जोसुवा ट्रम्प र बेन माइक। जुन मधेशी खेलाडी संख्याको बराबर संख्याहो। बरु गैर मधेशी खेलाडीहरु जनकपुर टिममा बढी संख्यामा छन् ७ जना, हेमन्त धामी, आकाश त्रिपाठी, शेर मल्ल, शुभ कंसाकार, तुलबहादुर थापा, विशाल सुस्लिङ र ललित नारायण राजवंशी, जुन कूल खेलाडी संख्याको ३६.८४ प्रतिशत हो। अब भन्नुहोस् कि जनकपुर बोल्ट्स कसरी मधेशी टिम भयो?
मधेशमा पर्ने भएर जनकपुरलाई मधेशी टोली भन्नुभएको हो भने त्यो तपाइँको जीवनको ठूलो भूल हुन सक्छ। किनकी बिराटनगरलाई कोशीया, चितवन र काठमाडौंलाई बगमतिया, लुम्बिनीलाई लुम्बिनीया, पोखरालाई गण्डकीया, कर्णालीलाई कर्णालीया अनि सुदुरपश्चिम लाई सुदुरपश्चिमियाँ न कसैले भनेको छ न कसैले लेखेको छ र त्यस्तो गर्नु पनि हुदैन।
जनकपुरलाई “टार्गेट” गरेर मधेशी टोली भन्नु भयो भने तपाइँमा केही“खराबी”हुन सक्छ। त्यही भएर जनकपुरलाई “मधेशी टोली”भन्न उपयुक्त भएन। त्यसैगरी जनकपुर लगायत अन्य समर्थकहरुले पनि सुदुरपश्चिमका समर्थकहरुलाई “भेंडा” भन्न मिलेन। अब देखि त्यस्तो नगरौं।