- टीका भट्टराई
युवा पलायन हाम्रो सामाजिक संलापको विषय भएको छ । एकथरी जो अलि हुनेखाने छन्, उनीहरू पढ्ने भनेर युरोप, अमेरिका, अस्ट्रेलियातिर जान्छन् । अर्काथरी छन्, जो घर चलाउन यहाँ पाइरहेको भन्दा श्रमको धेरै मूल्य पाउन खास गरी खाडीका देशतिर जान्छन् ।
पछिल्लो वर्गका मानिसका लागि देशमा पर्याप्त रोजगारी छैन । खेतीपाती गाह्रो छ, आम्दानी हुन्न । देशमा कतिलाई पुग्ने कस्तोकस्तो गैरखेती रोजगारी छ, त्यो त्यति यकिन छैन । तर यत्रो युवालाई पुग्ने छैन, यसका लागि तथ्यांक चाहिँदैन ।
शिक्षाले नै कति र कहिलेसम्ममा रोजगारी सिर्जना गर्छ, त्यो भन्न सकिन्न । पक्का चाहिँ के हो भने हामी ठूलो मात्रामा उच्च शिक्षा आयात गरिरहेछौं । यस्तो किन र कसरी भइरहेछ भनेर कारण खोज्नु स्वाभाविक हो । अझ हाम्रो बानी त समस्या ठूलो भएपछि बलिको बोको देखाउनेछ । यस्तामा नयाँ विश्वविद्यालय वा कलेज खोल्न उद्यत व्यक्ति वा समूह र खासगरी निजी कलेजका सञ्चालक पर्छन् ।
नेपालबाट पढेर गएका सबैजसो विद्यार्थीले पढाइमा राम्रो गरेकै सुनिन्छ । यद्यपि यसको पनि मापनीय आधार भने छैन । केही सत्यको अंश होला तर यहाँबाट उता पढ्न जाने धेरैले पढाइमा नराम्रो गरेको त्यति देखिँदैन यद्यपि त्यहाँ पढाइको तहअनुसार कमै काम पाउँछन् ।
यसमा अरू गैरप्राज्ञिक कारण छन् । यसलाई शिक्षाको गुणस्तर नपुगेको कारणले हो भन्न मिल्दैन । जे भए पनि तेस्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रो विश्वका देशमा जनसंख्याको दृष्टिले नेपाली विद्यार्थीको संख्या भने धेरै उच्च छ । नेपाली विद्यार्थी अस्ट्रेलियामा तेस्रो, जापानमा चौथो, अमेरिकामा पाकिस्तानीभन्दा बढी छन् ।
विद्यार्थी यहाँबाट ठेलिएका भन्दा बढी उताबाट तानिएका हुन् । यद्यपि कुन मात्रामा ठेलिएका र कुन मात्रामा तानिएका अनुभवबाट मात्र भन्न सकिन्छ । पहिलो कुरा त, नेपाल जस्ता देशका विद्यार्थी ती देशका शैक्षिक संस्थाका लागि आम्दानीको स्रोत हुन् । यो क्रम खासगरी ती देशमा नवउदारवाद हाबी हुँदै जाँदा शैक्षिक संस्थालाई सरकारले अनुदान कटौती गरेपछि तीव्र भएको हो ।
यो बेलायतमा थ्याचर र अमेरिकामा रेगनको शासनसँगै बढेको भन्न मिल्छ । शैक्षिक शुल्क ती देशको एउटा रोजगारी र आम्दानीको स्रोत हो । अप्रत्यक्ष रूपमा यसले ती देशको प्रभुत्व स्थापना गर्ने कुरा त छँदै छ । विदेशी विद्यार्थीका मुख्य गन्तव्य अमेरिका, अस्ट्रेलिया, बेलायतका विश्वविद्यालयको एक चौथाइदेखि आधासम्म आम्दानी विदेशी विद्यार्थीबाट प्राप्त हुन्छ ।
बेलायतको अर्थतन्त्रमा ६–७ वर्षअघि नै १० प्रतिशतभन्दा बढी योगदान विदेशी विद्यार्थीबाट भएको बताइन्छ । यो क्रम बढ्दो छ र यो अंक सन् २००० भन्दा पहिले छँदै थिएन भने पनि हुन्छ । उता बढेपछि यता विद्यार्थी संख्या घट्नु स्वाभाविक नै हो ।
उताको अर्को आकर्षक पक्ष, ती देशको जनसंख्या संरचना फेरियो । जनसंख्या वृद्धि दर घटेसँगै बूढाबूढी धेरै भए । अर्थतन्त्र चलाउन काम गर्ने मानिस चाहियो । तुलनात्मक रूपमा विदेशी त्यसमाथि प्रतिव्यक्ति आय कम भएको देशका नागरिकलाई काम लगाउन सस्तो र सजिलो हुन्छ ।
आम्दानीका लागि पढाइको कुरा र श्रमको आपूर्तिको कुरा मिल्यो । तल्ला तहका शिक्षामा लगानी नै नगरी बजारमा श्रम आपूर्ति हुने भयो । नाइजेरियामा बेलायतको आप्रवास नीति र त्यहाँका विद्यार्थीको संख्यामा स्पष्ट सम्बन्ध देखिएको थियो ।
भिसामा फेरबदल आएपछि नेपाली विद्यार्थी जापानमा पनि ह्वात्त बढ्न थालेका छन् ।शिक्षामा सुधार गर्नुपर्छ, त्यसमा दुईमत छैन तर हाम्रो देशमा शिक्षा राम्रो नभएकाले विद्यार्थी विदेश गए भन्ने भ्रममा बाँचिरहनु पनि आवश्यक छैन । शिक्षित युवा विदेश पलायन भएकाहरू स्तरीय शिक्षा प्राप्त गर्न गएका होइनन् ।
अन्यथा, उनीहरू पढाइ सकेर देश फर्किन्थे । सम्भवतः भारत जाने नेपाली नेपालमा पढाइ राम्रो नभएर गएका भन्न मिल्ला । भारतमा पढ्न जाने नेपालीको संख्या १०–१५ हजार हुनुपर्छ जुन स्वाभाविक हो । चिन्ता गर्नुपर्ने अंक होइन ।
हाम्रा युवा पढ्नका नाममा जाने देशहरूसँग ऐतिहासिक शक्ति छ । उनीहरूले विश्वलाई उपनिवेश बनाएर शक्ति र समृद्धिको सञ्चय गरे । ज्ञान निर्माण पनि त्यही पृष्ठभूमिमा भएको हो । मार्क्सले युरोपमा अठारौं शताब्दीमा उत्पादनका साधनमा नियन्त्रण र श्रमको शोषण देखे । अहिले त्यो विश्वस्तरमा छ ।
युवाहरू बाहिर जानुमा देशको व्यापक अस्थिरता, निराशा र भ्रष्टाचार पनि जिम्मेवार मानिन्छ । विश्वका धनी देशहरू यही चाहन्छन् । यसमै उनीहरूलाई फाइदा छ । धनी देशका भूगोलभित्र गैंडा, बाघ, जिराफ छैनन् ! नाइल वा किलिमान्जारो, सुन्दरवन वा सगरमाथा छैनन् । घुम्न आउँछन् । खनिज वा तेल पाउने ठाउँमा व्यापार र विकासका नाममा कब्जा जमाउँछन् । देउता पनि तिम्राभन्दा हाम्रा वरिष्ठ भन्ने भ्रममा पार्छन् । अनि कडा र नरम दुवै शक्तिले आधिपत्य जमाउँछन् । हाम्रोजस्तो देशबाट गएका आप्रवासी त्यहाँका मूल नागरिकभन्दा बढी प्रतिस्पर्धी हुन्छन्, चाहिनेभन्दा बढी हुन्छन्, अनि ट्रम्पहरूको उदय हुन्छ । यद्यपि ह्यारिसले जित्दैमा ठूलै फरक पर्ने थिएन ।
त्यताका देशले यति वर्षपछि आएका सबै आप्रवासी निकाला गर्ने भने पनि आश्चर्य मान्नुपर्ने छैन । ह्वाइट हाउसमा दिवाली मनाए भनेर वा अस्ट्रेलियामा दसैं बिदा दिए भनेर दंग पर्नु पर्दैन । यसो भनेर हाम्रो शिक्षा व्यवस्था सुधार्नु पर्दैन वा हाम्रा नीति निर्माता सच्चिनु पर्दैन भन्ने होइन । झन् धेरै गर्नुपर्ने रहेछ भनेर बुझ्ने हो । यस्तो कुरा बुझेर काम गर्ने जनशक्ति बनाउनुपर्ने हो । नगएकालाई टिलिक्क पार्नुपर्ने हो । जाँदै नजाने बनाउनुपर्ने होइन ।
औपनिवेशिक देशहरूले उपनिवेशमा आफूअनुसारको लवज, तौरतरिका र दृष्टिकोणको नेतृत्व गर्ने नवसम्भ्रान्त वर्गको सिर्जना गरे । यसले उपनिवेशका मालिकको जीवनशैली र शिक्षालाई उच्च स्थापित मात्र गरेन, त्यहाँ भएका हरचिजलाई घटिया सावित पनि गर्यो । बाहिर पढ्न जानु, अमेरिका, अस्ट्रेलिया जस्ता देशमा आफ्ना सन्तान हुनु सामाजिक प्रतिष्ठाको विषय नै भयो ।
अहिले सम्बन्धनमा उठेको कुराले के संकेत गर्छ भने विदेशी भनेपछि विद्यार्थी जस्तोसुकै कलेजमा पनि गएका छन् । केही यो औपनिवेशिक मानसिकताको उपज हो, केही विदेशी सम्बन्धनमा प्राप्त गरेको उपाधिले आखिरमा उतैतिर जाँदा समकक्षता पाउन हुने सजिलो हो । पक्कै पनि देशको ‘पुस फ्याक्टर’ माओवादी द्वन्द्व सिर्जित भय र अस्थिरता पनि हुन् । यसले त्यो प्रक्रिया तीव्र बनाउन मध्यमवर्गलाई स्पष्ट उत्प्रेरित गर्यो तर त्यो नै मात्र कारण होइन ।
अझ एकथरी के भन्छन् भने पढ्नका लागि मध्यमवर्गीय युवा पलायन हुनुमा हाम्रो मध्यमवर्गीय समाजको अनुदार यौन दृष्टि पनि जिम्मेवार छ । हुर्केका छोराछोरीले आफ्नो समाजमा विपरीत लिङ्गी साथी बनाउन पाउँदैनन् । यौन सम्बन्धको कुरा त परै रह्यो । तर उनीहरू बिहा गरिहाल्न तयार भएका हुँदैनन् । पढ्न जाने भनेर उता गएपछि ती युवाले त्यो सामाजिक निगरानीबाट पनि मुक्ति पाउँछन् । यस्तो कुन हदमा देखिन्छ र अरू विकासशील र फरक संस्कृति भएका देशमा के भएको छ, त्यो अध्ययनको विषय हो ।
कान्तिपुरबाट।