- टीका भट्टराई
धर्महरूमा तीर्थव्रत गर्दा चोखो खानुपर्छ भन्ने मान्यता छ । दसैं, तिहार जस्ता चाडपर्व मिठो–मसिनो खाने भनेर नै चिनिन्छन् । अगाडिका केही दशकसम्म ‘चोखो’, ‘मिठो’ स्वास्थ्यका पनि परिचायक थिए, धेरै खाएर यदाकदा अपच हुनेबाहेक । तर अब ‘चोखो’ वा ‘मिठो’ स्वस्थ खानाका परिचायक रहेनन् । धार्मिक होस् वा व्यावहारिक, कुन खाना चोखो वा शुद्ध भनेर पुनः परिभाषित गर्नुपर्ने बेला भएको छ ।
कुरा मांसाहारबाटै (लेखक शाकाहारी भए पनि) सुरु गरौं । सामान्यतः ठूलो मात्रामा उत्पादन गरिएको बजारमा पाइने मासु न स्वस्थ हुने भो, न चोखो । कुखुरा वा खसी खेतबारी वा जंगलमा खाना खोजेर हुर्काइँदैनन् । खासगरी कुखुरा त कारखानामा उत्पादन गरिएका जीवित औद्योगिक उत्पादन हुन् । उनीहरूलाई सानो ठाउँमा हुर्काइएकाले तिनको स्वास्थ्यमा पर्ने प्रभावको कुरै छाडौं । तिनीहरूलाई जीवित र मोटो राख्न थुप्रै कृत्रिम खाना र बिरामी नपार्न एन्टिबायोटिकलगायतका औषधि खुवाइन्छन् । यसले मानिसको स्वास्थ्यमा पार्ने असरको फेहरिस्त लामै छ ।
यसो भनेर मांसाहार नगर्ने तर दूधजन्य उत्पादन उपभोग गर्ने ‘शाकाहारी’ पनि हर्मन र एन्टिबायोटिकबाट मुक्त छन् भन्ने होइन । एक तहमा जस्तो खराब असर खराब मासुबाट स्वास्थ्यमा पर्छ, त्यस्तै असर दूध, दहीबाट पनि पर्छ । नियमित पुनरुत्पादनका लागि कथित सुधारिएको नश्लका ब्याडबाट गराइने गर्भाधान र कृत्रिम गर्भाधान पशुको स्वास्थ्यका लागि उपयोगी छैनन् । अझ हिंसाका कारण मासु सेवन नगर्ने व्यक्तिको कुरा गर्ने हो भने त यी जनावर निकै हिंसाका सिकार हुन्छन् । गाईको मासु नखानेहरूले पनि वत्सहत्या भएका गाईको दूध खाइरहेका छौं । भन्न खोजिएको, मासु वा दूधजन्य पदार्थ न चोखा छन्, न स्वस्थ नै ।
अब स्वास्थ्य र वातावरणवादी दृष्टिले जनावरजन्य उपज नखाने विशुद्ध शाकाहारी अर्थात् ‘भिगन’ वा ‘अतिशाक्य’ का कुरा गरौं । उनीहरू वनस्पतिजन्य खाना मात्र खान्छन् तर त्यस्तो खाना कतिलाई कसरी उत्पादन हुन्छ भन्ने जानकारी छैन । जनावरको भूमिकाबिना कृत्रिम रसायनरहित खाना उब्जाउनु सजिलो छैन यद्यपि असम्भव भने छैन । ठूलो स्केलमा मुनाफा हुने गरी उमार्न या त जनावरको मल चाहिन्छ या रासायनिक मलमा भर पर्नुपर्छ । धार्मिक कारणबाहेक मानवीय स्वास्थ्य वा पृथ्वीको स्वास्थ्य जुन कारणले मानिस वनस्पति आहारी अतिशाक्य हुन्छन् । बृहत् चित्रमा पर्याप्त रूपमा विचार गर्ने हो पूर्ण शाकाहारी हुन कठिन छ । पूर्ण शाकाहारी हुनुभन्दा जनावरको मानवीय तहमा स्याहार गरेर खेती प्रणाली कायम राख्न सीमित मांसाहार गर्नु सम्भवतः बढी शुद्ध र पवित्र कार्य हो कि ?
व्रत लिएकी एक महिलाले साथीलाई पेय देखाउँदै भनिन्, ‘यो त सुन्तलाको रस जस्तै हो, जस्तै कडा व्रतमा पनि खान हुन्छ ।’ दुवैले एउटा कार्बनयुक्त चिसो पेय किनेर खाए । प्लास्टिकको बोतल कतै मिल्काए । पक्कै पनि यो मांसाहार जस्तो हर्मन वा एन्टिबायोटिकयुक्त छैन होला तर यसले विश्वमा सिर्जना गर्ने प्लास्टिकजन्य प्रदूषण अक्षम्य छ । प्रकृति ईश्वर हो भने उसलाई प्रकृति ध्वस्त गर्ने गतिविधि गरेकोमा पुण्य कमाएको भन्न पटक्कै मिल्दैन । अब पवित्रताको परिभाषा बदल्नुपर्छ । मानिसको स्वास्थ्य र पृथ्वीको वातावरण विनाश गर्ने खानपान पवित्र होइनन् । प्रदूषण बढाउने, मानिसको दीर्घकालीन स्वास्थ्यमा असर पार्ने खाना चोखा होइनन् ।
प्रदूषण बढाउने र मानवीय तथा वातावरणीय स्वास्थ्यमा नकारात्मक असर पार्ने सबैखाले गतिविधि र त्यसलाई पर्याप्त ध्यानमा नराखी उब्जाइने खानपिन अपवित्र हुन् । त्यसैगरी किसानले मनासिब ज्याला नपाएका उत्पादन पनि अपवित्र नै हुन् । सम्भव भएसम्म कमसेकम हामीले पवित्र मानेका दिन अपवित्र वा बिटुला खानेकुरा नखाऔं । त्यो व्रतको दिन हुन सक्छ या कुनै धार्मिक वा पितृकार्य गरिने वा विश्व वातावरणीय स्वास्थ्य वा आत्मशान्तिका लागि उपवास गरिने दिन हुन सक्छ । बरु परम्परागत रूपमा बिटुला मानिने गरेका खाद्यपदार्थहरूलाई नयाँ आँखाले हेर्न भने जरुरी छ ।
कोदो या भटमास जस्ता अन्नलाई कुअन्न भनेर अपवित्र मान्न हुन्न । कति अन्नबाली हाम्रो सांस्कृतिक अभ्यास निर्माण हुँदा उत्पादन प्रणालीमा परिचित भइसकेका पनि थिएनन् । त्यसकारण हाम्रा संस्कारमा वर्जित ठहरिएका हुन सक्छन् । तर अहिले कति खाना कृत्रिम रूपमा पनि तयार गरिन्छन् । नउम्रिने वा पुनरुत्पादन नहुने बाली वा जनावरबाट तयार भएका खाद्यपदार्थ पनि पवित्र होइनन् । जति पुनरुत्पादन प्रणाली र खाने दूरी नजिक रहन्छ, त्यति नै त्यसलाई पवित्र मान्नुपर्ने हुन्छ । किनभने यसबाट भण्डारण प्रक्रियामा वातावरण र मानवीय स्वास्थ्यलाई हानि गर्ने रसायन वा प्लास्टिकजन्य पदार्थ उपयोग हुँदैनन् ।
सकेसम्म ताजा र लामो भण्डारण समय भएका खाद्यहरू पवित्र हुन् । लामो दूरीबाट ल्याइएकाभन्दा स्थानीय खाद्य पवित्र हुन्, किनभने यसले ढुवानीमा अतिरिक्त इन्धन माग गर्छ । समग्र रूपमा उत्पादन प्रणालीमा अजैविक ऊर्जा खर्च हुने खाद्य अपवित्र मान्नुपर्छ । गोरुले जोतेर उत्पादन गरिएका खाद्यवस्तुभन्दा नवीकरण नहुने ऊर्जा अर्थात् डिजेल जस्तो इन्धन प्रयोग भएका ट्र्याक्टरले जोतेर उत्पादन गरिएका खाद्यवस्तु अपवित्र हुन् । बेलायती कृषिविज्ञ सर एडवर्ड हवार्डले
सन् ४० को दशकमै भनेका थिए, ‘कृत्रिम मलले पोषण कृत्रिम र त्यसले खाद्यवस्तु कृत्रिम हुन्छ र आखिरमा मानिसहरू नै कृत्रिम हुन्छन् । माटो, जनावर र मानिसको स्वास्थ्य अविभाज्य विषय हो ।’ ऋग्वेददेखि नै ‘म पुत्र तिम्रो, तिमी धर्ती माता’ भन्नेहरूले पक्कै यो महसुस गर्नु धर्मको मर्मकै कुरा हो ।
चाडपर्वमा खाने, पिउने, रमाइलो गर्ने सकारात्मक पक्ष हुन् । तर जुन गतिविधिले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ र पृथ्वीलाई अनावश्यक भार पार्छ ती कुरा वर्जित गर्न अबका धर्माधिकारी अगाडि सर्नुपर्छ । धर्मग्रन्थमा के लेखेको छ भनेर त्यसको व्याख्या गर्नुमा मात्र कुनै पण्डित्याइँ ठहर्दैन । शिक्षक पनि पण्डित जस्तै हुन् । अझ उनीहरूलाई धर्मको सीमाले पनि छेक्दैन । उनीहरूले विज्ञानमा आधारित भएर पनि के पौष्टिक र वातावरणसम्मत खाना हुन् बताउनुपर्छ ।
हरेक विद्यालयमा यसअनुसार कमसेकम तरकारी उब्जाउने अभ्यास गर्न सकिन्छ । उपभोक्ताका हिसाबले मिलेसम्म किसानसँग प्रत्यक्ष रूपमा खाद्यवस्तु खरिद गर्दा किसानले सामान्यतः अलि फाइदा पाउन सक्छन् । यस्तो दृष्टिकोणमा सहमत हुने हो भने हजारौं वर्षदेखि अक्षरशः संस्कारको अभ्यास गर्ने समाजले यो कुरा पत्ता लगाउन सक्छ । मुख्य कुरा त यसबारे विचार र छलफल सुरु गर्ने नै हो । किनभने कुन तहको पवित्रता चाहने त्यो व्यक्तिगत कुरा पनि हो ।
कोही व्रत बस्ने दिन पानी पनि पिउँदैनन् । कोही खानेकुरा खाँदैनन् । कोही निश्चित किसिमका खाद्यवस्तु मात्र खान्छन् । अतिशाक्यहरू जनावरबाट उत्पादन हुने कुनै उपज खाँदैनन् । मुख्य कुरा जुन खानाले दीर्घकालमा समेत मानिसको स्वास्थ्यमा र पृथ्वीको वातावरणमा नकारात्मक असर गर्छन् ती खाना चोखा होइनन् भनेर बुझौं । खानाका दृष्टिले आफ्नो पवित्रताको तह आफैं तोकौं ।