माध्यमिक शिक्षा परीक्षा र कक्षा १२ को बोर्ड परीक्षाको नतिजा प्रकाशन भएपछि मात्रै शिक्षाविद्, शिक्षा मन्त्रालय, शिक्षा पत्रकार समूह, अभिभावक र सर्वसाधारणले बहसको सुरुवात गर्छन् । अघिल्लो सालको तुलनामा नतिजामा सुधार देखिए शिक्षा मन्त्रालय र आबद्ध निकायले यसको श्रेय लिन्छन् ।
नतिजा खस्किए ९५ प्रतिशत दोष शिक्षकमाथि लगाइन्छ । नतिजा बिग्रनुका कारण खोजिँदैन । नतिजा विश्लेषण र शिक्षकलाई दोष दिनु अगाडि विद्यालय शिक्षाको वर्तमान अवस्थालाई ध्यान दिनु जरुरी हुन्छ ।
उचित शिक्षण सिकाइका लागि शिक्षकलाई तलबको व्यवस्था गरेर मात्र हुँदैन । एउटा शिक्षकले लेखापालको, प्राथमिक उपचारकको, सुरक्षा गार्डको, बगैंचा मालीको, सहयोगी कर्मचारीको, शिक्षकको, प्रशासकको र अभिभावकसँगको सम्बन्ध संवाहकको भूमिका निर्वाह गर्नुपर्दा शिक्षण सिकाइमा असर पर्छ । अर्को त शिक्षकले श्रमको पारिश्रमिक अर्थात् तलब छिटोमा तीन महिनापछि प्राप्त गर्छन् ।
समयमा पारिश्रमिक नदिएर ऋण र ब्याजको भारी बोक्न र बेलाबखत त्यसैका कारण अपमानित हुन बाध्य हुनुपर्ने यथार्थ सामुदायिक विद्यालयका शिक्षकले भोगिरहेको वास्तविकता हो । शिक्षकका लागि न सेवाकालीन अध्ययन सुविधा छ, न भ्रमण व्यवस्था । शिक्षक मेसिन होइन । ऊ विचार, सिर्जनात्मक क्षमता, भावनात्मक प्रतिबद्धता भएको जिम्मेवार मानिस हो । उसको सिर्जना शक्तिमा ह्रास आउने, भावनामा चोट पुग्ने, उत्साह र उमंगमा क्षति पुग्ने अवस्थाले कसरी उत्कृष्ट शिक्षण गर्न सक्ला ?
बौद्धिक व्यक्तिहरू विदेशका शिक्षा प्रणालीबारे चर्चा गर्छन्, बुद्घिविलासमा रमाउँछन् । तर त्यहाँको भूगोल, संस्कृति, परम्परा, राजनीतिक पद्घति र शिक्षानीति एवं राष्ट्रको आवश्यकता, पाठ्यक्रमको निर्माण, शिक्षक छनोट प्रक्रिया, सुविधा गुणस्तरको मापनका बारेमा सानो बहससमेत गर्न चाहँदैनन् । हामीकहाँ शिक्षा प्राप्त गर्ने दुई प्रकारका थलो छन्— हुने खानेका लागि निजी शैक्षिक संस्था र हुँदा खानेका लागि सामुदायिक शैक्षिक संस्था । अनि तुलनै गर्न नमिल्ने संस्थाबीच गुणस्तरको तुलना गरेर सामुदायिक शैक्षिक संस्थाहरूमा गुणस्तरीय शिक्षा सिकाइ हुँदैन भन्ने भाष्य बनाइएको छ । यो अत्यन्तै त्रुटिपूर्ण र भविष्यका लागि खतरायुक्त छ ।
गुणस्तर भनेको जीवन जिउने कला, सीप, समस्या समाधान गर्न सक्ने दक्षता, आर्थिक उपार्जन गर्न सक्ने क्षमता, असल सामाजिक व्यवहार गर्न सक्ने शैली, परिवार, समाज र देशलाई योगदान गर्नुपर्ने दायित्वबोधको विकास हुनु हो । त्यस्तो क्षेत्रमा निजी वा सामुदायिक कुन शैक्षिक संस्थामा अध्ययन गरेका विद्यार्थीहरू अगाडि छन्, त्यसको अध्ययन, अनुसन्धान गर्नु आवश्यक छ । तबमात्र सामुदायिक शिक्षाको वास्तविक गुणस्तर मापन हुन सक्छ ।
मैले पढाउने सामुदायिक विद्यालयमा पढ्दै गरेकी एउटी छात्राले २०६६ को एसएलसीमा उकृष्ट (९१५ भन्दा बढी) अंक ल्याएर विद्यालयमा प्रथम छात्रा बनिन् । नाम चलेको एक निजी प्लस टु विद्यालयले उनलाई दुई वर्ष निःशुल्क पढाइदिने भयो । हामीले चिकित्सा क्षेत्रमा जानेगरी पढ्न प्रोत्साहित गर्यौं । प्लस टुमा उनको पढाइ उत्कृष्ट नै देखियो । एमबीबीएस अध्ययनको तयारीका लागि सुझाव दियौं । तर उनले भनिन्, ‘छात्रवृत्तिमै मैले नाम निकाले पनि मेरो बुबाले एमबीबीएस पढाउन सक्नु हुन्न । मैले त अब काम गर्दै पढ्नुपर्छ । दाइ पनि एसएलसीपछि काम गर्दै पढ्दै छ । आमा हुनुहुन्न । म अब सरकारी क्याम्पसमा त्यहींको राम्रो विषय पढ्दै, काम गर्दै परिवारलाई सहयोग गर्छु ।’ पारिवारिक अवस्थाको विश्लेषण गरेर आत्मनिर्भर हुँदै भविष्य निर्माण गर्ने क्षमता राख्ने त्यस्ता विद्यार्थी उत्पादन गर्ने सामुदायिक शैक्षिक संस्थाको गुणस्तर कसरी कमजोर मान्न सकिन्छ ?
विद्यालयबाट घर फर्कंदै गर्दा मेरो एक विद्यार्थी आमाले चलाएको तरकारी पसलमा बसिसकेका थिए । उनको अगाडि गृहकार्य गर्ने कापी पनि थियो । मैले सोधें, ‘बाबु, आमा खोइ ? तिमी त अघि नै आएर पसलमा बसिसकेछौ त ?’ उनले भने, ‘आमा लुगा धुन जानुभयो अनि म पसलमा बसेको ।’ ग्राहक आए, उनी तरकारी बेच्न थाले । जब म घर पुगें । पल्लो घरको दिदीले ‘बाबु खाजा खान आइस्यो न’ भन्दै आफ्नो छोरालाई बारम्बार बोलाइरहेको सुनें । तरकारी पसलको बालककै हाराहारी उमेरको छिमेकी बालक स्कुल बसबाट उत्रिएर विद्यालय पोसाकसमेत नफेरी कौसीको कुनामा कुप्रो परेर बसिरहेको थियो । सायद ऊ मोबाइलमा गेम खेल्दै थियो । आमाको आवाज सुन्नसमेत चाहिरहेको थिएन । यसबेला मेरा आँखा डबडबाए । मनमा प्रश्न उठे, ‘मैले पढाउने गरेको सामुदायिक विद्यालयको गुणस्तर कसले नाप्ला ? कहिले नाप्ला ? र, कसरी नाप्ला ?’
सामुदायिक विद्यालयका विद्यार्थी देशभित्रै सम्भावनाको खोजी गर्छन् । अरब, खाडी मुलुकतिर गएका छन् भने पनि उतैबाट देशलाई माया गर्छन् । कमाएको पैसा देशमै पठाई अर्थतन्त्रलाई सहयोग पुर्याउँछन् । श्रमप्रति विश्वास गर्छन्, आस्था राख्छन् । देशलाई गाली गरेर परिवार र आफन्त छाडेर पैत्रिक सम्पत्ति बेचेर विदेश पलायन हुँदैनन् । यो सामुदायिक विद्यालयले कायम गरेको गुणस्तर होइन र ?
-प्रेती बानेश्वरस्थित रत्नराज्य माविकी सहायक प्रधानाध्यापक हुन् ।