सिरहा, १७ मंसिर। सिरहाको मिर्चैया नगरपालिका ५ स्थित बजार क्षेत्रमा नाला निर्माणको लागि खनिएको खाल्डोमा आइतबार डुबेर महिलाको मृत्यु भएको घटनाको छानबिन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको छ। स्थानीय ३६ वर्षीया रोजिनादेवी महतोको मृत्यु घटनाको अनुसन्धानका लागि सोमबार पूर्वाधार कार्यालय, सिरहा प्रमुख रामदेव खड्का, इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर गोबिन्द साह र जिल्ला प्रशासन कार्यालय सिरहाका अधिकृत सुरेश साह ररहेको छानबिन समिति गठन भएको हो।
छानबिन समितिले आजको मितिदेखि १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी काम गर्ने प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी बताए।
मिर्चैया नगरपालिकाको कार्यालय छेउमै नालाका लागि खनेर अलपत्र छाडिएको खाल्डोमा जमेको पानीमा डुवेर रोजिनाको मृत्यु भएको थियो।
नगरपालिकाका लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै आफन्त र स्थानीय छानबिन समिति बनाउन माँग गर्दै शव बुझ्न मानेका थिएनन्। उनीहरुले इलाका प्रहरी कार्यालय अगाडी शव राखेर प्रदर्शन गरेका थिए। मृतकका आफन्तका अनुसार नगरपालिकाले उक्त खाल्डो एक वर्षअघि खनेको बताए।
यता मिर्चैया नगरपालिकाले भने यो योजना संघीय सरकारको भन्दै आफ्नो यसका कुनै दोष नरहेको विज्ञप्ती नै प्रकाशन गरेर चोकिने प्रयास गरेको छ। सहरी विकासले काम गरेकोले आफ्नो त्यसमा कुनै दोष नरहेको नगर प्रमुख श्रवण यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ।
तर, स्थानीय भने जसले काम गरेको भएपनि नगरपालिका त्यसको समन्वय कर्ता, निगरानी कर्ता भएकाले जवाफदेहि हुनुपर्ने बताउँदै आएको छ।