आशिष विश्वकर्मा

सिरहा, ३० मंसिर। सिरहामा राई लिम्वु लगायतका समुदायले मनाउने उद्यौली पर्व मनाएका छन्। किरात राई यायोक्खाले गोलबजार नगरपालिका १ गोला मुक्सारमा यले सम्वत ५०८४ को अवसर पारेर एक समारोहको आयोजना गरी साकेला उद्यौलि पर्व मनाएका हुन्। 

RAI

साकेला उद्यौलीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा राई यायोक्खाका जिल्ला अध्यक्ष नेम्वर राईले लामो समयको प्रयासपछि जनजातीहरुको अवस्था एउटा लयमा आएपनि यसमा धेरै काम गर्न आवश्यक रहेको बताए। उनले विभिन्न जातिय संघ संस्था तथा गैरसरकारी संस्थाहरुको प्रयासले केही सुधार आएको बताए। 

सोही क्रममा उनले केही गैरसकारी संस्थाहरुले भने लगानी अनुसारको काम गर्न नसकेको आरोप लगाए। उनले भने, ‘विभिन्न संघ संस्थाहरुले जनजातीको उत्थानको क्षेत्रमा काम गरिरहेको छ। तर, लगानीको हिसावले उनीहरुको काम प्रभावकारी हुन सकिरहेको छैन।’

मन्तव्यकै क्रममा अध्यक्ष राईले हरेक विषयको निर्णय राजनीतिले गर्ने भएकाले पछाडी पारीएका समुदायले राजनीतिमा पनि चासो राख्नु पर्ने बताए। 

नेपाल मगर संघ सिरहाका अध्यक्ष प्रकाश जर्घा मगरले हाम्रो संस्कार, संस्कृति, परम्परा, भाषाको संरक्षण र विकाससँगै शिक्षामा विशेष जोड दिनु पर्ने बताए। जनतातीहरु संस्कृति संरक्षणको नाममा नाचगानमा बढी अलमलीएको भन्दै शिक्षालाई महत्वका साथ लिनु पर्ने अध्यक्ष जर्घाको कथन छ।

कार्यक्रममा राई यायोक्खाका जिल्ला सदस्य यानबहादुर राई, पत्रकार अर्जुन थपालिया, दनुवार जागरण समाजका अध्यक्ष अरविन्द दनुवार, गोलबजार नगरपालिका १३ का सचिव औतारी लामाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 

राई यायोक्खा गोलबजार नगर समितिका अध्यक्ष मधुकुमार राईको अध्यक्षतामा सम्पन्न साकेला उद्यौलिको सञ्चालन आशा राईले गरेका थिए। शुभकामना आदानप्रदान सँगै विभिन्न झाँकी तथा नाच गान प्रदर्शन गरेर रमाइलो मनाएका थिए।