- गिरिधारी शर्मा पौडेल
नेपालको राजनीतिक र प्रशासनिक वृत्तमा उद्यमशीलताको चेत खुलेन । दलहरूले आफ्ना कार्यकर्तालाई उत्पादन सिकाएनन् । प्रशासकले दैनिक कामबाहेक उद्यमशीलताबारे कुरा उठाएनन् । योजना बनाएनन् । विद्यालय र विश्वविद्यालयले नियमित शिक्षामा उद्यमशीलता समावेश गरेनन्, जसले गर्दा देशमा औद्योगिकीकरण भएन ।
उद्योगधन्दाको विस्तार नहुँदा बर्सेनि नेपाली श्रम बजारमा थपिने युवा जनशक्तिलाई रोजगारीका अवसर सिर्जना भएनन् । देशको उर्वर युवाशक्ति विदेसिने क्रम चलिरह्यो र देशले जनसांख्यिक लाभ लिन पाएन । यस परिवेशमा उद्यमशील शिक्षामा असल अभ्यास विकास गरेका नेपालका सात विकास साझेदार देश भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया र सिंगापुरका अनुभवसहित यो लेख प्रस्तुत गरिएको छ ।
उद्यमशीलता कुनै पनि वस्तु अथवा सेवाको मूल्य सिर्जना गर्ने अवसर मात्रै होइन यसमा कार्य गर्ने प्रक्रिया पनि हो । यो कुनै नयाँ व्यवसायको सुरुवात र व्यक्तिको आत्मनिर्भरतर्फको विकास यात्रा पनि हो । यो जीवनको लक्ष्य प्राप्त गर्ने दृढता र इच्छाशक्ति हो । यो व्यक्तिको आत्मनिर्देशित सिकाइ, आफ्नै गल्तीबाट सिक्ने बानी, लक्ष्यउन्मुख सोच, परिस्थितिजन्य लचकता र परीक्षण गर्ने उत्सुकताबाट विकास हुन्छ ।
सामान्य बुझाइमा उद्यमशीलता कुनै नयाँ उत्पादनमूलक उद्योग तथा सेवा प्रदान गर्ने व्यवसाय, कम्पनी वा अन्य कुनै संगठन सुरु गर्ने प्रक्रिया पनि हो । यो बजारमा मूल्यवान् वस्तु तथा सेवाहरू प्रदान गर्ने व्यवसाय सिर्जना गर्ने नवीन विचारको प्रयोग हो । यसले नयाँ व्यवसायका लागि अवसर पहिचान गर्छ । त्यसलाई पुँजीकरण गर्न आवश्यक स्रोत जुटाउँछ । यो उद्यमीले जोखिम लिने र व्यावसायिक वातावरणमा अनिश्चितता व्यवस्थापन गर्ने क्षमताको विकास पनि हो । नेपालमा उद्यमशील संस्कृतिको विकास भएन । यसले गर्दा विश्वविद्यालयका विद्यार्थीमा पाए देशमै जागिर खाने, नपाए विदेश जाने प्रवृत्ति मौलाउँदै गयो । नेपालमा साक्षरता अभियानका बेला स्थापना भएको र पुरातनवादी सैद्धान्तिक ज्ञानको बाहुल्य भएको शिक्षा प्रणालीले दीक्षित गरेका विद्यार्थीले विश्वविद्यालयमा सिकेको ज्ञानलाई सीपमा र सीपलाई उद्यममा बदल्न जानेनन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा करिब ८६ लाख व्यक्तिले आफ्नो योग्यता र सीपअनुरूप रोजगारी पाइरहेका छैनन् । देशमा निरक्षर बेरोजगारी दर १८ प्रतिशत छ भने शिक्षित बेरोजगारी दर ८ देखि ९ प्रतिशतसम्म छ । करिब ७० हजार व्यक्ति स्नातक वा स्नातकोत्तर उत्तीर्ण भए पनि बेरोजगार छन् । खाडी र अन्य मुलुकमा रोजगारीमा गएका करिब आठ लाख युवामध्ये ७४ हजार स्नातकोत्तर पास छन्, दुई लाख १६ हजारले स्नातक गरेका छन्, चार लाखभन्दा बढी १२ उत्तीर्ण छन् । १५ लाखभन्दा बढी एसएलसी पास गरेका युवा देशमा हैसियतअनुसारको काम नभेटेर विदेसिएका छन् । २०६८ को राष्ट्रिय जनगणनामा नेपालका १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति विदेशमा बसेर काम गरेका थिए । २०७८ को जनगणनामा यो संख्या बढेर २१ लाख ९० हजार ५ सय ९२ पुगेको छ । यी तथ्यले नेपालको शिक्षा प्रणालीमा उद्यमशील शिक्षा समावेश गर्न ढिलो भइसकेको देखाउँछन् ।
उद्यमशील शिक्षाले उद्यमशील संस्कृतिको सिर्जना गरी सम्भावित उद्यमीलाई अवसर पहिचान गर्न र पछ्याउन मद्दत गर्छ । उद्यमशील मानसिकता बढाउँछ, व्यक्तिको आत्मविश्वास बढाउन र नेतृत्व निर्माण गर्न सघाउँछ । रचनात्मकता र नवीनताले परम्पराभन्दा बाहिर गएर सोच्ने क्षमताको विकास गर्छ । यस किसिमको शिक्षा पनि उद्यमशील शिक्षा र उद्यमी शिक्षा गरी दुई खालका हुन्छन् । उद्यमशील शिक्षा व्यक्तिमा आत्मनिर्भर धारणा विकास गर्ने शिक्षा हो । यो अमेरिका र क्यानडामा बढी प्रयोगमा छ । उद्यमी शिक्षा अवसरको खोजी गर्ने व्यक्ति खडा गर्ने शिक्षा हो । यो बेलायत र युरोपमा बढी प्रयोगमा छ । उद्यमशील शिक्षालाई नवीन व्यक्तिहरूको खेती गर्ने शिक्षा पनि भनिन्छ । यो ज्यालामा काम गर्नेहरूका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ । आजकाल अधिकांश उद्यमले ज्यालामा काम गर्नेहरूमा पनि नवप्रवर्तनीय सोच र साहसिक भावनालाई महत्त्व दिन्छन् । तसर्थ उद्यमशील शिक्षाले काम गर्ने व्यक्तिहरूको मनोवृत्ति, ज्ञान र सीपमा परिवर्तन र नवप्रवर्तनीय तथा कर्पोरेट कार्य सम्पादनलाई जोड दिन्छ ।
नेपालमा उद्यमशील शिक्षाको राम्रो सुरुवात बिन्दु कक्षा ८ देखि विद्यालय तहमा र विश्वविद्यालय तहका सबै शैक्षिक कार्यक्रममा अनिवार्य विषयका रूपमा समावेश गराउनु हो । शैक्षिक संस्थामा हुर्कने सीप र उद्यमशीलताको मानसिकताले सिर्जनशीलतालाई प्रोत्साहित गर्न र युवालाई उद्यममा लाग्न प्रोत्साहन गर्छ । विद्यालय र महाविद्यालय बाहिर रहेका युवालाई औपचारिक तथा अनौपचारिक तालिम केन्द्र तथा सीप विकास केन्द्रमार्फत उद्यमशीलसम्बन्धी शिक्षा दिने व्यवस्था गर्नुपर्छ । उद्यमशील शिक्षाको विकासमा नेपालको आफ्नै अनुभव छैन । तसर्थ अन्य देशले विकास गरेका असल अभ्यासबाट सिकाइ गर्दै देश सुहाउँदो उद्यमशील शिक्षाको विकास गर्न आवश्यक छ ।
अन्य देशका असल अभ्यास
भारत : भारतमा दिल्लीबाहेक अन्य प्रदेशका विद्यालय तहमा उद्यमशील शिक्षा समावेश छैन । आम आदमी पार्टीको शासन प्रारम्भ भएपश्चात् दिल्लीमा कक्षा ९ देखि १२ कक्षासम्मको माध्यमिक तहमा उद्यमशील शिक्षा प्रारम्भ गरिएको छ । भारतमा विश्वविद्यालय तहका सबै संकायमा उद्यमशील विषयको पढाइ हुँदैन ।
तथापि प्राविधिक र व्यवस्थापन विषयका स्नातक र स्नातकोत्तर तहमा उद्यमशीलतासम्बन्धी पढाइ हुन्छ । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) ले ‘स्टार्टअप इन्टरप्रेनरियल’ आयोजना निर्माणमा र इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (आईआईएम) ले भारत सरकारलाई उद्यमशील तालिममा सघाउँछन् । संघीय तहमा भारतको उद्यमशीलता विकास संस्था— ठूला, मध्यम र साना उद्यम विकास राष्ट्रिय संस्था, उद्यमशीलता र साना उद्यम प्रवर्द्धन राष्ट्रिय संस्थाहरूले स्कुल र कलेज बाहिरका युवालाई तालिम दिन्छन् । प्रदेश तहमा भने प्रादेशिक औद्योगिक विकास निगम र प्रादेशिक साना उद्यम विकास निगमले उद्यमशीलतासम्बन्धी तालिमको व्यवस्था गर्छन् ।
चीन : चीनमा उद्यमशीलसम्बन्धी शिक्षा विद्यालयमा सबै तहका राजनीतिक पाठ्यक्रममा समावेश छ । यहाँ उद्यमशीलसम्बन्धी शिक्षा सन् १९९७ सम्म अतिरिक्त क्रियाकलापका रूपमा थियो । तिसुङ्गा विश्वविद्यालयले पहिलोपल्ट सन् १९९७ मा यो शिक्षाको प्रारम्भ गर्यो । सन् २००१ मा उद्यमशील शिक्षा चीनका अन्य ९ विश्वविद्यालयमा परीक्षणका रूपमा विस्तार गरियो ।
यसको सकारात्मक नतिजापछि सन् २०१२ मा हु जिन्तावोको राष्ट्रपति शासनकालमा शिक्षा मन्त्रालयले विश्वविद्यालय शिक्षामा उद्यमशील शिक्षा समेट्यो । हाल चीनमा उद्यमशील युवाले निर्माण गरेका ९० भन्दा बढी उद्यमशील सहर छन् । सम्पूर्ण चीन देश नै विश्वलाई निर्माण सामग्री तथा उपभोग्य वस्तु आपूर्ति गर्ने एक उद्योगका रूपमा विकास भएको छ ।
जापान : सरकार, शैक्षिक संस्था र व्यावसायिक संस्थाको उत्कृष्ट समन्वयमा जापानका विद्यार्थीलाई उद्यमशील शिक्षा दिइन्छ । जापानका विद्यालयमा सामाजिक शिक्षाभित्र जापानी निर्माण उद्योगबारे पाँच कक्षादेखि नै पढाइ हुन्छ । यही विषयभित्र उद्यमशीलता, उद्यम र अर्थतन्त्रबारे विद्यालय तहमै विद्यार्थीलाई ज्ञान दिइन्छ । जापानी विश्वविद्यालयले विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी ४ प्रकारका प्रशिक्षण दिन्छन्— उद्यमशीलतासम्बन्धी चेतना र भावना विकास, उद्यमबारे व्यावहारिक व्यवस्थापनको प्रशिक्षण, उद्यमशीलतासम्बन्धी ज्ञान, सीप र कौशल प्राप्त गर्ने प्रशिक्षण र उद्यमसम्बन्धी विशेष सीप सिक्ने प्रशिक्षण । जापानका विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरू दीक्षित भएर बजारमा आउँदा उद्यमबारे ज्ञान र सीप लिएर आउँछन् । कुनै न कुनै व्यवसाय वा उद्यमको सुरुवात गर्छन् ।
अमेरिका : अमेरिकामा विद्यालय तहको उद्यमशील शिक्षाको पाठ्यक्रम स्पष्ट रूपमा प्रतिभा प्रशिक्षण लक्षित (क्लियर ट्यालेन्ट ट्रेनिङ तार्गेट सिस्टम) प्रणालीमा आधारित छ । विद्यालय तहको उद्यमशीलसम्बन्धी पाठ्यक्रमले विद्यार्थीको सम्पूर्ण सिकाइमा जोड दिन्छ र युवा उद्यमदेखि व्यावसायिक निष्ठाका चरणसम्मको प्रशिक्षण दिन्छ । अमेरिकी विश्वविद्यालयहरूले उद्यमशीलसम्बन्धी उत्कृष्ट पाठ्यक्रम प्रणाली बनाएका छन् । यिनीहरूले विद्यार्थीको इच्छाअनुसारको शिक्षामा विशिष्टता हासिल गर्न सघाउँछन् । अमेरिकी विश्वविद्यालयका आफ्नै उद्यमशीलता केन्द्र छन् । प्रविधिदेखि स्टार्टअप प्लेटफर्मसम्म छन्, तिनले उद्यमशीलताबारे प्रशिक्षण दिन्छन् । अमेरिकामा कोलम्बिया विश्वविद्यालय उद्यमशील शिक्षाका लागि र स्टान्ले विश्वविद्यालय व्यवसाय स्टार्टअप शिक्षाका लागि प्रसिद्ध छन् ।
बेलायत : बेलायतको विद्यालय तहको उद्यमशील शिक्षामा कम्पनी स्थापना, समूह निर्माण र उद्यम सुरुवातसम्बन्धी ज्ञान दिइन्छ । यस किसिमको शिक्षा/तालिमको अवधि कम्पनीको प्रकृति हेरी १२ सातादेखि एक वर्ष अवधिको हुन्छ । एउटा विद्यालयमा थुप्रै कम्पनी स्थापना भएका हुन्छन् । एउटा कम्पनीमा ३२ जनासम्म विद्यार्थी सदस्य हुन्छन् । प्रत्येक विद्यार्थीलाई सरकारले कम्पनी स्टार्टअप गर्नका लागि वार्षिक ५३० पाउण्ड खर्च उपलब्ध गराउँछ ।
विश्वविद्यालय तहको उद्यमशीलता शिक्षामा विद्यार्थीलाई रोजगारदाताबाट ‘सुन, सिक र कमाऊ’ जस्ता शिक्षामा जोड दिइन्छ । यसअन्तर्गत उपलब्ध अवसरबारे पनि जानकारी गराइन्छ । रोजगारदाताबाट काम गर्न चाहिने सीप र ज्ञानबारे प्रशिक्षित गरिन्छ र आवश्यक सीप भएकालाई कम्पनीमा काम गर्दै, सिक्दै र कमाउँदैको अवसर दिइन्छ । यसका अतिरिक्त प्रोग्रामिङ, कोडिङ, अन्तर्वार्ता तयारी र प्राविधिक शिक्षाका स्रोत उपलब्ध गराउने प्लेटफर्म जीएफजी (गिक्स फर गिक्स) मार्फत विभिन्न अवसर खोज्न प्रेरित गरिन्छ । यसले युवालाई उनीहरूको रोजगार योग्यतामा काम गर्न र थप अवसर खोज्न परामर्श दिन्छ ।
दक्षिण कोरिया : यहाँ उद्यममैत्री सरकारी नीति, पुँजीको उपलब्धता, उद्यमशील संस्कृति, अभिभावकत्व प्रदान गर्ने सहयोगी सेवा, सीप भएका कामदार र बजार जस्ता संरचना चाहिन्छ भन्ने आम जनताको बुझाइ छ । तसर्थ दक्षिण कोरियामा उद्यमशीलसम्बन्धी शिक्षा सरकार, उद्यमी र शैक्षिक संस्थाको संयुक्त संयोजनमा प्रदान गरिन्छ । उद्यमशीलबारे प्रारम्भिक तह, माध्यमिक तह र उच्च माध्यमिक तहमा विद्यार्थीको स्तरअनुसार प्रशिक्षित गरिन्छ ।
विश्वविद्यालय तहमा सन् २००४ मा उद्यमशीलतासम्बन्धी विश्वको पहिलो ग्राजुएट कलेज कोरियामा स्थापना भएको थियो । यसै वर्ष चुङआङ विश्वविद्यालय, होसेओ विश्वविद्यालय, हानवाट विश्वविद्यालय, जिन्जु कला विश्वविद्यालय येवोनले उद्यमशील विषयमा स्नातकोत्तर तहको पढाइ कार्यक्रम सुरु गरे । अब कोरियाका सम्पूर्ण विश्वविद्यालयमा उद्यमशीलसम्बन्धी पढाइ हुन्छ । सन् २०२२ मा २५० विश्वविद्यालय र २७१ कलेजमा उद्यमशीलसम्बन्धी १५,५०० पाठ्यक्रमको पढाइ भएको थियो ।
सिंगापुर : सन् २००४ देखि नै सिंगापुरमा ७ देखि १८ वर्षका युवालाई उद्यम र नवप्रवर्तनबारे शिक्षा दिन थालिएको हो । विद्यालय तहमै विद्यार्थीलाई उद्यमका स्किम विकास गर्न सिकाइन्छ । विश्वविद्यालय तहमा १८ वर्षमाथिका विद्यार्थीलाई उद्यमशीलता इकोसिस्टमबारे शिक्षा दिइन्छ । यहाँको उद्यमशील शिक्षाले व्यापार प्रारम्भ र प्रवर्द्धनमा बढी जोड दिएको छ । सिंगापुरका ८ विश्वविद्यालयमा उद्यमशीलसम्बन्धी स्नातकोत्तर र विद्यावारिधिसम्म पढाइ हुन्छ । निजी शैक्षिक संस्थाको स्थापना र सञ्चालन पनि उद्यमशीलताभित्र पर्छ ।
उद्यमशील पाठ्यक्रमको आवश्यकता
उद्यमशील विश्वविद्यालयको उद्देश्य नयाँ वस्तु वा प्रविधि वा ज्ञानको अन्वेषण गर्ने, अवसरको सिर्जना र पहिचान गर्ने हुन्छ । समूहमा काम, जोखिम बहन र चुनौती सामना गर्न समर्थ विश्वविद्यालयलाई उद्यमशील विश्वविद्यालय भनिन्छ । यसमा काम गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीको मानसिकता शैक्षिक उद्यम सिर्जना गर्ने ज्ञान प्राप्तिप्रति उन्मुख हुन्छ । यही मानसिकताले उद्यमशील विश्वविद्यालय र अन्य विश्वविद्यालयबीचको भिन्नता छुट्याउन सकिन्छ । जर्मनीमा प्रधान कार्यालय रहेको उद्यमी विश्वविद्यालयको विश्व लिगले स्वघोषित उद्यमशील विश्वविद्यालयको परीक्षण गरी उद्यमशील विश्वविद्यालयका मापदण्ड पूरा गरेको यकिन भएमा उद्यमशील विश्वविद्यालयको मान्यता दिन्छ ।
विश्वका केही विश्वविद्यालयले आफूलाई उद्यमशील विश्वविद्यालय घोषणा गरेका छन् । मध्य कजाकस्तानको अल्माटी व्यवस्थापन विश्वविद्यालय, मलेसियाको व्यवस्थापन र विज्ञान विश्वविद्यालय, कोलम्बियाको व्यवसाय प्रशासन विश्वविद्यालय, संयुक्त अधिराज्यको लिड्स विश्वविद्यालय र एन्जेला रुस्किन विश्वविद्यालय यस्तैमा पर्छन् । द
क्षिण अफ्रिकाको डार्बिन विश्वविद्यालय, जर्मनीको ह्यामबर्गमा रहेको प्राविधिक विश्वविद्यालय, अमेरिकाको एरिजोना विश्वविद्यालय, म्यासाच्युसेट प्राविधिक प्रतिष्ठान र पश्चिम भर्जिनिया विश्वविद्यालय, अस्ट्रियाको व्यवस्थापन केन्द्र, इन्डोनेसियाको जाकार्तामा अवस्थित बिनुस विश्वविद्यालय उद्यमशील विश्वविद्यालयका रूपमा प्रख्यात छन् । यीबाहेक विश्वका विभिन्न भागमा उद्यमशीलसम्बन्धी पढाइ हुने २०२५ भन्दा बढी कार्यक्रम छन् । कम्तीमा विश्वमा १००० भन्दा बढी विश्वविद्यालयमा उद्यमशीलसम्बन्धी पढाइ हुन्छ । हाल यस किसिमको शिक्षा विश्वविद्यालय तहमा द्रुत गतिमा विस्तार भइरहेको छ । नेपालका विश्वविद्यालयले पनि यी विश्वविद्यालयका असल अभ्यासबाट सिकाइ गर्ने र ढिलो नगरी उद्यमशीलता शिक्षा प्रवर्द्धन गर्ने वातावरण बनाउन आवश्यक छ ।
माथिका असल अभ्यासबाट सिकाइ गर्दै नेपालका विद्यालय र विश्वविद्यालय तहका विद्यार्थीलाई तहअनुसार उद्यमशीलसम्बन्धी पाठ्यक्रम तर्जुमा गरी पठनपाठन गराउनु जरुरी छ । उद्यमशील शिक्षाका साथै माध्यमिक विद्यालय र महाविद्यालयमा प्रविधि कोरल्ने केन्द्र खोली विद्यार्थीलाई देशको औद्योगिकीकरणका लागि चाहिने प्रविधि अन्वेषण गर्न प्रोत्साहन गर्नुपर्छ । नयाँ साना तथा मझौला उद्यम सुरु गर्न युवालाई नवप्रवर्तन र प्रतिस्पर्धाको आधारमा बृहत स्तरमा सुरु पुँजी उपलब्ध गराउन आवश्यक छ ।
उत्पादित वस्तुको बजारीकरणका लागि ‘हाम्रा उत्पादन हाम्रै उपभोग’ को अभियान चलाई देशमा खपत गर्ने र बाँकी विदेश निर्यात गर्ने लक्ष्य राख्न सकिन्छ । नेपालका विश्वविद्यालयलाई उद्यमशील विश्वविद्यालयमा रूपान्तरण गरी उद्योगसँगको सहकार्यमा उद्यम सञ्चालनका लागि व्यावहारिक ज्ञान दिने संयन्त्र जरुरी छ । यसका लागि शिक्षाको पाठ्यक्रम परिवर्तनदेखि विद्यालय तथा विश्वविद्यालयका भौतिक संरचना परिवर्तन, शिक्षाको दरबन्दी मिलान, नयाँ शिक्षा ऐन, विज्ञान प्रविधिसम्बन्धी नयाँ ऐन ल्याउनेदेखि विद्यार्थीलाई पढ्दादेखि नै कुनै औद्योगिक प्रतिष्ठान वा उद्योगमा सीप सिकाउन लैजाने व्यवस्था गर्न आवश्यक छ ।
उद्यमशील शिक्षाको साथमा सहयोगी सेवाले विद्यार्थीमा अध्ययन सकिनेबित्तिकै देशमा कुनै व्यवसाय वा उद्यम स्थापना गरी सञ्चालन गर्ने सोचको विकास हुन्छ । फलस्वरूप देशका युवा विदेसिने क्रम रोकिन्छ र देश औद्योगिकीकरणतर्फ अग्रसर हुन्छ । तसर्थ नेपालको शिक्षा प्रणालीमा ढिलो नगरी उद्यमशील पाठ्यक्रम समावेश गरौं र युवा विदेसिनबाट रोकौं ।